बतास एग्रो प्रालि : मोडेल भिलेजसहित कृषिको ड्रिम प्रोजेक्ट

धनबहादुर गुरुङ
असार २१, २०७८
Batas Agro Photo

पोखरा । व्यावसायिक घरानामा चलेको नाम हो, बतास अर्गनाईजेसन । यसका अध्यक्ष आनन्दराज बतास अटो क्षेत्रमा सफल व्यावसायी हुन् । अर्गनाइजेसनमा अटोका धेरै कम्पनी छन् । अध्यक्ष बतासलाई पछिल्लो समयमा नयाँ केही गर्ने हुटहुटी चलेको छ । कृषिमा उनको अटोमा हात हाल्दादेखि नै रुचि थियो । व्यवसाय चट्टै छाडेर कृषि कर्म गर्न नसेकेका बतासले जग्गाको जोहो भने धेरै वर्ष अगाडिदेखि नै गर्दै आएका थिए ।
अरु व्यवसायीले सहरको कुनै कुनामा जग्गा किन्ने गरे पनि बतासले गाउँघरको जग्गा किनेका हुन् । कारण थियो, कृषिकर्म । कास्कीको अन्नपूर्ण गाउँपालिका २, भयरचौरमा १५÷२० वर्ष अगाडिदेखि उनले जग्गा जोरजाम गर्न सुरु गरेका हुन् । थोरै थोरै किन्दै जाँदा उनको जग्गा २ सय रोपनी पुग्यो । पोखरा बजार क्षेत्रबाट १६ किमीको दूरीमा रहेको उक्त स्थानमा बतास एग्रोको तयारी हुँदैछ । जसका लागि बतास एग्रो प्रालि दर्ता गरेर काम पनि सुरु गरिसकेका छन् ।
एग्रोमा उनले तरकारी खेतीलाई भन्दा पनि फलफूल र रुख बिरुवालाई नै प्राथमिकतामा राखेका छन् । केही फरक गर्न रुचि राख्ने बतासले आफ्नो फार्ममा नेपालमा कम लगाइएको तर विश्वबजारमा माग उच्च रहेको अगरउडको व्यावसाय गर्ने सोच बनाएका छन् । अगरउड संसारकै महँगो बिरुवा हो । यो हुर्कन १२ देखि १४ वर्ष लाग्ने उनको भनाइ छ । हुर्किएपछि २५ देखि ४० लाख एउटै बिरुवाको मूल्य पर्ने कारण पनि उनी यसतर्फ आकर्षित भएका हुन् । ‘नेपालभरमा कसैले सय कसैले ५ सयसहित १ लाख जति रोपेका छन्,’ उनले भने, ‘अरु देशमा त राम्रो भएको तर नेपाल कस्तो हुन्छ थाहा पनि छैन, मलाई हुन्छ भन्ने लागेको छ ।’ उनले उक्त जग्गामा १ हजार बिरुवा अगरउड पनि लगाइसकेका छन् । यस अलावा एभोगाडो, ड्रागन फ्रुट, आँप, लिच्ची, कागती, बास लगायत धेरैको बगैंचा बनाउने उनको योजना छ । तरकारी बालीभन्दा पनि उनले बहुवर्षीय खेती बालीमा जोड दिएका छन् । ‘अगरउडका १० हजार बिरुवा आउँदैछ,’ उनले भने, ‘त्योबाहेक संसारभर पाइने ६० किसिमका बाँस खोल्साको वरिपरि रोपिनेछ ।’ साथै त्यही माछापालनसँगै मृग र कालिज पाल्ने पनि सोच बनाएका छन् । करिब ३० करोडको लगानीमा एग्रो व्यावसाय गर्न लागेको उनले जानकारी दिए ।

