पृथ्वीले देशभर गाडी चलाउने

आदर्श समाज सम्वाददाता
असार २९, २०७८
Prithivi Photo

पोखरा  । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले निषेधाज्ञाबीच असार ३० देखि देशभर गाडी सञ्चालन गर्ने निर्णय गरेको छ । निषेधाज्ञाबीच निजी सवारीसाधन सञ्चालन गर्न दिने तर लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नदिने राज्यको नीति नै पूर्वाग्रहपूर्ण रहेको ठहर गर्दै कम्पनीले सो निर्णय गरेको सोमबार पत्रकार सम्मेलन गरी जनायो ।
कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले गाडी सञ्चालन गर्दा प्रशासनले रोके जहाँ रोक्छ, स्थानीय प्रशासनसँग समन्वय गरेर गाडी गन्तव्यमा पुर्‍याइने बताए । यसो गर्दा प्रशासनले गिरफ्तारी गरे आफूहरु गिरफ्तारी दिन तयार रहेको उल्लेख गरे । कम्पनीले असार ३० देखि टिकट बुकिङ काउन्टर खोल्ने र माग आधारमा गाडी सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जनायो ।
बैंक तथा वित्तीय संस्थाले ऋणको किस्ता र ब्याज तिर्न ताकेता जारी राखेको, मजदुरले भोकभोकै बस्नुपर्ने स्थिति रहँदा पनि सरकारले आफूहरुको माग सम्बोधन नगरेपछि भद्ररुपमा आन्दोलन गरी ग्यारेजबाट गाडी सडकमा ल्याउन लागेको कम्पनीले जनाएको छ । गाडी सञ्चालनका बखत कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षा मापदण्ड भने कायम गर्ने जनाइएको छ । यसैबीच, कम्पनीले आगामी निर्वाचनमा दललाई सित्तैमा गाडी नदिने घोषणा गरेको छ । दलहरुले यतिखेर आफूहरुलाई सहयोग नगरेको र समस्या समाधानमा चासो नदिएको भन्दै आगामी निर्वाचनमा गाडी नदिने निष्कर्षमा पुगेको कम्पनी अध्यक्ष केसीले बताए ।
सरकारले दोस्रो भेरियन्टको कोरोना लहरसँगै गत वैशाख तेस्रो सातादेखि नै चरणबद्ध रुपमा देशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । पछिल्लो समय प्राय सबै व्यवसाय सुचारु हुँदा लामो दूरीका सवारीसाधन ठप्प छन् । नेपालभर सवारी ठप्प हुँदा ३ लाख ५० हजार सार्वजनिक सवारीका करिब १० लाख मजदुर र कर्मचारीको प्रत्यक्ष रोजगारीमा असर पुगेको छ । सार्वजनिक सवारीबाट प्रत्यक्ष अप्रत्यक्ष गरी आश्रित हुनेको संख्या ३५ लाख छ । पोखरामा प्रधानकार्यालय रहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत हाल १३ सय जति गाडी सञ्चालित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width