साइकलमै पाहुनालाई होमस्टे पुर्‍याउने धोको

मोटरबाटोले गाउँको अस्तित्व बिग्रने डरले बन्दीपुर–रामकोट साइकल लेन निर्माण

सविन लामिछाने
माघ १६, २०७७
bandipur news of ramkot

दमौली । एकनासे परम्परागत तथा मगर जीवनशैली झल्काउने आधुनिक घर पनि । घरअघि डंकने नामको डाँडो ‘थम्सअप’ शैलीमा उभिएको छ । डाँडोबाट २ किमी टाढाको विकसित बन्दीपुरबाट रामकोट एक्लिएको थियो । त्यहाँबाट ५ किमी टाढाको भीडभाड डुम्रे बजार र काठमाडौं–पोखरा हुइँकिने गाडीको चमकधमक यो गाउँमा अहिलेसम्म पुगेको छैन ।

गाउँका आधुनिक युवा घुमाउरो बाटो हुँदै मोटरसाइकल भित्राउँछन् । करिब सय घरधुरी मगर मात्रै रहेको अनौठो यो गाउँमा चिल्लो सडक छिर्दा गाउँको अस्तित्व बिग्रने चिन्ताले गाउँपालिकाले बन्दीपुर–रामकोट जोड्न साइकल लेन निर्माण गरेको छ ।

गाउँपालिका अध्यक्ष, वडाका प्रतिनिधि सहित गाउँलेहरु आधुनिक सडक सन्जाल ल्याउने सोचमा थिएनन् । ‘हो अलिकति दुःख कम हुन्छ । तर, थोरै सुखका लागि डाँडोको फेदैफेद सडक ल्याउने कुरामा म चाहीँ विपक्षमा थिएँ,’ बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा भन्छन्, ‘रामकोटमा सजिलो सडक निर्माण भएमा बन्दीपुरबाट पैदल यात्रा गर्दै रामकोट हेर्न आउने पर्यटक अन्तै जान थाल्छन् । त्यसो भयो भने न त यहाँको होमस्टे चल्छ न मगर संस्कृति नै बाँकी रहन्छ ।’

स्थानीयको तहको चुनाव ताका स्थानीयले पनि सडकभन्दा पर्यटक बढ्ने उपायमा बजेट लगाउन माग गरेका थिए । घुमाउँरो भए पनि डुम्रेबाट गाउँसम्म आइपुग्ने कच्ची बाटो जोडिएको छ । डङ्कने डाँडोबाट सडक ल्याउँदा बाटो छोटो हुने र अन्नपानी सस्तो हुने थियो । तर, गाउँलेहरु सडक पक्षमा थिएनन् । त्यसैले त गाउँपालिकाले बन्दीपुर–रामकोट साइकल लेन निर्माण ग¥यो ।

रानीवन जङ्गलमा साइकल लेनको निर्माण गरिएको छ । गाउँपालिकाले ६ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ३ लाख लागत साझेदारीमा बन्दीपुर रामकोट जोडिने झन्डै ५ किमी साइकल लेन निर्माण गरिएको हो । उक्त लेन बुधबार गाउँपालिका अध्यक्ष थापाले उद्घाटन गरे । उनले भने, ‘अन्ततिर गाउँमा सडक चाहियो भनेर मारामार गर्छन् । हाम्रोमा सडक चाहिएन । बरु त्यो बजेट पर्यटक बढ्ने उपायमा लगाइदेऊ भन्छन् । त्यसैले होमस्टेको प्रवद्र्धन गर्न साइकल लेन निर्माण गरेका हौं ।’

पर्यटकीय बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण गरिएको र यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्री भित्राएर पर्यटन प्रवद्र्धन गर्न सकिने गाउँपालिका अध्यक्ष थापाको विश्वास छ । विशेषगरी महिलाबाट यस्तो माग आएपछि गाउँपालिका र पर्यटन बोर्डको सहयोगमा रामकोटका महिलाले होमस्टे तालिम लिने अवसर पाएका थिए ।

केही समय कोरोना करले पर्यटकीय गतिविधि सुस्त भए पनि हाल बिस्तारै चहलपहल हुन थालेको छ । बन्दीपुरबाट पैदल र साइकलमार्फत यात्रा गर्दै रामकोट पुग्ने पर्यटक रामकोटमा बास बस्ने गरी गाउँपालिकाले वातावरण मिलाएको छ । ५ वर्षअघिसम्म रामकोटमा छाडा सुँगुरका कारण रोग र फोहोरको उपद्रो थियो । बाहिरका मानिस गाउँमा एकक्षण पनि उभिन सक्ने अवस्था थिएन । सफा सुग्घर हुनुपर्ने दबाब बढ्यो र हाल रामकोट आकर्षक गाउँमा परिवर्तन भएको छ ।
होमस्टे प्रमुख बीहिसरा मगर भन्छिन्, ‘साइकल लेनले हाम्रो होमस्टेको प्रवद्र्धनमा आशावादी छौं ।’

पर्यटन क्षेत्र चलायमान बनाउन गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरेको छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्र बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ ।

Related News

सम्बन्धित समाचार

hero news full width