२३ करोडको रामायण पार्क बन्ने

साधन राम्जाली
असार ७, २०७८
ramayan parka bandai (2)

म्याग्दी । बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क निर्माण हुने भएको हो ।
पार्कको बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पार्क निर्माणका विषयमा पछैमा स्थानीय र सरोकारवालाबीच छलफल भएको छ । पौराणिक प्रमाणलाई यथावत राखेर पार्क बनाइने भएको छ । पहिलो चरणमा रामायणको मूर्ति, बगैंचा, विश्रामस्थल, धर्मशाला लगायतका पूर्वाधार बनाइने भएको छ । बजेटको उपलब्धता र आवश्यकता आधारमा पूर्वाधार निर्माणलाई क्रमागत रुपमा निरन्तरता दिइने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले मन्त्रालय र नगरपालिकाबीच समन्वय नहुँदा ढिलाइ भएको बताए । पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा ४ रोपनीमा रामायण पार्क बनाउन लागिएको नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले बताए ।
हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँ लगायत पुरानो संरचना यथावत राखेर पूर्वाधार बनाइने भएको छ । कुल २३ करोड रुपैयाँ लागत अनुमान गरिएको पार्कलाई चालू आर्थिक वर्षमा पर्यटन मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाको १ करोड १४ लाख बिनियोजन गरेका छन् । धेरै प्राविधिक काम भएको कारण ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।
उनका अनुसार योजना २ वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ । २०६६ मा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले म्याग्दी भित्रिने पर्यटकको बसाइँ लम्बाउन र मुक्तिनाथ आवतजावत गर्ने धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गरेका थिए ।

बेनी नगरपालिकाले गौरवको आयोजना रुपमा पार्क निर्माण अघि बढाएको हो ।

२०७४ देखि नै बजेट बिनियोजन गरे पनि ठाउँ छनोट हुन नसक्नु र स्रोत अभावमा रोकिएको रामायण पार्कको योजनालाई नगरपालिकाको गौरवको आयोजना रुपमा कार्यान्वयनमा लैजान लागेको नगर कार्यपालिकाको भौतिक पूर्वाधार विकास समिति संयोजक कृष्णकुमार विश्वकर्माले बताए ।


निवर्तमान संघीय सांसद भूपेन्द्रबहादुर थापाले रामायण पार्क म्याग्दीको गौरवको योजना मात्र नभएर पौराणिक महत्वको उजागर र धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने बताए । उनले निर्माण हुने पार्कको भौतिक संरचना दिगो बनाउन स्थानीयको भूमिका महत्वपूर्ण भएको बताए । स्तरोन्नति क्रममा रहेको अर्थुङ्ग–पुलाचौर पुलाचौर–पूर्णगाउँ सडक आयोजनालाई प्रभावकारी बनाउन सकेमा रामायण पार्क आवतजावत गर्ने पर्यटकलाई सुविधा पुग्ने उनको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गलेश्वर, पछै, जगन्नाथ र टोड्केलाई जोडेर नयाँ गन्तव्यस्थल रुपमा विकास गर्नुपर्ने बताए । पुलह पुलत्स्य क्षेत्र विकास कोषका अध्यक्ष लीलाबहादुर बानियाँ, गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मी, कर्णबहादुर बानियाँ, भीमबहादुर बानियाँ लगायतले पछैमा रामायण पार्क बन्न लागेकोमा खुसी व्यक्त गरे । हिन्दू धर्मग्रन्थ श्रीमद्भागवत् पुराणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको पुराणमा व्याख्या गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width