पर्यटन व्यवसायीले मागे खोप

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
khop covide tourism

पोखरा  । पोखराका पर्यटन व्यवसायीले कोरोनाविरुद्ध खोप माग गरेका छन् । उनीहरुले कोरोनाका कारण थलिएको पर्यटन चलायमान बनाउन तत्कालका लागि ५ हजार खोप उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् ।
पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको पर्यटन व्यवसायीहरुको टोलीले मंगलबार अर्थमन्त्री रामजीप्रसाद बराललाई भेटेर सो माग गरे । भेटका क्रममा मन्त्री बरालले पोखराको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ५ हजार खोप व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । उनले सरकारले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पनि पहल हुने जानकारी पर्यटन व्यवसायीलाई गराए ।
उनले भने, ‘यतिबेला जनतासँग प्रत्यक्ष भेटघाटमा हामी व्यस्त भएका छौं । उनीहरुको आवश्यकता आधारमा हामीले प्राथमिकता दिने छौं ।’
परिषद् अध्यक्ष भट्टराईले आफूहरुलाई हाल पहिलो चरणमा होटल तथा रेष्टुरेण्ट सहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी ५ हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताए । प्रदेश सरकारले अघिल्लो वर्ष ल्याएको १ अर्बको व्यावसायिक जीवन रक्षाकोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको टिप्पणी गरे ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी २ वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकोले कर्जा तालिकालाई पुनर्तालिकीकरण गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याइने मौद्रिक नीतिमा आगामी आव २०७८/०७९ मा पर्यटन प्राथामिकता प्राप्त क्षेत्रको रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा ५ प्रतिशत ऋण सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन समेत अनुरोध गरिएको भट्टराईले बताए ।
अग्रज पर्यटन व्यवसायी अग्नि कँडेल, वासु त्रिपाठी, टीकाराम सापकोटा लगायतले यो वर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width