आहा ! फुटबलमा दर्शक

धनबहादुर गुरुङ
चैत्र ३०, २०७७
Aaha rara Darsak

पोखरा । संकटाको सपोर्ट गर्दै शनिबार पोखरा रंगशाला पुगेका पोखरा बगरका विनोद क्षेत्री निकै खुसी थिए । पोहोरसालको लकडाउनअघि पोखरा रंगशालामा गएर फुटबलको मज्जा दिन पाउँदा अझै खुसी देखिन्थे । पोखरामा हुने फुटबल हरेक प्रतियोगिताहरुमा दर्शकको रुपमा उनको सहभागिता रहने गर्छ । शिक्षण पेसामा आबद्ध भएका कारण धेरैजसो प्रतियोगिताको फाइनलमा उनी मैदानमा पुग्ने गर्छन् । पोखरामा सञ्चालन हुने आहारारा गोल्डकप उनी दर्शक भएर जान थालेको लगातार १० वर्ष भयो । शनिबारको संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसनबीचको फाइनल हेर्न उनी साथीहरुसँग रंगशाला पुगेका थिए । ‘मलाई मनपर्ने टिम त बाहिरिसक्यो तर फुटबलप्रेमी भएका कारण संकटालाई सपोर्ट गर्न आएको हुँ,’ उनले भने, ‘सहाराको काम पनि राम्रो छ, मैलै किनेको टिकटको पैसाले केही सहयोग हुन्छ नि ।’ उनले आहाराराको १० औं संस्करणदेखि यताका कुनै संस्करणको फाइनल छुटाएका छैनन् ।

काठमाडौदेखि आएका खेल पत्रकार मनोज थापा पनि आहारारा गोल्डकपमा रिर्पोटिङ गर्दा छुट्टै आनन्द आउने प्रतिक्रिया दिन्छन् । यो गोल्डकप मोफसलमा हुने प्रतियोगितामध्ये उत्कृष्ट प्रतियोगिता भएको उनले प्रतिक्रिया दिए । सहारा क्लबको काम, व्यवस्थापन र पोखराको वातावरणले गर्दा हरेक टिम खेल्न इच्छुक भएको हुँदा पनि यो प्रतियोगिताको छुट्टै महत्व रहेको उनी बताउँछन् । उनी पछिल्लो समय खेल पत्रकारको रुपमा सक्रिय छन् । काठमाडौं बाहिरको प्रतियोगिताको रिपोर्टिङमा जानुपरे उनको पहिलो रोजाइ आहारारा गोल्डकप नै हुन्छ । योभन्दा अघि उनी मनाङ मस्र्याङ्दी फ्यान क्लबका अध्यक्ष थिए । आहारारामा खेल हेर्न उनी काठमाडौंबाट आफ्नै खर्चमा केही साथीहरुलाई लिएर पोखरा आउँथे । आहारारासँग उनको साइनो सातौं संस्करणदेखि गाँसिएको छ । शनिबार फाइनलमा पनि खचाखच दर्शक देख्दा उनले आहारारा प्रति दर्शकको क्रेज झन् बढ्दै गएको बताए ।

फाइनलको दिन करिब ८ हजार दर्शकले प्रतियोगिता अवलोकन गरे

शनिबार पोखरा रंगशालाको पूर्व र पश्चिमतर्फको प्यारापिट भरिभराउ थियो । उत्तर र दक्षिणको प्यारापिटमा पनि केही संख्यामा दर्शक थिए । यसले कोरोना कहरको कठिन समयमा पनि पोखरेली दर्शकमा आहा राराको क्रेज बढेको देखिएको छ । फाइनलको दिन करिब ८ हजार दर्शकले प्रतियोगिता अवलोकन गरिएको प्रतियोगिता संयोजक सुरज गुरुङले जानकारी दिए । फाइनलमा ४ हजार दर्शक टिकट काटेर छिरेका थिए भने ४ हजारको हाराहारीमा सिजनल टिकट लिनेहरु थिए । क्लबले फाइनलको दिन टिकटबाट मात्र २१ लाख १७ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको छ ।

आम्दानीकै हिसाबमा चैत २१ गतेको उद्घाटन खेलमा १ लाख ४६ हजार २ सय ५० आम्दानी भएको थियो । २२ गते १ लाख १७ हजार, २३ गते १ लाख ३२ हजार ६ सय ५०, २४ गते १ लाख ६७ हजार २ सय ८० आम्दानी भएको संयोजक गुरुङले जानकारी दिए । पहिलो सेमिफाइनल खेलमा १ लाख ९ हजार २ सय ९० र दोस्रो सेमिफाइनल खेलमा २ लाख ६७ हजार ७ सय आम्दानी भएको थियो ।

गोल्डकपमा यो वर्ष आम्दानी गतवर्षभन्दा ७ लाखले कम हो । १८ औं संस्करणमा टिकट बिक्रीबाट करिब २८ लाख आम्दानी गरेको थियो । तर १९ औं संस्करणमा सहाराले फाइनलमा खेलमा सबैभन्दा वढी आम्दानी गरेको जनाएको छ । यो वर्ष ८ टिमको मात्र सहभागिता भएका कारण टिकट बिक्री घटेको अनुमान गर्न सकिन्छ । अघिल्ला संस्करणमा १० देखि १२ टिमको सहभागिता हुने र खेल पनि १२ दिनसम्म खेल हुन्थ्यो । कोरोनाकै कारण टिम संख्या कम रहेको संयोजक गुरुङको भनाइ छ । अर्को कारण पोखरेली दर्शक अत्यधिक रोजाइमा परेका टिम मनाङ मस्र्याङ्दी, थ्री स्टारजस्ता टिमहरु पहिलो चरणबाट बाहिरिनुले पनि यो वर्ष टिकट बिक्री घटेको अनुमान गरिएको छ । ‘दर्शकको संख्यामा कुनै कमी छैन,’ उनले भने, ‘कोरोनाको कारण खेल संख्या नै कम भएको कारण टिकटबाट हुने आम्दानी यो पटक कम भएको हो ।’

यो वर्ष आयोजक सहारा क्लब पोखरा, नेपाल एपिएफक्लब, मच्छिन्द्र क्लब, अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन, संकटा क्लब र नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, रुसलान थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबको सहभागिता थियो । बचत भएको उक्त रकम क्लबले सहारा एकेडेमीमा रहेका बालकहरुका लागि खर्च गर्दै आएको क्लबका अध्यक्ष संयोजक गुरुङले जानकारी दिए । पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडमीमा हाल १४ जिल्लाका २४ जना असहाय बालकहरू आश्रित छन् । क्लबले उनीहरुलाई शिक्षादीक्षा निशुल्क प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width