कोरोनाको पीडा भुलाउँदै शुरु भयो राष्ट्रिय महिला तथा पुरुष भलिबल   

रासस
माघ २७, २०७७
RK-Pokhara

पोखरामा मङ्गलबारदेखि शुरु भएको टाइगरकप राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटनमा प्रतिस्पर्धा गर्दै सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबका महिला खेलाडी । नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी पोखरामा खेलकूदका गतिविधि बढेका छन् । तस्वीरः राधिका कँडेल, रासस

कास्की, २७ माघ । पोखरामा आजदेखि राष्ट्रियस्तरको ‘टाइगर कप राष्ट्रिय महिला तथा पुरुष आमन्त्रित भलिबल’ प्रतियोगिता शुरु भएको छ । कोरोना महामारीबाट सिर्जित असामान्य परिस्थितिबाट देश सहज बन्दै जाँदा पीडालाई भुलाउँदै खेलकुद नगरी पोखरामा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु भएको हो । यससँगै कोरोनापछि ठप्प यहाँको खेल क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ ।

गत वर्ष चैत पहिलो सातादेखि खेलकुद प्रतियोगिता रोकिएकामा टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको भलिबल प्रतियोगिता नै कोरोनापछिको पहिलो प्रतियोगिता हो । लामो समयपछि खेलकुद शुरु भएकाले पनि उद्घाटनको पहिलो दिन रङ्गशालामा दर्शक उल्लेख्य सङ्ख्यामा उपस्थित भएर भलिबलको मजा लिए ।

प्रतियोगिताको आकर्षण बढाउन र खुशीयाली मनाउन हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियोे । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको पहिलो दिनको खेलमा महिलातर्फ नेपाल पुुलिस क्लब र न्यू डाइमण्ड विजयी बने भने पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

नेपाल पुुलिस क्लबले सोझो सेटमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको हो । पुलिसले सशस्त्रलाई २६–२४,२५–२२,२५–११ अङ्कले पराजित गरेको डाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिनुभयो । यसैगरी न्यू डाइमण्डले २५–१३,२२–२५,१८–२५,२७–२५ र १५–१३ अङ्कसहित ३–२ को सेटमा त्रिभुवन आर्मीमाथि जीत हासिल गरेको छ । पुरुषतर्फका प्रतिष्पर्धामा गण्डकी प्रदेशलाई नेपाल पुलिस क्बले सोझो सेटमा पराजित गर्न सफल भयो । पुलिस क्लबले २७–२५,२१–२५ र २५–२२ अङ्कले गण्डकीलाई पराजित गरेको हो ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, पदक, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०/२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए।

खेलकुद विकासको दिगो योजना बनाउँछौँः मुख्यमन्त्री गुरुङ    

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई खेलकुदको ‘हब’ बनाउने लक्ष्यअनुसार सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए ।

पोखरामा मङ्गलबारदेखि शुरू भएको टाइगर कप राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिताको बलमा हस्ताक्षर गरेर उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्वीरः राधिका कंडेल, रासस

नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै उहाँले प्राकृतिक र साहसिक पर्यटनको गन्तव्य गण्डकी प्रदेशमा खेल पूर्वाधार निर्माण गरी खेलाडी उत्पादन गर्ने काममा प्रदेश सरकारले योजना बनाइरहेको उनको भनाइ छ । उनले भने, “पोखरा रङ्गशाला खेल पूर्वाधारले स्पोर्टस भिलेजका रुपमा अघि बढिरहेको छ । सुन्दर र साहसिक पर्यटनको केन्द्र गण्डकी प्रदेशमा खेलकुद विकासका लागि दिगो योजनासहित अघि बढ्दै छौँ ।”

प्रदेश सरकारले बजेट कार्यक्रममा उल्लेख गरेको अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्श्यीय रङ्गशाला बनाउनका लागि जमीन खोजी गरेपनि उपयुक्त जमीन नपाउँदा प्रक्रिया अघि बढ्न नसकेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले सबैको साथ र सहयोगबाट १३औँ दक्षिण एशियाली खेलकुदका आठ खेल पोखरामा भव्यताका साथ सम्पन्न भएकाले आगामी नवौँ राष्ट्रिय खेलकुदका लागि पनि सहयोग आवश्यक रहेको बताए।

नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबल खेल विकासमा राज्यको लगानी नभएको भन्दै आधारभूत खेल संरचना निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो । प्रतियोगिताका प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले नेपालको राष्ट्रिय भलिबल टोलीमा गण्डकी प्रदेशबाट प्रभाव रहे पनि पछिल्लो समय नयाँ खेलाडी उत्पादन हुन नसकेको तर्फ चिन्ता व्यक्त गर्दै प्रदेश र स्थानीय सरकारले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width