सरकारीमा बेड छैन, निजीमा छोइनसक्नु

गण्डकी अस्पताल टेन्डरमै अल्झियो

धनबहादुर गुरुङ
जेठ १०, २०७८
Bed Isolation Photo 1

पोखरा । कोरोनाको दोस्रो लहरबाट संक्रमित धेरैजसोलाई अस्पतालमै भर्ना गर्नुपरेको छ, त्यो पनि अक्सिजन व्यवस्थासहित । भर्ना गरेका कतिपयलाई श्वासप्रश्वास समस्या छ । महामारी रुपमा फैलिएको दोस्रो भेरियन्टबाट संक्रमितमा केही गरी अक्सिजन व्यवस्थापन ढिलो हुन गए मृत्युको भय छ ।

संक्रमित दरसँगै मृत्युदर समेत बढ्दै जाँदा केन्द्र तथा प्रदेश सरकारले आवश्यक तयारी थाले । गत वर्ष पहिलो लहर केही साम्य भएको अवस्थामा उपयोगविहीन आइसोलेसन पुनः ब्युँताउने काम भयो ।

निःशुल्क उपचार गर्ने भनिएका मणिपाल र जिएमसीमा समान ३७ बेड खाली भए पनि सरकारी अस्पतालमा कोरोना संक्रमित बिरामी थामिनसक्नु छ ।

गण्डकी प्रदेशमा पनि दोस्रो लहरले छपक्कै छोपिसक्दा प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्ताल हाउसफुल भयो । ५० बेडको अस्पताल भरिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसोलेसनको तयारी थाल्यो । प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा निर्मित ४० बेडको आइसोलेन वार्ड ५ दिनमै भरिभराउ भयो । जहाँ २५ बेड एचडीयू, १५ बेड आइसियू र १० बेड आइसोलेसन छन् । निजी अस्पतालमा उपचार महँगो भएका कारण संक्रमितको रोजाइ सरकारी नै हुन थाल्यो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालनको इमर्जेन्सी पनि भरिन थाल्यो । अस्पतालले सोको व्यवस्थापनका लागि मेडिकल वार्डलाई आइसोलेसन बनाएर संक्रमितलाई त्यता सार्‍यो । तर समस्या ज्यूँका त्यूँ छ । यो कुरा प्रतिष्ठानका नवनियुक्त निर्देशक डा. भरतबहादुर खत्री स्वीकार्छन् ।

वैशाख २ मा स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको थियो । ३ सय ७० बेड क्षमताको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले १ सय ८५ बेड कोरोना संक्रमितका लागि छुट्याउनुपर्ने हो । तर, हाल ३८ आइसोलेसन, २५ आइसियू र ३० एचडियू गरी ९३ बेड मात्रै छुट्याएको छ ।
सरकारी अस्पतालले मात्र नधान्ने देखिएपछि गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार गर्ने सहमति भएको छ । तर सामान्य अवस्थाका कोरोना संक्रमितको लागि ३ हजार ५ सय, मध्यमका लािग ७ हजार ५ सय र जटिल प्रकारका लागि १५ हजार बेहोर्ने गरी सरकारले ती २ अस्पतालसँग सम्झौता गरेको हो । दैनिक १५ हजार भन्दा बढी खर्च आयो भने कसरी पु¥याउने भनी ती अस्पतालमा भर्ना हुने संक्रमितको संख्या न्यून देखिन्छ । मणिपालले ८२ बेड कोरोनाका लागि छुट्याए पनि ४५ जना मात्र भर्ना भएका छन् । जिएमसीले १ सय २५ बेडमा कोरोना संक्रमित राख्ने भने पनि हाल ८८ मात्र भर्ना भएका छन् ।

निःशुल्क उपचार गर्ने भनिएका यी अस्पतालमा समान ३७ बेड खाली भए पनि सरकारी अस्पतालमा कोरोना संक्रमितका बिरामी थामिनसक्नु छ ।

पोखरामा हाल २ सरकारी, १ सामुदायिक र १६ निजी अस्पतालले कोरोना संक्रमितको उपचार गराइरहेका छन् । सरकारी अस्पतालमा भएका आइसियू भरिँदा संक्रमितले महँगो धरौटी र उपचार खर्च बुझाएर निजी अस्पतालमै उपचार गराउन बाध्य छन् । आइतबार साँझसम्म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ र सरुवा रोग अस्पतालमा ५४ संक्रमितको उपचार भइरहेको छ ।

बाँकी ४ सय ३२ जना मात्र १ सामुदायिकसहित निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराइरहेका छन् । निजी अस्पताल चरक मेमोरियल, मेडिप्लस, रिजनल अस्पताल, फेवासिटी, कास्की मोडेल अस्पताल, दीर्घायु अस्पताल, ग्यालेक्सी अस्पताल, फिस्टेल अस्पताल, कास्की सेवा, मेट्रोसिटी, ओम अस्पताल, जनप्रिय अस्पताल, नमस्ते अस्पताल र सहारा अस्पतालमा अझै केही बेड खाली नै छन् ।

सर्वसाधारण धेरै संक्रमितका लागि पहिलो रोजाइ सरकारी भए पनि प्रदेशकै ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भने बेड बिस्तारका लागि टेन्डरमै अल्झिएको छ । नयाँ भवनमा आइसोलेसन बेड तयार गर्ने भनिएकोमा टेन्डर बहानाको टेको लगाएर बसेको छ ।

केही बेड ल्याइए पनि अक्सिजनका लागि कपर पाइपलाइन बिस्तार नभएको बताइएको छ । २ सय बेडका लागि अक्सिजन पाइपलाइन वायरिङका गण्डकी सरकारले ६२ लाख रुपैयाँ अस्पताललाई दिने सुनिश्चितता पत्र दिइसकेको छ ।

प्रतिष्ठानका निर्देशक डा. खत्रीले पाइपलाइन फिटिङका लागि अबको २/३ दिनमा सातदिने टेन्डर आह्वान गर्ने जानकारी दिए । अक्सिजन प्लान्टका लागि निजी क्षेत्रबाट काम भइरहेको उनको भनाइ छ । अस्पतालमा ३ क्षेत्रबाट अक्सिजन प्लान्टको काम हुने भनिएकोमा बतास फाउन्डेसनले काम छिटो सक्ने संकेत देखिएको डा. खत्री बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width