कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै

Avatar आदर्श समाज सम्वाददाता
माघ १६, २०७७
Kaligandaki coridor

काठमाडाैं ।  थोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र अघि बढाइरहेको छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्र अघि बढाइएको छ ।

दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका स्थानमा कालोपत्र अघि बढाइएको उत्तर–दक्षिण तथा व्यापारिकमार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ ।

चार सय १७ किमी लम्बाइको यो करिडोरमा अहिले गैँडाकोटबाट राम्दीसम्म १३२ किमी सडक एक्जिम बैंकको ऋण सहयोगमा निर्माण अघि बढाइएको छ । पूरै करिडोरमा गरी १०० किमीबाहेक अरु सडक कालोपत्र गर्न लागिएको निर्देशनालय प्रमुख शिवप्रसाद नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपय सडक निर्माण भइरहेका छन् भने कतिपय कालोपत्रका लागि ठेक्का प्रक्रियामा छन् ।” गैँडाकोटबाट राम्दीसम्मको सडकमा चालु आवमा ३१ किमी ग्राभेल र त्यसमध्ये १० किमी सडक कालोपत्र भएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । गत वर्ष पुसमा सडक निर्माणका लागि भारतीय कम्पनीलाई जिम्मेवारी दिइएको थियो । राम्दीबाट कोरोलासम्म नेपाल सरकारको लगानीमा निर्माण भइरहेको निर्देशनालयका प्रमुख नेपालले बताउनुभयो ।

यो खण्डमा चालु आवमा छ किमीसमेत गरी अहिलेसम्म २१ किमी ग्राभेल भएको छ । राम्दीबाट रिडीसम्म ३० किमी सडक कालोपत्रका लागि बहुवर्षीय सहमति मागिएको छ । करिडोरमा अझैसम्म ४५० मिटर सडकको ट्रयाक खुलिसकेको छैन र सो सडक यही खण्डमा पर्छ । कालोपत्रको प्रक्रिया अघि बढ्दासम्म ट्रयाक खुलिसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सेनाले ट्रयाक खोलिरहेकाले केही समयभित्रै खुलिसक्ने अपेक्षा गरिएको छ ।” करिडोरको पहिलो खण्डमा गैँडाकोटबाट राम्दी, दोस्रोमा राम्दीबाट रिडी र तेस्रो खण्डमा रिडीबाट हर्मीचौरसम्मको सडक पर्छ । रिडीबाट हर्मीचौरसम्म १७ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ । हर्मीचौरबाट मालढुङ्गासम्म ४९ किमी सडकमा नेपाली सेनाले विस्तारको काम गरिरहको छ । यो खण्डका केही भाग गुल्मी र केही बाग्लुङ जिल्लामा पर्छ ।

उहाँले भन्नुभयो, “सेनाले हस्तान्तरण गरेपछि यो खण्डमा पनि कालोपत्रका लागि प्रक्रिया अघि बढाइनेछ ।” मालढुङ्गाबाट कोरोलासम्म नै सडक कालोपत्रका लागि ठेक्का सम्झौता भइसकको छ । मालढुङ्गाबाट बेनी र बेनीबाट जोमसोमसम्म सडक कालोपत्र गर्ने आयोजनाले जनाएको छ । मालढुङ्गाबाट बेनीसम्म १३ किमी ठेक्का प्रक्रिया अघि बढाइएको प्रमुख नेपालले जानकारी दिनुभयो ।

सो खण्डमा कालोपत्रका लागि सूचना निकाली सकेर ठेक्का मूल्याङ्कनको क्रममा छ । एक/दुई महिनामै सडक कालोपत्रको काम अघि बढ्ने उहाँको भनाइ छ । बेनीबाट जोमसोमसम्म सडक कालोपत्रका लागि ठेक्का सम्झौता भइसकेको निर्देशनालयले जनाएको छ । सो सडकको लम्बाइ ७६ किमी छ ।

