कास्कीमा बढेन बजेट

प्रकाश ढकाल
असार १८, २०७८
palika

पोखरा । कास्कीका पालिकाहरुले यो कार्यकालको अन्तिम बजेट सार्वजनिक गरेका छन् । आउँदो वर्षका लागि सबै स्थानीय तहले साढे ८ अर्बभन्दा बढीको बजेट प्रस्ताव गरेका छन् । १ महानगर र ४ गाउँपालिकाले ८ अर्ब ६३ करोड बजेट सार्वजनिक गरेका हुन् । कोरोना भाइरस संक्रमण र त्यसपछिको परिस्थितिले पालिकाको बजेट अघिल्लो वर्षभन्दा बढ्न सकेन । ३ पालिकाले सामान्य बृद्धि गरेका छन् भने दुईवटाले घटाएका छन् । अघिल्लो वर्ष ६ अर्ब १९ करोडको बजेट ल्याएको पोखराले अहिले ८ करोड बढाएको छ । अन्नपूर्णले ६६ करोडबाट ७५ करोड पुर्‍याएको छ भने रुपाले ४३ करोडबाट ४७ करोड बनाएको छ । मादी र माछापुच्छ्रेको बजेट पोहोरभन्दा कम छ । मादीले पोहोर ६५ करोडको बजेट ल्याएकोमा अहिले घटाएर ५६ करोडमा झारेको छ भने माछापुच्छ्रेले ६२ करोडबाट ५६ करोडमा साँघुर्‍याएको छ ।
अधिकांश स्थानीय तहले चालु वर्षबाट खर्च नभएको बजेटलाई अख्तियारी सारेर आकार बढेको छ । ‘सबै खर्च भएको भए अर्को वर्ष बजेट घट्थ्यो । अहिले ६० प्रतिशत पनि खर्च छैन,’ जिसस कास्कीका प्रमुख बैनबहादुर अधिकारीले भने, ‘संघबाट आउने बजेट सामान्य मात्रै बढेको छ । अहिले खर्च कम भएर ब्यालेन्स मिलेको हो ।’ संघ र प्रदेशबाट दिने अनुदान बजेट घटेको छ । आन्तरिक आम्दानी बढेको छैन । राजश्व बाँडफाँटबाट आउने रकम झन् थोरै छ । बजेट निकासा र टेन्डरमा हुने झण्झटले पनि खर्च दर कम भएको उनको तर्क छ । ‘असोजसम्म निकासा सिस्टम मिल्दैन । ठेक्कापट्टाको प्रक्रिया नै लामो छ,’ उनी भन्छन्, ‘जनताले मागेका भन्दा पनि माथिबाटै निर्णय भएर योजना जाँदा जनतामा चासो कम भयो । त्यस्ता योजनामा काम हुँदैन ।’
मादी गाउँपालिकाले यो वर्ष ५० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्ने देखिँदैन । अहिलेसम्म ३५ प्रतिशत खर्च भएको छ भने केही काम सकिएर भुक्तानीको चरणमा छ । ‘कानुनभन्दा बाहिर खर्च गर्न मिल्दैन । हामीले गरेका पनि छैनौं,’ प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले भने, ‘पहिले पेश्की पठाएर खर्च देखाउने गर्थे । अहिले पेश्की बन्देज छ । खर्च नभए नहोस् तर रिस्क नलिने नीति छ ।’ मादीले आउँदो वर्षका लागि ७ करोड हाराहारीमा यो वर्षको बजेट अख्तियारी सारेको छ । समपुरक, साझेदारी शीर्षकको बजेट खर्च हुन नसकेको सापकोटाले बताए ।

२०७४ मा निर्वाचित जनप्रतिनिधिको यो अन्तिम बजेट हो । यो वजेट कार्यान्वयन नसकिँदै अर्को निर्वाचन हुन्छ

अन्नपूर्णले भने ८० प्रतिशत खर्च गर्ने दाबी गरेको छ । ‘हाम्रोमा लकडाउन भएपनि काम रोकिएको छैन । धमाधम काम भएका छन्,’ अध्यक्ष युवराज कुवँरले भने, ‘८० प्रतिशत खर्च नाघ्छ । आगामी वर्षलाई खासै बजेट बाँकी हुँदैन ।’ पोखरा महानगरपालिकाले ६५ प्रतिशत भन्दा बढी खर्च गर्न सक्ने देखिँदैन । हालसम्म पूर्वाधारतर्फ ३५ प्रतिशत मात्रै खर्च भएको छ । समग्रमा ५३ प्रतिशत खर्च भएकोमा केही दिन भुक्तानीको समय बाँकी रहेकोले ६५ प्रतिशतसम्म पुग्नसक्ने लेखा प्रमुख जयराम पौडेलले बताए ।
माछापुच्छ«ेले ६० प्रतिशत भन्दा बढी खर्च गर्ने सम्भावना छैन । प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले कोरोनाका कारण सोचेजति बजेट खर्च गर्न नसकेको बताए । ‘अधिकांश काम लकडाउनले रोकियो । अपेक्षाकृत प्रगति भएन,’ उनले भने, ‘केही भुक्तानी बाहेक उल्लेख्य बजेट अव निकासा हुँदैन ।’ रुपाले ७० प्रतिशत खर्च गर्ने दावी गरेको छ । अहिले ५० प्रतिशत खर्च भएको छ । ‘धेरै पैसा भएका योजनाको काम भएन,’ प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले भने, ‘नत्र ९० प्रतिशत खर्च देखिन्थ्यो ।’ कोरोना भन्दा बर्खाका कारण कम काम भएको उनले बताए ।
स्थानीय तहले असार १० गतेभित्र बजेट कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार कास्कीका पाँचवटै स्थानीय तहले निर्धारित समयभित्रमा बजेट कार्यक्रम प्रस्तुत गरेका थिए । पाँचवटै स्थानीय तहले कोरोना महामारीबाट नागरिकको जीवन रक्षासहित पूर्वाधार विकास, कृषि, पर्यटन र सामाजिक विकासका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । २०७४ मा निर्वाचित जनप्रतिनिधिको यो अन्तिम बजेट हो । यो वजेट कार्यान्वयन नसकिँदै अर्को निर्वाचन हुन्छ ।
कास्कीका स्थानीय तहको बजेट

  • स्थानीय तह अघिल्लो वर्षको बजेट हालको बजेट
  • पोखरा महानगरपालिका ६ अर्ब १९ करोड ६ अर्ब २७ करोड
  • अन्नपूर्ण गाउँपालिका ६६ करोड १२ लाख ७५ करोड ३५ लाख
  • मादी गाउँपालिका ६५ करोड ७४ लाख ५६ करोड ४ लाख
  • माछापुच्छ्रे गाउँपालिका ६२ करोड ६७ लाख ५६ करोड ५८ लाख
  • रुपा गाउँपालिका ४३ करोड १३ लाख ४७ करोड ६८ लाख

Related News

सम्बन्धित समाचार

hero news full width