फेवातालका डुङ्गा चालकलाई राहत

रासस
जेठ २१, २०७८

पोखरा । पोखराको फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकहरुलाई रेष्टुरेण्ट एण्ड बार एशोसियसन ९रेबान० पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ ।

कोरोना सङ्क्रमणको कारण जारी निषेधाज्ञाले पेशा सङ्कटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि समस्यामा परेका चालकलाई राहत वितरण गरिएको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिनुभयो । “लामो समय भयो, निषेधाज्ञा छ ,काम गरेर बहान बेलुकाको छाक टार्न समस्या परेको भन्ने थाहा पाएपछि राहत सामग्री वितरण गरेका हौँ । ”

बरालका अनुसार डुङ्गा व्यवसायी समितिका समन्वयमा आर्थिक अवस्था कमजोर भएकाहरुको पहिचान गरी शुक्रबार ८५ जनालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । थप समस्यामा परेका ३२ जनाको पनि नाम आएकाले उनीहरुलाई शनिबार बिहान वितरण गरिने बरालले जानकारी दिनुभयो ।

आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख एवम् पर्यटन व्यवसायी नरेश भट्टराईले एक परिवारलाई २५ सय बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिनुभयो । राहत लिएर जाँदै गर्दा एक डुङ्गा चालकले जीविकोपार्जनमा समस्या भइरहेका समयमा पाएको सामग्रीले क्षणिक राहत दिएको जनाउँदै आफ्नै पसिनामा डुङ्गा खियाएर दिनचार्या चलाउने दिनको पर्खाइमा रहेको बताउनुभयो । व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा ७७५ जति डुङ्गा चालक छन् । तीमध्ये चार सयले आफ्नै तथा बाँकीले अरुको डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै