पाहुना भित्राउँदै अयरपानी

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७८
home stay airpani (5)

पोखरा । मुलुक कोरोनाको मारमा पर्दा अयरपानी भने धमाधम पाहुना भित्राइरहेको छ । कास्की र स्याङ्जाको सिमाक्षेत्र फेदीखोला गाउँपालिका १, मट्टिखानमा पर्दछ, अयरपानी गाउँ । गाउँ टेक्ने बित्तिकै पाहुनाको स्वागतमा गाउँलेहरु फूलमाला लिएर बस्छन् । यहाँ अघिल्लो वर्षदेखि सञ्चालित अयरपानी सामुदायिक होम स्टेको मीठो आतिथ्य, सत्कार, रहनसहन र यहाँको मनोरम दृश्यले यहाँ पुग्ने जोकोही पुलकित हुन्छन् ।
हुन पनि पोखरा बजारदेखि नजिकै रहेको अयरपानी पुगेपछि जोकोहीलाई तत्काल त्यो ठाउँ छोड्न मन लाग्दैन । निकै उचाइमा रहेको यो ठाउँबाट पोखरा बजार तल पारेर हेर्नुपर्छ । उत्तरमा मनोरम हिमश्रृंखला, चारैतिर हरियाली वन, गाउँले परिवेश, मीठामीठा परिकार, रहनसहन, परम्परा, शान्त र सौम्य यहाँका विशेषता हुन् । पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको गन्तव्य बन्दै गएको आयरपानीबाट २/३ किमी दूरीमा नुवाकोट दरबार, मट्टिखान भ्यू टावर, गोर्खा स्मारक पर्दछन् ।
अयरपानी सामुदायिक होम स्टेका सचिव राजकुमार गुरुङ भन्छन्, ‘कोरोना महामारी सुरु भएकै वर्षदेखि हामीहरुले होम स्टे सुरु गरेका हौं । बजार कोरोना महामारीका कारण लकडाउन र निषेधाज्ञामा हुँदा पाहुनाको स्वागतमा भ्याइनभ्याइ छ ।’
गाउँमा खासगरी गुरुङ, बाहुन, क्षेत्रीको बसोबास छ । पोहोर ८ घरदेखि सुरु गरेको होम स्टे अहिले १३ घरमा फैलिइसकेको छ । गाउँमा कुल ३६ घरधुरीले बिस्तारै होम स्टे अँगाल्ने तयारीमा छन् । होम स्टेका अध्यक्ष सपना गुरुङका अनुसार पाहुनाको आकर्षण बढेकोले अब केही समयमै १३ घरबाट बढाएर २२/२३ घरमा होम स्टे सुरु गरिने छ । होम स्टेका कारण आयआर्जनमा समेत वृद्धि भएको उनले बताइन् । पाहुनाको स्वागत तथा सत्कारमा खटिनु पर्दा आफूहरु व्यस्त हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘एकपटक आएको मानिस फर्किफर्कि आउने छन् । भर्खरैमात्रै ७० जना मानिसको एक ग्रुपसमेत राखेकोले एकै पटक १ सय जना पाहुना आए पनि बन्दोबस्त गर्न सक्ने क्षमता छ ।’

अयरपानीका कुल ३६ घरधुरीमध्ये १३ घरमा हाल होम स्टे सञ्चालित छ

होम स्टे सचिव राजकुमार गुरुङ यसअघि पोखरामा होटल चलाउँथे । उनी लकडाउन कारण होटल व्यवसायबाट हात धोएर आफ्नै गाउँठाउँमा होम स्टे व्यवस्थापनमा खटिएका छन् । उनको अनुभवमा विगतमा गाउँ छोडेकाहरु पनि अहिले परिस्थितिका कारण गाउँमै फर्किएका छन् । यहाँ छोडेर पोखरा, काठमाडौं, युके, हङकङ जहाँ जहाँ गएको भए पनि आफ्नो गाउँ ठाउँलाई महत्व दिएको उनको बुझाइ छ । सहरबजार तथा विदेशमा गएर बसेकाहरुका सन्तान आफ्नो पुर्खा हुर्की बढेको गाउँको ‘रियल लाइफ’ जान्न एक रात भए पनि बसेर जाने गरेका छन् ।
होम स्टे आउनेहरुको लागि निकै सस्तो दररेट तोकिएको छ । १ हजार रुपैयाँको प्याकेजमा साँझ लोकल कुखुराको मासुसहित खाना, तीनपाने रक्सी, राति सुत्ने व्यवस्था, बिहान उठेपछि कोदो तथा गहूँका रोटीको नास्ता र बिहान भेज खाना दिइन्छ ।
यहाँबाट पूर्वतर्फ करिब ३ किमी दूरीमा पर्दछ, नुवाकोट दरबार । यो दरबारको पनि आफ्नै विशेषता छ । यो ठाउँ नै नेपालका साहहरुको उद्गमस्थल हो । पश्चिममा बन्दै गरेको गोर्खा स्मारक घुम्न आउनेहरुलाई यहाँ एक रात भए पनि बसाउन सके आयआर्जनमा सहयोग पुग्नेमा स्थानीय आशावादी छन् । मट्टिखान भ्यू टावर चढेपछि कास्कीसहित छिमेकी जिल्लाहरु सजिलै देख्न सकिन्छ । धौलागिरीदेखि गणेश हिमालसम्मको हिमालको मनोरम दृश्यले मन लोभ्याउँछ । घरपालुवा जनाबरमात्र नभई जंगली जनाबर पनि यहाँ भेटिन्छन् । लोप हुँदै गएको सोरठी, घाटु नाचमा गाउँलेसँग नाच्न पाउँदा थप मनोरञ्जनसमेत मिल्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width