‘मलाई गणना गर : मलाई समावेश गर’

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७७
Apanga Photo

पोखरा। राष्ट्रिय अपांग महासंघ नेपाल, गण्डकीको आयोजनामा प्रदेशमा अपांगता समावेशी जनगणनाको लागि अभियान सुरु भएको छ ।

‘मलाई गणना गर : मलाई समावेश गर’ भन्ने नारा सहित शुक्रबार केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशक ढुण्डिराज लामिछाने र राष्ट्रिय अपांग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माको उपस्थितिमा अभियान सुरु गरिएको हो ।

राष्ट्रिय जनगणना–२०७८ जनगणनामा अपांगता भएकाहरुको यकिन तथ्यांक पत्ता लगाउन दक्षिण कोरियाको ‘मेक द राइट रियल फन्ड’ को सहयोगमा अभियान सुरु गरिएको महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले जानकारी दिए ।

गण्डकीमा बसोबास गर्ने अपांगता भएका व्यक्तिको यकिन तथ्यांक दिन कार्यक्रम गरिएको उनको भनाइ छ । यो अभियान दक्षिण कोरियाको ‘मेक द राइट रियल फन्ड’ बाट १८ देशका ४६ प्रस्तावमध्ये उत्कृष्ट २ छनोट भई सुरु भएको हो । अभियानले प्रदेश, जिल्ला, पालिका र वडामा अपांगता भएकाहरुको जनगणनामा सहभागिताका लागि वकालत गर्ने, अपांगता भएकालाई प्रशिक्षक बनाउने लगायतको काम गर्नेछ । ११ प्रदेशमा २२ जना फोकलपर्सन मनोनयन गरी परिचालन गरिने, सरोकारवालालाई म्यासेज मार्फत स्मरण गराउने काम पनि गर्ने अध्यक्ष शर्माले जानकारी दिए ।

राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले राजनीतिक पार्टी र मिडियाको पहँुचमा अपांग पुग्न नसकेको बताए । अपांगता सम्बन्धी अधिकारका लागि व्यक्ति संख्या नै आवश्यक पर्ने देखिएको कारण यो अभियान नेपालमा पहिलो पटक गण्डकी प्रदेशबाट सुरुवात गरिएको उनको भनाइ छ ।

२०७८ सालमा हुने जनगणनामा अपांगता भएका व्यक्ति नछुटुन् भनी केन्द्रीय तथ्यांक विभागले त्यही अनुसार काम सुरु गरेको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यसपालिको जनगणनामा ५० हजार जनशक्ति खटिने छन् । जसमध्ये ३९ हजार गणक रहने छन् । ८ हजार सुपरिवेक्षक र बाँकी व्यवस्थापकीय कर्मचारी खटिनेछन् । कास्कीमा सुपरिवेक्षक १ सय ९० र गणक ८ सय २५ जना खटिने भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width