गाेदाममै थन्कियाे नवलपुरकाे पिसिआर मेसिन

रामकुमार श्रेष्ठ
माघ २५, २०७७
pcr machine

नवलपुर । संघीय सांसद तीलक महत ४ महिनाअघि कोरोना परीक्षण गर्ने पिसिआर मेसिन लिएर नवलपुर आए । जतिबेला नवलपुरमा कोरोना संक्रमण दर उच्च थियो । नवलपुरबासीलाई स्वाब परीक्षण गर्न पोखरा, हेटौडा र चितवन पुग्नुपर्ने बाध्यता भएकाले जिल्लामै पिसिआर परीक्षणको व्यवस्था गर्नुपर्ने माग बढेपछि संघीय सांसददेखि प्रदेश सांसदहरु नवलपुरमै पिसिआर मेसिन राख्नुपर्नेमा एकमत देखिए ।

कोरोना संक्रमण बढ्दै गएपछि नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पिसिआर मेसिन जडान गर्ने सरकारको निर्णयपछि गत कात्तिक १ गते पिसिआर मेसिन आइपुग्यो । पिसिआर मेसिन आएपछि संघीय सांसद महतसहित गण्डकी प्रदेशका सबै सांसदहरुले आफूहरुको संयुक्त पहलले मेसिन आइपुगेको भन्दै जिल्लाबासीले पिसिआर परीक्षण गर्न बाहिर जानुनपर्ने र एकै दिनमा रिपोर्ट आउने भन्दै खुसी बाँडे ।

मध्यबिन्दु जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनालले पिसिआर मेसिन प्राप्त भएपछि अस्पतालको जिम्मेवारी समेत बढेकाले अब यसलाई सञ्चालन गर्न सबैको सहयोग आवश्यक भएको बताए । उनले मेसिन राख्नका लागि आवश्यक भौतिक पूर्वाधार कोठा निर्माण भरहेकाले अबिलम्ब सञ्चालन गरिने जनाए ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशवप्रसाद चापागाईँले आवश्यक प्राविधिक तथा पूर्वाधार निर्माण गरी झण्डै १ महिनासम्ममा पिसिआर मेसिन प्रयोगमा ल्याउन सकिने बताए । तर पिसिआर मेसिन हस्तान्तरण भएको ४ महिना पुग्न लाग्दा पनि जडान हुन सकेको छैन । पिसिआर मेसिन अझैसम्म पनि जिल्ला अस्पतालको गोदाममै थन्किएको छ ।

यस बीचमा कोरानाविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ आएर पनि पहिलो चरणमा पहिलो खोप अभियान पनि शनिबार सकिएको छ । जिल्लामा १ हजार २३ जनालाई पहिलो चरणको खोप दिने सूचिअनुसार ११७ भाएल कोभिडविरुद्धको ‘कोभिसिल्ड’ भ्याक्सिन उपलब्ध गराइएको थियो ।

गण्डकी प्र्रदेशको दक्षिणी भारतसँगको सीमावर्ती जिल्ला नवलपुरमा मात्र होइन, बागलुङको धौलागिरी अस्पतालको अवस्था पनि उस्तै छ । सरकारले धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने गत असार १२ गते निर्णय गरेको थियो । गएको असारमै धौलागिरी अस्पतालमा कोरोना भाइरस पिसिआर परीक्षणको अनुमति दिए पनि पिसिआर परीक्षण अझै हुन सकेको छैन । त्यतिबेला स्वाब पोखरा ल्याएर पिसिआर परीक्षण गरी रिपोर्टका लागि १५ दिन कुर्नुपर्ने अवस्था थियो ।

धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको ३ महिनापछि गत कात्तिक २७ गते पिसिआर मेसिन खरिदका लागि बोलपत्र आह्वान गरियो तर टेन्डर खोलिएको २ महिना बढी हुँदा पनि पिसिआर प्रयोगशाला निर्माणको अझै टुंगो लागेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width