लुम्बिनीमा सत्ता खेल :  कस्ताे राजनीतिक संस्कार बसाल्दै छाैं हामी 

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७८
lumbini sapath

पोखरा। प्रष्ट बहुमत गुमाएपछि अविश्वास प्रस्ताव छलेर फेरि मुख्यमन्त्री बन्ने दाउमा लागेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक झेलमा फँसेका छन् । संसदीय दलको बैठकको उपस्थितिलाई ‘निर्णय’ भन्दै उनी फर्जी हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा आइतबारै पुनर्वहाली भए । पोखरेलले आइतबारै सपथ मात्र खाएनन् मन्त्रिपरिषद समेत विस्तार गरे ।

आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिए । दिउँसो संसदीय दलको बैठक बसाए । बैठकको उपस्थितिलाई समर्थनको रुपमा प्रस्तुत गरे, त्यही पाना बोकेर प्रदेश प्रमुखकहाँ पुगे । बहुमत दाबीसहितको पाना हेरेर प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्रीमा पुनर्नियुक्त गरिदिए । पोखरेलले हस्ताक्षर बटुलेका ४ सांसद भने उनको कित्ता छोडेर हिँडिसकेका छन् ।

एकल बहुमत पुग्ने देखेपछि एमालेको मात्रै सरकार बनाउन तम्सिएका पोखरेललाई आफ्नैले विश्वास गरेनन्

‘संसदीय दलको बैठकको उपस्थितिमा हामीले हस्ताक्षर गरेका छौं । निर्णयमा सही गरेका छैनौं,’ सांसद दृगनारायण पाण्डेले भने, ‘पोखरेलजी लाई अब मुख्यमन्त्री स्वीकार्न सक्दैनौं । त्यसैले उहाँको आकांक्षामा हाम्रो सहमति छैन ।’ फर्जी हस्ताक्षरका आडमा पोखरेलले मुख्यमन्त्रीको नियुक्ति बुझेपछि सांसद पाण्डेले राजीनामा दिएका छन् । सूर्य चिन्हबाटै चुनाव जितेका ३ सांसदले पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु २ (ख) का धर्मबहादुरलाल श्रीवास्तव र परासीका अजय शाहीले पोखरेललाई छोडेका हुन् । उनीहरुले कांग्रेस–माओवादी सहितको गठबन्धनलाई सघाएका छन् ।

शाही हृदयेश त्रिपाठीको पार्टीबाट सूर्य चिन्ह लिएर चुनाव जितेका हुन् । आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल बहुमतको सरकार बनाउने ध्याउन्नमा रहेका मुख्यमन्त्री पोखरेल पुनः नियुक्त नहुँदै सांसदहरुले उनी विरुद्ध गतिविधि गरेका हुन् । उप निर्वाचनमा एमालेबाटै चुनाव जितेकी विमला खत्री माओवादी केन्द्रमा लागेको औपचारिक जानकारी गराएकी छिन् । ८७ सदस्यीय प्रदेशसभाका ६ सांसद कारबाहीमा परिसकेका छन् । जनता समाजवादीका ४ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर त्यहि क्याविनेटमा मन्त्रीको शपथ लिएका थिए ।

उनीहरुलाई पार्टीले कारबाही गरिसकेको छ । माओवादीले २ सांसदलाई एमालेतिर लागेको भनेर कारबाही गरेको छ । आइतबार थप १ जनाले राजीनामा दिएपछि ८० मात्रै सांसद छन् । कम्तीमा ४१ सांसदको हस्ताक्षर बुझाउने मुख्यमन्त्री बन्न पाउँछन् ।

८१ सांसद हुँदा एमालेको मात्रै ४१ जना दिए । एकल बहुमत पुग्ने देखेपछि एमालेको मात्रै सरकार बनाउन तम्सिएका पोखरेललाई आफ्नैले विश्वास गरेनन् । तीन सांसदले उनको साथ छोडेपछि एकल बहुमत पुनः गुमाएका छन् । फर्जी हस्ताक्षर बुझाएर मुख्यमन्त्री बनेका पोखरेलको नियुक्ती विवादमा तानिएको छ । विपक्षी सांसदहरुले उनको नियुक्ति असंवैधानिक भएको भन्दै बदरको माग गरे । तर विपक्षीको नाराबाजीका बीच मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले सपथ खुवाएका छन् । संसदीय व्यवस्थामा अंकगणित निकै महत्वपूर्ण छ । जसरी हुन्छ, वहुमत आवश्यक पर्छ । तर लुम्बिनीमा अनौठो घटना भयो, बहुमत सांसद बाहिर राखेर अल्पमतले सरकारको सपथ खाएको छ ।

४१ सांसदको हस्ताक्षरमा पोखरेलले मुख्यमन्त्रीको सपथ लिनुअघि नै ४२ सांसदको हस्ताक्षर सहित माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको पत्र विपक्षीले प्रदेश प्रमुखलाई बुझाएका थिए । प्रदेश प्रमुखले विपक्षीको कुरा सुनेनन् ।

तीन वर्ष तीन महिना करिव व्यतित गरिसकेका पोखरेल आफ्नो पार्टी विभाजनको चेपुवामा परेका छन् । राजनीतिमा उनी चतुर खेलाडी मानिन्छन् । तर बढी लोभ गर्दा उनी झन् संकटमा फसे । अंकगणितमा उनी फेल भइसकेका छन् । अब उनको पक्षमा ३७ सांसद मात्रै बाँकी छन् । प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र जनमोर्चाका १ सांसद छन् । पद जोगाउन पोखरेलले निकै मेहनत गर्नुपर्ने हुन्छ । २ वर्षे अविश्वास प्रस्ताबबाट बँच्न उनले आफूलाई नयाँ सरकारको रुपमा प्रस्तुत गर्न खोजेका हुन् । संविधानतः नयाँ सरकार बनेको २ वर्ष अविश्वास प्रस्ताव ल्याउन मिल्दैन । त्यसैका लागि राजीनामा दिएर मार्ग प्रशस्त गरे । अविश्वास प्रस्तावको कोर्स नै बन्द भयो । उनले आइतबार बिहानै मन्त्री परिषद् बैठक बसेर विशेष अधिवेशन सुरु नहुँदै अन्त्य गरिदिए ।

Related News

सम्बन्धित समाचार

hero news full width