पोखराबाट उदाएकाे क्लब, असहायकाे सहारा

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७७
sahara 1

पोखरा । अव्यवस्थित थियो बसपार्क । वरपरका युवाहरु भेला भए, टिकट काउन्टर बनाए । ट्रयाक बनाए । व्यवस्थित शौचालय बन्यो । सोंच र सपना बढ्दै गयो । अनि जन्म्यो सहारा क्लब । बसपार्कको खाल्डो पुर्न जम्मा भएको एउटा समूह फुटबल क्लब बन्ला र प्रदेशकै अगुवाई गर्ला भन्ने सायदै सोचेका थिए । त्यही क्लब, जसले आज पोखरा र नेपालमै मोफसलको फुटबलमा नेतृत्व गरिरहेको छ ।

चौरमा जन्मिएको सहारा क्लब अहिले झाँगिएको छ । क्लबले २० वर्षदेखि लगातार गर्दै आएको फुटबल प्रतियोगिता पोखरा मात्र होइन नेपालकै ‘ब्रान्ड’ हो । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौं’ मन्त्रका साथ स्थापित क्लब देशको सीमा नाघेर विदेशसम्म फैलिएको छ ।

मोफसलकै प्रतिष्ठित सहारा क्लब पोखरा सामान्य बुझाइमा एउटा क्लबमात्रै हो । सहारा, फुटबल र सामाजिक कार्य हेर्दा लाग्छ, यसको योगदान अतुलनीय छ । पोखराको अर्को चिनारी आहारारा गोल्डकप हो । जसको १९ औं संस्करण शनिबारदेखि पोखरा रंगशालामा शुभारम्भ हुँदैछ ।

अनवरत् यात्रामा मोफसलबाट सहाराले फुटबलमा जे जन्मायो, त्यो देश–विदेशमा सबैको सामु छर्लंग छ । पर्यटकीय नगरी पोखरालाई फुटबलको केन्द्रबिन्दु बनाउँदै खेल सहरको रुपमा पर्यायवाची थप्न सहारा क्लब, आमपोखरेली, शुभचिन्तक एवं सहयोगीको योगदान सदा अविष्मरणीय छ ।

२०५५ भदौ ३० मा स्थापित क्लबको मूल उद्देश्य युवाजमात्लाई विकृति एवं विसंगतिबाट अलग राखी स्वस्थ र स्वावलम्बी समाज निर्माण गर्ने हो । फुटबल प्रतियोगितामार्फत सामाजिक सेवामा जुट्ने योजनाको सूत्रपात पोखरा बसपार्कमा मात्र सीमित रहेन । संस्थापक वसन्त थकालीपछि विक्रम थकाली, वीरभद्र आचार्य र केशवबहादुर थापाको नेतृत्व २२ वर्ष नाघिसक्दा सहारा क्लब बेलायत, हङकङ र अष्ट्रेलियासम्म पुगेको छ ।

नव प्रतिभावान् खेलाडीलाई प्लेटफर्म उपलब्ध गराई सामाजिक सेवामा सहारा समर्पित छ

क्लब संस्थापक अध्यक्ष वसन्त थकालीका अनुसार सुरुवातमा पुरानो बसपार्क व्यवस्थित गर्न टिकट काउन्टर पुनर्निर्माण गरी यात्रुलाई आवत्जावत्मा सहज बनाउन यातायात व्यवस्थित गर्न ट्रयाक निर्माण, विद्युत् जडान, गहिरो खाडल पुर्ने काम गरेको क्लबले बसपार्कमै २०५६ सालमा सार्वजनिक शौचालय निर्माण गर्‍यो । स्नानगृह सहितको सो अपांगमैत्री शौचालय बसपार्कमा देखिएको टड्कारो आवश्यकता पूर्ति गर्न मद्दत पुर्‍याएको छ । क्लबले पोखरा–९, बसपार्कमै २०५९ सालमा बहुउद्देश्यीय भवन निर्माण समेत गर्‍यो । बसपार्कमै क्लबका ३ भवन छन् भने पोखरा–१७, दोबिल्लामा २ करोड रुपैयाँ लागतमा सुविधासम्पन्न सहारा एकेडेमी सञ्चालित छ । माथिल्लो तला समेत थप भएकोले यसको लागत बढेर २ करोड ५० लाख पुगेको क्लब अध्यक्ष केशवबहादुर थापाले बताए ।