जोमसोमबाट कागबेनीसम्म ११ किमी सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का भएको थियो । कागबेनीबाट मुक्तिनाथसम्म अरु निकायले नै कालोपत्र गरिसकेको छ । जोमसोमबाट मुक्तिनाथ जाने ठाउँ कागबेनीसम्म कालोपत्र गर्ने भनी फाइल अघि बढाइएको प्रमुख नेपालले जानकारी दिनुभयो । जोमसोमबाट माथि भने कालोपत्र गर्न अहिले तत्काल योजना नरहेको आयोजनाले जनाएको छ ।

कागबेनीबाट कोरोलासम्मको सडक चालु आवमा कालोपत्र गर्ने योजना छैन । सवारी साधनको चाप कम भएको र ग्राभेल सडक समेत अहिलेका लागि काम गर्ने उहाँले बताउनुभयो । सो स्थानमा चार महिना हिउँ परेका कारण यातायात चल्दैन । उहाँले भन्नुभयो, “अझै पनि १०० किमी सडक कालोपत्रको प्रक्रियामा नगएकाले त्यहाँलाई प्राथमिकता नदिइएको हो ।” करिडोर दुई लेनको हुने बताइएको छ । यसको चौडाइ छ मिटरदेखि नौ मिटरसम्म छ ।

अधिकांश स्थानमा साढे सात मिटर चौडाइ भए पनि कतैकतै धेरै चट्टान क्षेत्रमा चौडाइ पूरा गर्न नसकेर छ मिटर मात्रै चौडाइ कायम गरिएको प्रमुख नेपालले बताउनुभयो । कतैकतै सडक नौ मिटरसम्म चौडा छ । उहाँले भन्नुभयो, “पहिले ट्रयाक खुलिसकेका ठाउँमा सेनाले अहिले पनि विस्तार गरिरहेको छ ।” देशका अधिकांश स्थानको सडकजस्तै यो करिडोरमा पनि अधिकार क्षेत्रको विवाद छ । बस्ती क्षेत्रमा बढी समस्या रहेको प्रमुख नेपालले बताउनुभयो । अहिलेसम्म आयोजनाले घर टहराको मुआब्जा दिए पनि जग्गाको मुआब्जा दिएको छैन ।

काम गरिरहेको भए पनि वातावरण सहज नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आएका विवाद समाधान गर्दै काम अघि बढाइएको छ ।” कोशी र कणाली करिडोरभन्दा यो करिडोरमा ट्रयाक चाँडो खुलिसक्ने देखिएको छ । यी दुई करिडोरमा चट्टान नै चट्टान भएका ठाउँमा समेत विभागले नै काम गरिरहेकाले ढिलाइ भएको प्रमुख नेपालले बताउनुभयो । कालीगण्डकी करिडोरमा भने यी ठाउँमा सेनाले नै ट्रयाक खोलिरहेका छन् । उहाँले भन्नुभयो, “हामीले काम गरे पनि विस्फोटक पदार्थ सेनाले ल्याएर काम गर्ने हुँदा ढिला हुन्छ, सेनाले नै गर्दा काम छिटो हुने गर्छ ।” रासस

Related News

सम्बन्धित समाचार

    • स्कुल टिकाउन विद्यार्थी वन्धक !

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा मादी गाउँपालिका वडा ६ बाट एक शिक्षक पक्राउ परेका छन् ।…
    • नेपालकै ठूलो धनराशिको फुटसल

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । राजन ब्रदरहुड र स्पोर्टस् क्यासलको आयोजनामा आगामी चैतमा नेपालकै ठूलो राशिको खुला फुटसल प्रतियोगिता हुने भएको छ ।…
    • नाइकेको विषयमा कारागार भित्रै झडप

      सविन लामिछाने सविन लामिछाने फागुन १६, २०७७
      दमौली  । कारागारमा नाइकेको विषयलाई लिएर विवाद  हुँदा आइतबार तनहुँ जिल्ला कारागारमा २ कैदी समूहबीच झडप हुँदा  ६ जना  घाइते…
    • संसद बैठकः सत्तापक्षको बेन्च झमेला

      rss रासस फागुन १६, २०७७
      काठमाडौँ, १६ फागुन | सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ । मन्त्रिपरिषद्को शुुक्रबारको बैठकले…
    • आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पाेखरा ।  विद्यालय तहको आगामी शैक्षिक सत्र १० महिनाको हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी…

    hero news full width

    sanil ads

    wordlink ads