‘मोडेल भिजेल’ को योजना
आनन्दराज बतासले गण्डकी प्रदेशमै मोडेल भिलेज बनाउने योजना पनि बनाएका छन् । उनले भनेको मोडेल भिलेज अन्नपूर्ण गाउँपालिका २, भयरचौरमा रहेको बतास एग्रो प्रालिमै बनाउन लागेका छन् । एग्रोमा काम गर्ने कृषकलाई नै उनले मोडेल भिलेजका सदस्य बनाउने तयारी गरेका छन् ।
बतास एग्रोको उक्त जग्गामा १० हजार अगरउडका बिरुवा रहने छन् । भारतको आसाम क्षेत्रमा बढी मात्रामा हुने अगरउडको स्याहारसम्भार गर्न कृषक राख्ने तयारी छ । अहिले भएका अगरउड हेरचाह गर्न उनले २ वर्षदेखि अस्थायी कामदार राखेर काम गरिरहेका छन् । अब स्थायी कामदार राखेर अघि बढ्नुपर्छ भन्ने लागेर विज्ञापन पनि खोलिसकेका छन् । विज्ञापन खोल्दा नै उनले मोडेल भिलेजको अवधारणालाई ख्याल गरेका छन् ।
गन्धर्व समुदायका ३ परिवार, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ–मगर, ब्राह्मण, क्षेत्री र नेवार समुदायका १/१ परिवारलाई सँगै राखेर १० परिवारको नमुना गाउँ बनाउने तयारी छ । पछिका दिनमा अझै अन्य जातिका परिवारलाई पनि समेट्दै उनी अनेकतामा एकताको सन्देश चाहन्छन् । साथै जातीय द्वन्द्व पनि कम गर्ने सोचमा छन्, उनी ।
एग्रोमा हुने अगरउड साथै २ सय ६४ भेराइटीको फलफूलको रेखदेख उनीहरुले नै गर्नेछन् । फार्ममा अहिले नमुना गाउँका लागि घर बनिरहेका छन् । ५० लाख खर्च गरेर त्यहाँ ४ किलोमिटर टाढाबाट पानी ल्याइएको छ ।

कृषिमा आकर्षक विज्ञापन
गएको शुक्रबारदेखि सामाजिक सञ्जालमा एउटा विज्ञापन निकै भाइरल छ । विज्ञापनले दिन खोजेको सन्देश र योजना धेरैले मन पराएर धेरै पटक सेयर भएको छ । बतास एग्रो बहुउद्देश्यीय कृषि परियोजनाको लागि स्वस्थ शरीर भएका बढीमा ४५ वर्ष ननाघेका नेपाली नागरिकको आवश्यकता रहेको उल्लेख गरिएको छ । सबै जाति समेट्दै गरेको विज्ञापनमा बिमा सुविधा, अतिरिक्त उपहार सुविधा, विशेष सुविधा विज्ञापनमा समेटिएको छ ।
प्रतिपरिवार ३२ हजार तलब सहित बिमा र विभिन्न सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । प्रत्येक परिवारलाई जर्सी गाई, कुखुरा, हाँस, भोटे कुकुर, बिरालो, बाख्रा, मौरी, परेवा लगायतका पशुपंक्षी पनि एग्रोले उपलब्ध गराउने छ । तरकारी फलाउन १ रोपनी र धान फलाउन ३ रोपनी जग्गा दिइने छ । यसका साथै बेडसेट, डनलप, सिरक, सिरानी, तन्ना, पर्दा आदि, टिभी, फ्रिज, दराज, टेबल कुर्सी पनि उपलब्ध हुनेछ । भान्साका लागि चाहिने आवश्यक सम्पूर्ण सामानसहित छाता, रेनकोट, गमबुट, टर्च लाइट, मोबाइल (सिम साथै मासिक न्यूनतम शुल्क) पनि दिइने बतासले बताए ।
पशुपालनबाट हुने आम्दानीको ६० प्रतिशत किसान परिवारले पाउने छ भने ४० प्रतिशत बतास एग्रो प्रालिमा जम्मा हुने अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । ‘काम गरेको ३२ हजार पाउने नै भए साथै पशुपालनबाट आएको ६० प्रतिशत जोड्दा महिनाकै ४०÷५० हजार भइहाल्यो,’ उनले भने, ‘मैले मात्र कमाउनु भन्ने छैन, उसलाई ६० प्रतिशत दिँदा म गरिब हुँदिन तर उ धनी हुन्छ नि ।’ नेपालमा सेवा सुविधा र आफूलाई पुग्ने तलबको व्यवस्थाले विदेश पलायन पनि रोकिने उनी बताउँछन् । त्यहाँ जग्गा बाहेक १० करोड लगानी हुने उनले सुनाए । उक्त परियोजनामा २ सय केभिएको सोलार प्यानल राखिने छ । सबै घरहरु ढुंगामाटोको वातावरणमैत्री बनाउँदै अर्गानिक गाउँको रुपमा यसलाई बिस्तार गर्न खोजेको उनले जानकारी दिए ।
‘प्रत्येक वर्ष हामीले बोनस पनि दिने तयारी गरेका छौं तर अहिले नै यो कुरा विज्ञापनमा उल्लेख गरेका छैनौं,’ उनले भने, ‘हामीले घरमा इन्टरनेट र कामदारका बालबालिकालाई कम्प्युटर सिकाइदिने व्यवस्थाको पनि तयारी गरेका छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width