पोखराबाटै राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले २०५८ सालमा सहारा फुटबल एकेडेमी सञ्चालन भयो । व्यावसायिक फुटबलको विकास गर्ने गरी मोफसलमै पहिलो पटक ११ जना खेलाडीलाई क्लबले अनुबन्धन गरेको थियो । २०६१ सालमा कठिन परिस्थिति तथा विपन्न वर्गका २५ बालक छनोट गरी सहारा एकेडेमीमा फुटबल प्रशिक्षणसहित आवासीय सुविधा दिइयो । २०६३ सालमा दोबिल्लामा २६ रोपनी जग्गा खरिद गरी छुट्टै खेल मैदान सहितको सुविधासम्पन्न सहारा एकेडेमी २०७१ सालमा निर्माण पूरा गरिएको थियो । एकेडेमीमा हाल तेस्रो ब्याचको रुपमा १४ जिलाका २४ जना बालक हुर्किरहेका छन् । तीमध्ये कक्षा १२ पढ्ने ७ जना छन् । उनीहरु अर्को वर्षदेखि बिदाइ हुनेछन् । कक्षा ११ पढ्ने ८ जना र बाँकी कक्षा १० पढ्नेहरु क्रमशः पास आउट भइसकेपछि क्लबले पुनः चौथो व्याचको रुपमा बालकलाई आश्रय दिने जनाएको छ ।

यसरी विपन्न तथा कठिन परिस्थितिका उनीहरुलाई क्लबले आवासीय सुविधा, पढाइ सँगसँगै फुटबल प्रशिक्षण दिँदैआएको छ । यसको लागि सहाराले वार्षिक २५ देखि २८ लाख रुपैयाँसम्मको खर्च थेग्दै आएको बताउँछ । क्लबको कार्यालय प्रयोजन तथा एकेडेमीमा गरी १२ कर्मचारी छन् । बर्सेनि हुने फुटबल प्रतियोगिता, देउसीभैलो, हङकङ तथा बेलायतमा हुने च्यारिटी सो, पृथ्वी राजमार्ग बस सञ्चालक समितिमार्फत चल्ने बस, सार्वजनिक शौचालय र दाताको सहयोगबाट एकेडेमी चलेको क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले बताए ।

क्लबले सञ्चालन गरेको सहारा एकेडेमीबाटै प्रसिद्ध फुटबल खेलाडी अनिल गुरुङको उदय भयो । उनी सहारा फुटबल एकेडेमीको पहिलो व्याच हुन् । सहारा एकेडेमीको दोस्रो व्याचका अजित भण्डारी, नवीन श्रेष्ठ, सुशील लामा राष्ट्रिय खेलाडीको रुपमा चम्किए । एकेडेमी दीर्घकालीन रुपमा सञ्चालन गर्न सहारा एकेडेमी अक्षयकोषमा हालसम्म २ करोड रुपैयाँ संकलन भइसकेको क्लब महासचिव अधिकारीले बताए । साथै स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकले बरोबर सहयोग गरिरहेका छन् । हिमश्री फुड्स प्रालि मुख्य प्रायोजकको रुपमा बलियो टेको बनेको छ । क्लब पूर्व अध्यक्ष वीरभद्र थकालीले भने, ‘नव प्रतिभावान् खेलाडीलाई प्लेटफर्म दिई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको खेलाडीको पहिचान दिलाउनु, पोखरालाई खेलपर्यटन सहरको रुपमा स्थापित गराउनु हाम्रो उद्देश्य हो ।’

अनवरत् प्रतियोगिता
सहाराले जसरी कठिन तथा विपन्न वर्गका बालकलाई आश्रय दिन्छ, त्यस्तै कठिन परिस्थिति प्रतियोगिता सञ्चालन गर्दा भोग्दै आएको छ । तैपनि पोखरा रंगशालामा हरेक वर्ष फुटबलको प्यास मेटाउन आयोजक उद्दत छ । २०५७ सालमा प्रथम कास्की जिल्लास्तरीय अन्तरक्लब लिग कम नकआउट सहारा कप फुटबल प्रतियोगिता गरेको क्लबले अर्को वर्ष २०५८ सालमा क्याराभान गोल्डकप गर्‍यो। जसबाट फुटबलप्रेमीको लागि घरेलु मैदानमै अन्तर्राष्ट्रियस्तरको फुटबल खेलको भोक मेटाएको थियो । क्लबले आहा गोल्डकपसहित पछि आहाराराको नाममा सञ्चालन गर्दै आएको हो । २ दशकदेखि प्रतियोगितालाई जस्तोसुकै कठिन अवस्थामा पनि रोकेको छैन ।

