नवलपुरका अधिकांश पालिकाले गरे विद्यालय बन्द

रामकुमार श्रेष्ठ
वैशाख १३, २०७८
school

नवलपुर । नवलपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्लाका अधिकांश पालिकाहरुका विद्यालय बन्द गरिएको छ ।

कावासोती नगरपालिकामा विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि कावासोतीका विद्यालय एक साताका लागि बन्द गरिएको छ । नगरस्तरीय विपत व्यवस्थापन समितिको बैठकले विद्यालय र हाटबजार शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको नगरस्तरीय विपत व्यवस्थापन समितिका संयोजक प्रेमशंकर मर्दनियाले बताए ।

नगरपालिकाको वडा २ मा रहेको शिव माविमा कक्षा १० पढ्ने विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि कावासोतीका विद्यालय र हाटबजार शुक्रबारसम्मको लागि बन्द गरिएको हो ।

वैशाख २० देखि सुरु हुने विद्यालयस्तरका वार्षिक परीक्षा भने तोकिएकै मितिमा सञ्चालन हुने जनाइएको छ ।
देवचुली नगरपालिकाभित्रका विद्यालय पनि मंगलबारदेखि बन्द हुने भएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठका अनुसार २० गतेदेखि हुने विद्यालयस्तरको वार्षिक परीक्षाको तयारी र कोभिडबाट बालबालिकालाई बचाउन मंगलबारदेखि नगरका सबै विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

यसैगरी, गैँडाकोट नगरपालिकाका शैक्षिक संस्था १५ दिनका लागि बन्द गरिएको छ । नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलका अनुसार वैशाख १४ देखि २८ गतेसम्म नगरका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।

विनयी त्रिवेणी गाउँपालिकाका विद्यालय पनि अर्को सूचना प्रकाशित नभएसम्मका लागि मंगलबारदेखि बन्द गरिने भएको छ ।

नवलपुरमा सोमबार राति ९ बजेदेखि होटल तथा व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्लास्तरको विपद व्यवथापन समितिको बैठकले सोमबार राति ९ बजेदेखि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जनाइन् ।

पहिलो पटक कोरोनाको संक्रमण देखिनासाथ बन्द भएको नवलपुरको भारतसँग सीमा जोडिएको त्रिवेणी नाका कोरोनाको दोस्रो लहर देखिन थालेपछि थप बन्द गरिएको छ । यहाँबाट भारत जाने र नेपाल आउन चाहने सबैलाई प्रवेश निषेध गरिएको हो ।

अस्पतालको अवस्था र पूर्व तयारी
पूर्वी नवलपरासीमा पछिल्लो एक सातामै संक्रमितको दर बढ्न थालेपछि अस्पतालको तयारी तीव्र पारिएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागार्इंका अनुसार जिल्ला अस्पताल मध्यबिन्दु अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष र ६ बेडको आइसियु कक्ष तयारी अवस्थामा राखिएको हो ।

उता, जिल्ला अस्पतालमै थप १२ वेडको आइसोलसन कक्षको तयारी भइरहेको छ ।

सोमबार बसेको नवलपुर जिल्लास्तरको विपद व्यवस्थापन समितिको बैठकले जिल्लाभित्र रहेको पालिकास्तरका अस्पताल सबैलाई पालिका तहमा कम्तीमा ५ देखि १० बेडको आइसोलेसन कक्ष तयारी गर्न निर्देशन दिएको छ ।
छिमेकी जिल्ला चितवनका अस्पताल भरिभराउ हुन थालेका कारण नवलपुरमै आइसियु कक्ष स्थापना गर्नुपर्ने नवलपुरलाई बाध्यता छ ।

पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या ५७ पुगेको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागार्इंका अनुसार तीमध्ये २ जना मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत् छन् । बाँकी होम आइसोलेसनमा छन् । सोमबार २ जना संक्रमित थपिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width