संसदमा गैरसंसदीय खेल

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
Editorial

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५, २०७७ मा हठात् संसद भंग गरेसँगै नेपाली राजनीतिमा मडारिएको कालो बादल फार्नुको साटो झनै बाक्लिएको छ । सर्वोच्चको फैसलापछि पुनस्र्थापित संसद अनिर्णयको बन्दी भयो । जसको असर प्रदेश तहमा पनि पर्‍यो । अनि अछुतो रहेन गण्डकी पनि । पछिल्ला दिनमा गण्डकीको राजनीतिमा जुन किसिमले बदलाव आएको छ, सबै घटनाक्रम अकल्पनीय छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ मा संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन बुधबारको घटनाक्रमले त झन् सबैलाई अचम्मित बनाइदिएको छ । सरकार जोगाउन सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भएकोभन्दा गण्डकीको अभ्यास भिन्न रह्यो । जसमा जनमोर्चाका सांसद खीमबहादुर शाही मुख्य पात्र बने । दिउँसो पौने २ बजेसम्म अर्थात् संसद बैठक सुरु हुनुभन्दा केहीबेर अघिसम्म ठीक अवस्थामा संसदीय दलका नेता कृष्ण थापासँग फोनमा कुरा हुँदा उनले स्वास्थ्यमा आएको खराबीबारे जानकारी नगराउनु सबैभन्दा शंकाको विषय बनेको छ । सरकारी र निजी स्वास्थ्य संस्थामा मंगलबार एकै दिन स्वाब संकलन गर्नु भोलिपल्ट फरक रिपोर्ट आउनु पनि अर्को शंकाको विषय हो । त्यसमाथि आफ्नै पार्टीका नेता शंकर बराल सांसद शाहीलाई भेट्न पाएनन् । उनकै शब्द सापटी लिने हो भने यो घटनाक्रममा सत्ताधारी दलको षड्यन्त्र लुकेको छ ।

आन्तरिक किचलोले पार्टी जोगाउन पनि नसक्ने र अनि मुलुकलाई अस्थिरताको खाडलमा धकेल्ने अधिकार कसले दियो ?

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले तोके अनुसार बुधबार प्रस्तावमाथि छलफल टुंग्याएर मतदान हुने कार्यसूची थियो । तर घटनाक्रम यसरी विकसित भइदियो कि विशेष अधिवेशन टुंगिएला भनेको छ झन् स्थगित पो भइदियो । स्थगित हुनुअघि बोल्ने सत्तापक्ष र विपक्षका सांसदहरुले तर्कमाथि तर्क राखिरहँदा प्रदेश तहलाई देखिने बनाउन मुख्यमन्त्रीले गरेको कामको भने खुलेरै प्र्रशंसा गरेका थिए । अनि संघीयतालाई सुदृढ बनाउन पृथ्वीसुब्बाले खेलेको भूमिकामाथि प्रश्न उठाउने कमै हुन्छन् । कारण उनले बेलाबेलामा प्रधानमन्त्री ओलीको समेत खुलेरै विरोध गर्छन्, संघीयता सवालमा उदार नभएको भन्दै । त्यति हुँदाहुँदै पनि पृथ्वीसुब्बामाथि प्रदेशस्तरमै अविश्वासको वातावरण सिर्जना भयो । यसको दोष उनीभन्दा पनि बढी ओलीलाई पनि जान्छ । गण्डकी सरकार टिकाउन निर्णायक मानिएको जनमोर्चाले नै समर्थन फिर्ता लिने भएपछि उनले वैशाख १ गते रातिबाट हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरे । र, त्यही अनुसार भयो पनि ।

लोकतान्त्रिक पद्दतिमा अंकगणितको खेल महत्वपूर्ण हुन्छ । त्यही अंकगणितका कारण गुरुङ सरकार बलियो मानिएको थियो । जनमोर्चाकै कारण कुर्सी धरमरायो । अनि कुर्सी जोगाउनकै लागि जनमोर्चाकै सांसदलाई प्रयोग गर्न खोज्दा भने यसबाट गलत सन्देश गएको छ । फेरि यसले गलत राजनीतिक संस्कारको सुरुआत गराएको छ । २०५१ को चुनावपछि जसरी सांसदहरुको खरिदबिक्रीको गलत अभ्यास गरिएको थियो, अहिले पनि त्यसको झल्को आएको छ । हो, नेपाली जनता स्थिरताको पक्षमा छन् । त्यसैका लागि एउटै घोषणापत्र लिएर चुनावमा लडेका एमाले र माओवादी केन्द्रलाई प्रष्ट बहुमत दिएर पठाएका थिए जनताले । तर आन्तरिक किचलोले पार्टी जोगाउन पनि नसक्ने र अनि मुलुकलाई अस्थिरताको खाडलमा धकेल्ने अधिकार कसले दियो ? अहिले यो सवाल गम्भीर बनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width