ग्रामीण पर्यटन उकास्न भिटोफको प्रयास

आदर्श समाज संवाददाता
पौष ११, २०७७
vitof pict

पोखरा । कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीले पर्यटन पुनर्उत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा शनिबार सुरु भएको भ्रमण ४ दिन चल्ने छ ।

पर्यटनसम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहितको टोलीले कास्की, पर्वत र बागलुङ गरी ३ जिल्लाका पर्यटकीय गाउँमा सञ्चालित घरवासको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताए ।

भ्रमणका क्रममा बागलुङको ढोरपाटनमा सञ्चालित घरवाससहित सोही जिल्लाको गलकोटस्थित रिघा सामुदायिक, ताराखोलास्थित शिवधुरी सामुदायिक, भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक, पर्वतको भुक देउराली सामुदायिक, लब्सिबोट सामुदायिक र कास्कीको हेम्जाकोट सामुदायिक घरवासमा सरोकारवालाबीच छलफल एवं अन्तरक्रिया गरिने छ ।

भ्रमण अघि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउनु अहिलेको आवश्यकता भएको बताए । गण्डकी प्रदेशको समृद्धिमा पर्यटन महत्वपूर्ण माध्यम भएको भन्दै उनले पर्यटनको वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध भएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुुर भट्टराईले पर्यटन क्षेत्रलाई सबैको साथ सहयोगमा पुनर्उत्थान गरिनु अहिलेको आवश्यकता भएको बताए । भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्यनाथ पहारी र उदय सुवेदीले प्रवद्र्धनात्मक भ्रमणले थलिएको पर्यटनमा ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

भिटोफ गण्डकीका अध्यक्ष अधिकारीका अनुसार प्रकृति र संस्कृतिमा सम्पन्न गण्डकी प्रदेशमा ३ सय भन्दा बढी घरवास सञ्चालित छन् । हिमालदेखि तराईसम्म समेटिएको गण्डकी प्रदेशमा नेपालमा नै पहिलोपटक घरवास सञ्चालित सिरुवारी नमुना सामुदायिक होमस्टे सहितका होमस्टेले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width