कास्कीमा १८८ सुपरीवेक्षक खटिए

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७८
janadadana

पोखरा । राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणअन्तर्गत बुधबारदेखि जिल्लामा १ सय ८८ जना सुपरीवेक्षक खटिएका छन् । आगामी असोज १८ सम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत कास्कीका ५ वटै पालिकामा उनीहरु परिचालित भएका हुन् ।
पोखरा महानगरपालिकामा १ सय ५८, अन्नपूर्णमा ९, माछापुच्छ्रेमा ८, मादीमा ७ र रुपा गाउँपालिकामा ६ जनाले पहिलो चरणको गणना गर्नेछन् । यस्तै, कात्तिक २५ देखि मंसिर ९ सम्म हुने दोस्रो चरणका लागि गणक तोकिएको क्षेत्रमा जाने प्रदेश जनगणना अधिकारी जगुलाल बस्यालले जानकारी दिए ।
‘देशैभरिबाट पहिलो चरणको गणना सुरु भएको छ,’ बस्यालले भने, ‘त्यही अनुसार सबै सुपरीवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौं ।’ फिल्म खटिएका उनीहरुलाई पूर्ण खोप सुनिश्चित गरिएको छ ।
कोरोनाको कारण जनगणना ढिला भएकाले संक्रमणदर कम भएको समयमा प्रक्रिया सुरु गरिएको बस्यालको भनाइ छ । ‘कोभिड १९ को कारण ढिलो भएकै थियो, अहिले पनि पूरै घटेको त छैन,’ उनले भने, ‘तर झनै ढिला हुने भयो भनी सबै सुपरीवेक्षकलाई खोप लगाएर पठाएका छौं ।’ उनीहरुलाई मास्क, सेनिटाइजर लगायत सुरक्षा सामग्री प्रबन्ध गरिएको छ ।
पहिलो चरणमा सुपरीवेक्षकले घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको विवरण भर्नेछन् । गणकको कार्यविभाजन र मूल गणनाका लागि पहिलो चरणको काम महत्वपूर्ण हुन्छ । पहिलो चरणमा घर तथा परिवार विवरण, कृषि तथा पशुपक्षी विवरण, बैंक तथा वित्तीय, अनुदान, ऋण, व्यावसायिक तालिको विवरण तयार गरिनेछ ।
जिल्लामा गणक भने छनौट भइसकेका छैनन् । पहिलो चरणको कार्य सकिएपछि गणक छनौट प्रक्रिया अघि बढ्ने बस्यालले बताए । उनीहरुका लागि कात्तिक १३ देखि १६ सम्म तालिम सञ्चालन गरिनेछ । दोस्रो चरणमा गणकमार्फत प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइ लगायत विवरण तयार गरिनेछ । सोही समयमा नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोतसाधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि संकलन गरिने छ ।
यसअघि १६ वैशाखमा सुपरीवेक्षक तालिम सुरु गर्ने, २६ देखि घरपरिवार सूचीकरण गर्ने, १७ जेठबाट गणकलाई तालिम दिने, २५ जेठबाट मूलगणना कार्य थाल्ने कार्यतालिका थियो । तर, कोरोना महामारीका कारण सो कार्यतालिका अनुसारको काम स्थगित गरिएको थियो । यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । यो वर्ष समावेशीतालाई मध्यनजर गर्दै गणना सुरु गरिएको बस्यालले बताए । ‘यसपालि गणक पनि समावेशी छ,’ बस्यालले भने, ‘सबै मिलाएर सुपरीवेक्षक खटाएका छौं, उहाँहरुले भरेको डाटामा अघिल्ला पटक भएका गणनामा जस्तो नहोला ।’

Related News

सम्बन्धित समाचार

hero news full width