गत वर्ष प्रतियोगिता सुरु हुन लाग्दा विश्वभर महामारीको रुपमा कोरोना भाइरस फैलिएको थियो । तैपनि स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्‍यो । ८ टिमले भाग लिएको प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दीले जित्यो भने नेपाल पुलिस क्लब उपविजेतामा सीमित बन्यो । १ वर्ष कटिसक्दा पनि महामारी रोकिएको छैन । सरकारले आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । कठिन परिस्थितिबीच चैत २१ देखि २८ सम्म चल्ने प्रतियोगितामा क्लबले विगतमा झैं स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सम्पन्न गर्ने जनाएको छ ।

सहाराले विगतमा पनि सशस्त्र द्वन्द्व, बन्द, हड्ताल, चक्काजाम, भूकम्प, नाकाबन्दी, आर्थिक संकट नभोगेको होइन । २ वर्षअघि पनि रंगशाला निर्माणक्रममा प्यारापिटबिनै पनि भुइँमा दर्शक राखेर खेल भइछाड्यो । सहारामा चाखलाग्दो टिम स्प्रिटसँगै ८ टिमको रोमाञ्चकारी घम्साघम्सीले खेल सफल हुने आमपोखरेलीको विश्वास छ । उद्घाटनमा आयोजक र नेपाल एपिएफ क्लब मैदान उत्रिने छन् । अन्य टिममा मच्छिन्द्र, अफ्रिकन रुट एसोसिएसन (क्यामरुन), संकटा, मनाङ, थ्रिस्टार र नेपाल पुलिस छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्ने छ ।

हामीले सहकार्यमात्र गर्‍यौं। दर्शक, मुख्य प्रायोजक, प्रायोजकको सहयोगले साँच्चिकै पोखराको ब्रान्ड बनाउन मद्दत पुर्‍याउनुभयो । प्रतियोगिताबाट पनि सामाजिक कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न सक्यौं । पोखरालाई एक किसि

केशवबहादुर थापा
अध्यक्ष, सहारा क्लब पोखरा
….
विदेशमा रहने अधिकांशलाई आफ्नो गाउँठाउँमा केही न केही गरौं भन्ने चाहना हुन्छ । सहारा क्लब पोखराले गरेको गतिविधि हामीले विगतदेखि नै नजिकबाट नियालिँरहेका छौं । क्लबले कठिन परिस्थिति तथा विपन्न वर्गका बालकलाई दिएको सहाराले हामीलाई पनि केही न केही गर्ने बर्सेनि चाहना हुन्छ । सहारा युकेमा झन्डै १ हजार सदस्यमध्ये १ सय ५ गोल्ड मेम्बर छौं । गोल्ड मेम्बरले हरेक महिना अनिवार्य २५/२५ पाउन्ड दरले रकम उठाउँछौं । संकलित रकम सहारा क्लबको जस्तै पोखरा आसपासमा हुने विभिन्न ठाउँमा सहयोग गर्दै आएका छौं ।कमल गुरुङ
कोअर्डिनेटर, सहारा युके


फुटबलको सफल प्रतियोगिता गर्न सक्ने पर्याय नै सहारा क्लब बनेको छ । सहाराको जुन क्षमतालाई हेरेर, दर्शकको पनि आशा बढेको छ । एउटै ढुंगाले २ चरा मार्ने भन्ने उक्ति सहारामा ठ्याक्कै लागु हुन्छ । क्लबले एकातिर प्रतियोगितालाई नियमित सञ्चालन गरिरहेको छ भने अर्कोतर्फ सामाजिक कार्य पनि गरेको हामीले पाएका छौं । जसले राम्रो काम गर्छ, त्यसप्रति समाजको आशा बढेको हुन्छ । सहाराले आफ्नो एकेडेमीमा आश्रित बालकबाहेक अन्यलाई पनि फुटबल प्रशिक्षण दिँदै नयाँ नयाँ खेलाडी उत्पादन गर्नतर्फ लाग्नुपर्छ ।

तेजबहादुर गुरुङ
सदस्यसचिव,
गण्डकी प्रदेश खेलकुद परिषद्

Related News

सम्बन्धित समाचार

hero news full width