आहाराराले पाउनेछ नयाँ विजेता

धनबहादुर गुरुङ
चैत्र २८, २०७७
Aaha Rara Match Conference Photo

पोखरा । आहारारा गोल्डकपको २ दशकको श्रृंखलामा शनिबार नयाँ टिम विजेता हुँदैछ । सधैँजसो मनाङ मस्र्याङ्दी, पुलिस, थ्रिस्टार लगायत टिम वरिपरि घुमेको ट्रफी यो वर्ष नयाँ टिमले चुम्ने निश्चित छ ।

पूर्वविजेता तथा फाइनल प्रवेशी टिम बाहिरिएपछि पोखरा रंगशालामा संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसन उपाधिका लागि आमनेसामने हुन लागेका छन् ।

अफ्रिकन टिम यसअघि विजेता बने पनि क्यामरुनको अफ्रिकन रुट्स नयाँ क्लब हो । उता ५ पटक सहभागितामा पहिलो पटक संकटा फाइनल पुगेको हो । संकटा यसअघि क्वाटरफाइनलभन्दा माथि उक्लिन सकेको थिएन ।

फाइनलका लागि भिड्दै गर्दा दुवै टिमको लक्ष्य पहिलो पटक उपाधिमा जित्नु हुनेछ । शुक्रबार प्रि–म्याच कन्फरेन्समा टिम प्रशिक्षक र कप्तानले उपाधि आफ्नै पक्षमा आउने दाबी गरे ।

पाहुना टालीका प्रशिक्षक सेन्जे बोरिसले फाइनल खेल जित्नकै लागि खेल्ने बताए । संकटा सजिलो टिम नभएको उनको भनाइ छ । उनले आहारारा गोल्डकप नेपालकै प्रतिष्ठित प्रतियोगिता भएको बताउँदै उनले भने, ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले सबैभन्दा राम्रो खेल्ने छौं ।’

उता, संकटाका प्रशिक्षक सल्यान खड्कीले टिमको लक्ष्य उपाधि जित्ने रहेको बताए । ‘पाँच पटक प्रयास गर्दा फाइनल पुगेका छौँ, उपाधि उचाल्ने प्रयास रहने छ,’ खड्कीले भने, ‘२ लक्ष्य लिएका आएका थियौं,एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि (शनिबार) हुन्छ ।’

फाइनलमा संकटा क्लब र अफ्रिकन रुट्स एसोसिएसन उपाधिका लागि आमनेसामने हुँदै

संकटाका कप्तान सरोज दाहालले सहाराबाट खेल्दा उपाधि जितेकोमा अबको योजना संकटालाई उपाधि दिलाउने भएको बताए । आयोजक सहारा क्लबले १२ आंै संस्करणको उपाधि जित्दा दाहाल टिमका मुख्य खेलाडी थिए ।

क्वाटरफाइनलमा साविक विजेता मनाङ मस्र्याङ्दीलाई १–० र सेमीफाइनलमा एपिएफलाई २–० पराजित गर्दै संकटा उपाधि नजिक पुगेको हो । यस्तै, पहिलो सहभागितामै फाइनल यात्रा तय गरेको अफ्रिकन रुट्सले दोस्रो क्वाटरमा मच्छिन्द्रलाई २–१ र सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।

इतिहास हेर्दा विभागीय पुलिसले क्याराभानसहित तथा मनाङले समान ६ पल्ट उपाधि जितेका छन् भने थ्रिस्टार ५ पटकको च्याम्पियन हो । यसबाहेक आयोजक (१२ औं संस्करण) र अफ्रिकन युनाइटेड क्लब (चौथो संस्करण) का विजेता हुन् । फाइनल पुग्ने टिममा मनाङ, पुलिस, थ्रिस्टार, आर्मी, सहारा, जावलाखेल, फ्रेन्ड्स, अफ्रिकन युनाइटेड, एपिएफ क्लब छन् । यीमध्ये मनाङ ११, पुलिस ९, थ्रिस्टार ६, आर्मी ४ र सहाराले २ पटक फाइनल यात्रा तय गरेका छन् । जावलाखेल, फ्रेन्ड्स, अफ्रिकन युनाइटेड, एपिएफ क्लब १/१ पटक फाइनल पुग्ने टिम हुन् ।

उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ साथमा ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजक सहरा क्लब पोखराले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width