‘नो केन’ले सुनसान चिनी उद्योग   

रासस
माघ १७, २०७७
sugar mills

महोत्तरी, १७ माघ । माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम) ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव) ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो ।

चिनी उद्योगमा चाहिँदो मात्राको उखु नपुग्नुलाई ‘नो केन’ भन्ने गरिन्छ । गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अहिले यही अवस्था गुजारी रहेको छ । केही वर्ष पहिले मौसम (उखु पेलेर चिनी बनाउने बेला) मा ५८ लाख क्विन्टलसम्म उखु पेलेर कीर्तिमान बनाएको उद्योग अहिले उखुकै अभावमा एक/दुई दिन बिराएर बन्द गर्नुपर्ने बनेको छ । क्रसिङ मौसमा विगतमा दैनिक २० घण्टासम्म चल्ने गरेको यो उद्योग अहिले ‘नो केन’ कै मारले मुश्कीलले १०/११ घण्टामात्र चल्ने गरेको उद्योग प्रशासनले नै स्वीकार गरेको छ ।

उद्योगले यसपाली पुसको पहिलो सातामा क्रसिङ सञ्चालन शुरु गरेको हो । यसअघि कटान चलान नपाएको भन्दै गुनासो गर्ने किसान, उखु तौलमा हुने भिडभाड र उद्योग परिसरमा सयौँको सङ्ख्यामा तौलको पालो पर्खेर रहेका उखु गाडी स्वात्तै घटेपछि उद्योग परिसर सुनसान बनेको उद्योग नजिकका बासिन्दा बताउँछन् ।

तराईमा नगदेबाली भनिने उखुको मूल्य कहिल्यै समयमा नपाएपछि किसानले चार/पाँच वर्षयता खेती घटाउँदै लगेका छन् । उखुको मूल्य निर्धारणमा बर्सेनी लामो समयसम्म किचोला हुनु, खेती गर्न सुलभ ऋण र प्राविधिक सहयोग नपाउनु र उखुको भुक्तानीका लागि बर्सेनी आन्दोलन नै गर्नुपर्ने अवस्था बन्नुले किसान उखु खेतीको विकल्पतर्फ लागेका गौशाला–१ का किसान धनलाल साशङ्कर बताउछन् ।

“मरीमरी खेती गरेर उव्जाएको फसलको न आपूmले मूल्य भन्न पाइन्छ, न चाहेका बेला पैसा नै”, उनले भने, “उल्टै प्रत्येक सालजस्तो आन्दोलनमा पो उत्रनुपर्छ, अनि उखु गर्न कसरी जाँगर चलोस् ?” पाँच वर्षअघिसम्म आफ्नो सगोल परिवार हुँदा पाँच÷छ बिघासम्म गरिएको उखुखेती अब गर्न छाडिएको साशङ्करको भनाइ छ ।

यसपाली त उखु भएका किसानले आफैँ पेलेर मिठ्ठा (सख्खर) बनाउने र कतिपयले सख्खर बनाउने क्रसर उद्योगलाई उखु दिएपछि चिनी उद्योग परिसर सुनसान बनेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउछन् ।

उखुको लिन लामो समय भुल्नुपर्ने, सरकारले दिने प्रक्रिया झञ्झटिलो हुनु, उखुखेतीमा बर्सेनी लागत बढ्दै जानु, सिञ्चाइको व्यवस्था नहुनु, समयमा मलखाद तथा बीउ नपाउनु र लागत अनुपातमा मूल्य नबढेपछि उखुखेती जिल्लामा झण्डै ५० प्रतिशत घटेको उनको भनाइ छ । विगतमा एक समय १८ हजार बिघासम्म पुगेको उखुखेती यसपाली घटेर छ हजार ५०० बिघामा झरेको उनले बताए।

खासमा उखु किसानका मर्काबारे राज्यपक्ष उदासिन भएपछि अर्को वैकल्पिक खेतीमा लाग्नै पर्ने बाध्यताले यो खेती स्वात्तै घटेको उनले जानकारी दिए। उद्योगमा उखुको अभाव भएपछि भने उद्योगले अहिले नगदै उखु किन्ने नीति बढाएको छ । उद्योग सञ्चालन गर्न उखु लगातार अपुग भएपछि उद्योगका कर्मचारी झोलामै रकम बोकेर खेतखेत चाहार्न लागेका छन् । किसानलाई उखुको भुक्तानी प्रकृया अत्यन्त सरल बनाएर तौल भएको १० दिनभित्रै किसानको खातामा रकम जम्मा गर्ने व्यवस्था भएको उद्योग प्रशासनले जनाएको छ ।

यस क्रममा यसपालीकै जारी मौसममा अहिलेसम्म ३० करोड रुपैयाँ किसानको खातामा पठाइएको उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासको भनाइ छ । यसपाली गत पुस पहिलो साता सञ्चालन भएको उद्योगले अहिलेसम्म (१५ माघसम्म) १० लाख १० हजार क्विन्टल उखु क्रसिङ गरेको महाप्रबन्धक दासले जानकारी दिए।

उद्योगले यसपाली उखु खरीद र भुक्तानी केही सहज बनाएको किसानले पनि स्वीकार गरेका छन् । तर उद्योगले यो नीति बनाउन ढिलाइ गरेको र अब सधैँ यसैअनुसार हुने विश्वास आफूहरुलाई दिन नसकेपछि किसान उखुखेतीबाट हच्कनु परेको बताए।

किसानमा उखुखेतीको आकर्षण घट्दै गएपछि ‘नो केन’कै कारणले विगत चार/पाँच वर्षयता क्रमशः बन्द हुँदै गएका छन् । खासमा किसानको रकम भुक्तानी नगर्दा उखु पाउन छाडेपछि मुलुकका चार वटा चिनी उद्योग बन्द भएका नेपाल उखु उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष सर्लाहीका किसान कपिलमुनी मैनाली बताउछन्। “मुलुकका १४ चिनी उद्योगमध्ये चार वटा त गत वर्षदेखि नै बन्द छन्”, उनी भन्छन्, “अहिले सञ्चालनमा रहेका १० उद्योगलाई पनि उखु अभाव भएको छ ।”

उखुको अभाव भएपछि सञ्चालनमा रहेका सबैजसो उद्योगले अहिले खेतखेतमै पुगेर उखु लिने गरेका छन् । उखु अभावले दैनिकरूपमा एक लाख क्विन्टल उखु क्रसिङ क्षमताका उद्योगले अहिले मुश्कीलले १० हजार क्विन्टल उखु क्रसिङ गर्ने गरेका पाइएको उनको भनाइ छ ।

अहिले ‘नो केन’ ले धराशायी बन्दै गएका उद्योगलाई फस्टाउन र उपयुक्त सुविधा नपाएर जिङ्राएका किसानलाई उखुखेतीमा उत्साहित गर्न सकिने नेपाल उखु उत्पादक सङ्घको ठहर छ । किसानलाई खेतीदेखि मूल्य निर्धारण र भुक्तानीसम्मका प्रक्रियामा सुविधा बढाएर आस्वस्थ बनाउन सके अझै उखुखेती फस्टाउनसक्ने उनी बताउछन्। यसैगरी किसान उत्साहित भएर उत्पादन बढाएसँगै उद्योगको प्रगति अघि बढ्ने उनको विश्वास छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads