नाममात्रैको महानगरः जीर्ण काठेपोल,खाल्डाखुल्डी सडक

श्रीभद्र पौडेल
जेठ २०, २०७८
hemja shree

हेमजा । महानगर भनिने तर सेवा सुविधाका हिसाबले गाउँपालिकाभन्दा पनि निकै तल्लो अवस्था । सडकबीचमा ठूला ठूला भड्खाला, १५ वर्ष अघि गाडिएका जीर्ण काठे पोल ।

यो परिचय रातारात ठेगाना परिवर्तन भएर हाल महानगर बनेको पोखरा ५ पस्र्याङ नजिकैको ग्यारजाती (साविक सराङकोट ६) स्थित चौर गाउँको हो । न त त्यहाँका जनताले महानगरबासी भएको महसुस गर्दछन् । न त पोखराको मुख्य बजार नजिकै भएर पनि चुनावपछि जनप्रतिनिधि फर्किन भ्याउँछन् ।

एकपटक फर्केरसम्म नजाने जनप्रतिनिधिले कुहिएर ढल्न लागेका काठे पोल फेरिदेलान् भनेर सोच्नु मुर्खताबाहेक केही नहुने चौरमा टंकप्रसाद अधिकारी बताउँछन् ।

ढिकुरपोखरीको सेराचौरबाट यहाँ आएको पनि ६ वर्ष बित्न लाग्यो, विकास निर्माण भन्ने कुरा त परको भयो नै, जीर्ण अवस्थाका पोलसम्म फेर्न सकिएन, पोल फेर्न पनि राजनीतिक आवरण चाहिने रैछ कि? उनले गुनासो पोखे ।

यतिबेला चौर गाउँका ३ काठे पोल निकै जीर्ण अवस्थामा छन् ।त्यसका साथै चौरदेखि मेथलाङतर्फका ५ काठे पोल पनि लगभग भाँचिने अवस्थामा पुगेका छन् ।

चौरमा कुल ७ घर छन् । त्यसका साथै विभिन्न ६ फार्मसमेत त्यहाँ सञ्चालनमा छन् । त्यहाँका स्थानीयले विद्युत् पोलका अलावा १ घर १ धारा अन्तर्गतको खानेपानी र कम्तीमा ग्राभेल सडक मागसमेत गरेका छन् ।

विकास निर्माणको हिसाबले आफूहरु पोखरा महानगरपालिकाबासी हौं भन्ने कुनै आधार नभएको उनीहरुको ठहर छ । नत हाम्रो ठाउँमा सहजै गाडी हिँड्ने बाटो नै बनेको छ । नत खानेपानीको सहज प्रबन्ध नै। छन् त केवल बिजुलीका लागि कुहिएका काठेपोल । संघीयता आएपछि देशमा विकास निर्माण राम्रै हुन्छ भन्ने लागेका थियो तर ठीक उल्टो भयो,’ चौरका दलबहादुर क्षत्री भन्छन्, ‘महानगरमै बजार नजिकै भएर पनि दुर्गम गाउँभन्दा पनि विकटको जस्तो भइएको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width