पोखरा । बागलुङ घर भई पोखरा १५, काजीपोखरी बस्दै आएकी पूर्णा विक २३ भदौ बिहान ५ बजे हिमालय आँखा अस्पताल पुगिन् । उनको दायाँ आँखा रातो भएको थियो । राति ३ बजे ब्युझिँदा आँखा दुखेको महसुस गरिन् । उज्यालोमा हेर्नै नसकेको उपचारपछि उनले पत्तो पाइन् कि आँखा दुख्नु र रातो हुनुको कारण त ‘शापु’ पो रहेछ ।
पूर्णालाई कसरी यस्तो भयो भन्ने यकीन छैन । उनले घरसरसफाइ गर्दा शापु फैलाउने पुतलीको झुस चलाएको हुन सक्ने अनुमान गर्छिन् । उनको आँखामा ज्योति पूर्णरुपमा फर्किसकेको छैन तर दुखाइ कम भई सामान्य सुधार भएको उनको भनाइ छ ।
यस्तै, अर्का एक वयस्कको उपचारपछि २५ भदौमा अस्पतालले डिस्चार्ज गरेको छ । उनलाई पुतलीको प्रत्यक्ष संसर्गमा गएको कुनै ख्याल थिएन । अस्पताल स्रोतका अनुसार उनीसहित अन्य ३ जना शापु संक्रमितलाई काठमाडौं रिफर गरिएको छ ।
यी त प्रतिनिधि घटनामात्रै हुन् । हिमालय आँखा अस्पतालका अनुसार यस सिजनमा २० जना शापुका बिरामी आँखा जाँच गराउन पुगेका छन् । केहीलाई धुलिखेल अस्पताल रिफर गरिएको डा. हरिमाया गुरुङले जानकारी दिइन् । उनले भनिन्, ‘विगतमा १ वर्ष बिराएर शापु देखिने गरेको भए पनि यस वर्ष लगातार देखिएको छ । यो त दृष्टि नै खोस्न सक्ने खतरनाक रोग हो । २४ देखि ४८ घन्टामा उपचार भएन भने आँखाको ज्योति नै गुम्ने जोखिम रहन्छ, शापु हुनासाथ ज्योति कम हुन थाल्छ ।’
बिरामीको उपचारक्रममा अपरेसन कक्षमा लगेर आँखामा भरिएको पिप निकालिएको डा. गुरुङको भनाइ छ । त्यसरी निकालिएको पिपमा संक्रमण हुने ब्याक्टेरिया वा भाइरस हुन सक्ने भएकाले विशेष जाँचका लागि संकलन गरिएको छ । शापुको संक्रमण एकैपटक दुवै आँखामा हुँदैन, यो रहस्यमय भएको उनको भनाइ छ ।
शापुको उत्पति २०३२ सालमा पोखरामै भएको डा. गुरुङ बताउँछिन् । शापु संक्रमित आँखाको उपचारका लागि आँखामा पिप सुकाउने इन्जेक्सन लगाउने र पिप निकालेर फ्याक्ने गरिएको डा. गुरुङको भनाइ छ ।
शापु लागेमा आँखामा चिप्रा लाग्दैन भने संक्रमित आँखाले उज्यालोमा हेर्न सक्दैन
सेतो पुतली बच्चाहरुले खेलाउने र सावधानी नहुँदा आँखाको ज्योतिसमेत गुम्न सक्ने जोखिम हुने गरेको थियो । पछिल्लो समय परिपक्व र पूर्व सावधानी अपनाउन सक्ने वयस्कमा समेत शापु देखिएका अस्पतालका चिकित्सक डा.इन्द्रमान महर्जन बताउँछन् ।
पहिले बच्चामा मात्रै देखिएको शापु पछिल्लो समय वयस्कमा देखिनु रहस्यमय भएको उनको भनाइ छ । उनी भन्छन्,‘यो अध्ययनकै विषय हो ।’ उनले अस्पतालमा आएकामध्ये ७ जना बच्चा रहेको जानकारी दिए ।
अहिलेसम्म आँखाको ज्योति गुमेको घटना भने नभएको अस्पतालले जनाएको छ । बिरामीका भनाइ सुन्दा कोठाभित्र, बिछ्यौनामा टाँसिएर रहेका पुतली वा पुतलीले खसालेका झुसका कारण वयस्कमा शापु संक्रमण भएको छ । तर लामो समयसम्म बच्चामा मात्रै देखिएको शापु विगतमा वयस्कमा संक्रमण नहुनुको कारण भने पत्ता लागेको छैन ।
शापुको जोखिम बढ्दै गएपछि अस्पतालले गण्डकी प्रदेशका आँखा केन्द्रका प्रमुखलाई २५ भदौको साँझ पुनर्ताजगी गर्ने गरी जुम मिटिङ सञ्चालन गरेको अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुभाष नेपालले जानकारी दिए ।
जुनसुकै पुतलीबाट शापु हुँदैन
सहरी क्षेत्रमा सडक बत्तीमा हुलका हुल पुतली झुम्मिरहेको देखिएको छ । चिकित्सकका अनुसार जुनसुकै पुतलीको शरीरमा हुने धुलोले आँखामा असर गर्छ । तर शापु फैलाउने पुतली फरक किसिमको हुन्छ । शरीरमा बाक्लो झुस हुने, शिरतिर तेर्साे र पखेटातिर ठाडो कालो धर्का हुने पुतलीबाट शापु फैलन सक्ने चिकित्सककोे भनाइ छ । यो प्रजातिको पुतली सामान्यतया बत्ती र झ्याल वरिपरि घुम्ने र कपडामा टाँसिएर बसेको भेटिन्छ । दिउँसोको समयमा भने बोटबिरुवामा बसेको हुन्छ । सामान्यतया साउनदेखि असोजसम्म देखिने यो पुतली अरुभन्दा फरक किसिमको हुन्छ । ग्याजलिना प्रजातिको पोथी पुतलीबाट शापु रोग लाग्ने कीट विशेषज्ञको भनाइ रहेको डा. गुरुङले उल्लेख गरिन् । रातिको समयमा सहरी क्षेत्रमा सडक बत्तीमा झुम्मिएका पुतली बिहान मरेका हुने र सवारीले किचेर धुलो बनाउने हुँदा सडकमा पैदल यात्रु र दुई पाङ्ग्रे चालकलाई शापुको जोखिम हुन सक्ने देखिन्छ ।
पुतली नछोए पनि शापु जोखिम
शापुबाट बच्न कालो धर्का हुने सेतो पुतलीबाट जोगिनु एकमात्रै विकल्प हो तर यो भन्दाजस्तो अपनाउन सहज छैन । कोठामा बत्ती बलेको अवस्थामा प्रवेश गरेर बेडमा बसेको र नदेखिएको अवस्थामा पनि समस्या आउन सक्छ । धोएर सुकाएकै कपडामा पनि शापु फैलाउने पुतली बसेर झुस छाडेको हुन सक्छ । पुतलीलगायत कीराहरु भएको अवस्थामा कपडालाई धोएर प्रयोग गर्दा न्यूनीकरण गर्न सकिन्छ । कहिलेकाहीँ पुतली नदेखिने तर झुस छाडेर गइसकेको पनि हुन सक्छ । झुस भएको बेड वा कपडाका माध्यमले आँखा चिलाउने, आँखाको सेतो भाग रातो हुने लगायत लक्षण देखिन्छ ।
शापु लागेमा आँखामा चिप्रा लाग्दैन भने संक्रमित आँखाले उज्यालोमा हेर्न सक्दैन । आँखाको दुखाइ कसैमा सामान्य हुन्छ भने कसैमा बढी । त्यसपछि आँखाको दृष्टिमा कमी हुन जान्छ । शापुबाट बच्न सेतो पुतलीबाट टाढै रहने, धेरै उज्यालो, सेतो बत्ती नबाल्ने, साँझ र राति झ्यालढोका बन्द गर्ने, सम्भव भए झ्यालढोकामा जाली हाल्ने, सुत्ने कोठामा मधुरो बत्ती बाल्ने र झुलभित्रमात्रै सुत्ने गर्नुपर्छ । शापुको लक्षण देखिइहाले स्वास्थ्यकर्मीको सल्लाहबमोजिम उपचार गर्नुपर्छ । तर आफूखुसी आँखाको औषधी वा जडिबुटी राख्न नहुने चिकित्सक बताउँछन् । पछिल्लो पटक वयस्क शापुबाट बढी बिरामी परेका छन् ।
अस्पतालमा कसरी हुन्छ उपचार ?
आँखा विशेषज्ञ डा. इन्द्रमान महर्जनका अनुसार शापुका कारण आँखामा पिप जमेको हुन्छ । पिप सुकाउन सुई लगाउने वा अप्रेसन गर्नुपर्ने हुन्छ । उपचारका लागि बिरामीलाई २४ घन्टाभित्रै अस्पतालमा पु¥याउनुपर्छ । बिरामीलाई जति चाँडै अस्पताल पु¥याउन सकिन्छ त्यति नै आँखा सुरक्षित हुने र जति ढिला हुँदै जान्छ त्यति नै आँखाको ज्योति गुम्ने खतरा बढ्दै जाने डा. हरिमाया गुरुङ बताउँछिन् । सरसफाइ र सावधानीका कारण बच्चाको तुलनामा वयस्कको उपचार सहज हुने चिकित्सकको भनाइ छ ।
डा. महर्जनका अनुसार शापु संक्रमित ३ जनाको जटिल अप्रेसन गरिएको छ । जटिल अप्रेसनमा त आँखाको भित्रपट्टिको भाग पूरै सफा गरिन्छ । ५ जनाको आँखाको गेडीभित्रै इन्जेक्सन लगाएर उपचार गरिएको छ । अन्यको भने आँखाको बाहिरी भागको सेतो नानीमा इन्जेक्सन दिएर उपचार गरिएको हो ।
Related News
सम्बन्धित समाचार
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१