पर्यटन क्षेत्रमा तत्काल २५ सय खोप

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७८
hotel sangah~

पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले पर्यटन क्षेत्र लक्षित गरी एकदुई दिनभित्रै कोरोना खोप व्यवस्था हुने बताएका छन् ।
पर्यटनको वर्तमान अवस्था र राज्यको दायित्व विषयमा पश्चिमाञ्चल होटल संघले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री शर्माले सो जानकारी दिएका हुन् । उनका अनुसार पोखरा पर्यटन परिषदअन्तर्गत पहिलो चरणमा २ हजार ५ सय मात्रा खोप व्यवस्था गरिएको छ ।
यस्तै, मन्त्री शर्माले पर्यटन व्यवसायी र सम्बन्धित सरोकारवाला तथा विज्ञहरुसँग बसेर आफूले पर्यटन पुनरुत्थानको योजना ल्याउने तयारी गरिरहेको बताए । कोरोना लक्षित गरी गण्डकी प्रदेश सरकारले ल्याएको १ अर्ब रुपैयाँको व्यवसाय जीवनरक्षा कोषको व्यवस्था यथावत रहेको जानकारी पनि उनले दिए । बागलुङको बलेवामा रहेको विमानस्थल सञ्चालन ल्याउने, हिमागृह खोल्ने र पोखराको पर्यटन बसपार्क निर्माण अन्तिम चरणमा पुर्‍याउने विषयलाई आफूले ध्यान दिएको उनको भनाइ थियो ।
कार्यक्रममा संघ अध्यक्ष विकल तुलाचनले न्यून मात्रामा भए पनि पर्यटन क्षेत्रका लागि खोप छुट्याइनु सकारात्मक भएको बताए । कोभिडबाट उत्पन्न परिस्थिति कारण पोखराका २५ प्रतिशत होटल बन्द भएको र ६५ प्रतिशत मजदुर पलायन भएको उनले गुनासो गरे । उनले सरकारको प्रतिबद्धताअनुरुप विद्युतमा छुटको घोषणा लागु हुनुपर्ने र अन्य राहातका कार्यक्रम पनि अगाडि बढाइनु पर्ने माग गरे ।
होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले होटल क्षेत्र ठूलो लगानी भएको व्यवसाय भएको स्मरण गराउँदै खोपमा त्यही अनुसारको प्राथमिकता दिनुपर्ने बताए । पोखरा र वरपरको पर्यटन क्षेत्रमा २ खर्ब रुपैयाँ हाराहारीको लगानी रहेको भन्दै पराजुलीले साना होटलमाथि वातावरणीय प्रभाव मूल्यांकनको व्यवस्था खारेज हुनु पर्ने माग राखे ।
संघका सल्लाहकार बच्चुराम तिवारीले तत्काल विदेशी पर्यटक नेपाल आउने सम्भावना नरहेको बताउँदै आन्तरिक पर्यटक प्रवद्र्धनको योजना सरकारसँग के छ भनी प्रश्न गरे ।
संघका अर्का सल्लाहकार हरि शर्मा गैह्रेले पर्यटन क्षेत्रलाई खोपको प्राथमिकतामा नराखिनु दुर्भाग्य भएको गुनासो गरे । अनलाइन पढाउने शिक्षक फ्रन्टलाइनमा गनिंदा पर्यटन क्षेत्र उपेक्षामा पर्नु दुखद भएको उनको टिप्पणी थियो । संघ सल्लाहकार गोविन्दराज पहारीले कोभिडका कारण सबैन्दा बढी प्रभावित पर्यटन क्षेत्र भएको भन्दै यो क्षेत्रका लागि तत्काल राहतका प्याकेज सरकारले घोषणा गर्नुपर्नेमा जोड दिए । पानी र बिजुलीमा होटलकर्मीले कुनै राहत नपाएको भन्दै बैंकको ताकेताले व्यवसायी झनै प्रताडित हुनु परेको उनले दुखेसो पोखे । संघका सहकोषाध्यक्ष नरेशबहादुर भट्टराईले पोखरामा बन्दै गरेको नयाँ विमानस्थबाट बेगनासताल र फेवा तालसम्म पुग्ने मार्ग फराकिलो बनाउनेतर्फ बेलैमा सोच्नुपर्ने सुझाव राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width