ओली कदमको विरोध र समर्थन गर्दै पाेखरामा शक्ति प्रदर्शन

प्रकाश ढकाल
पौष ६, २०७७
nepali congress

तस्बिर : दुर्गाप्रसाद पाैडेल

पोखरा । संसद विघटन अलोकतान्त्रिक भएको आरोप लगाउँदै तल्ला तहमा आलोचना र विरोध भइरहेको छ । नेकपाकै भ्रातृ संगठन  समेत आन्दोलनमा निस्किएका छन् । कांग्रेस, जनता समाजवादी पार्टी र साझा विवेकशील पार्टीले पनि विरोधका कार्यक्रम गरिरहेका छन् ।

विघटनको प्रस्ताव गर्नेबित्तिकै पहिलो पटक पिएन क्याम्पसबाट अनेरास्ववियुले राँके जुलुस सहित प्रदर्शन ग¥यो । त्यसपछि नेविसंघले महेन्द्रपुलमा निर्णयको विरोधमा नाराबाजी घन्कायो । विवेकशील साझा पार्टीले असंवैधानिक र अलोकतान्त्रिक निर्णय भन्दै सडकमा उत्रियो ।

नेपाली कांग्रेस कास्कीले महेन्द्रपुलमा सोमबार विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट नाराबाजीसहित निस्किएको समूहले संसद विघटन विरुद्ध विरोध जनाएको हो । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाटले संसद विघटन गर्ने ओलीको कदम संविधानको खिलापमा रहेको बताए ।

‘संसद विघटन कुनै पनि हिसाबले जस्टिफाई हुँदैन । महामारीले देशभित्र सिर्जना गरेको बेरोजगारीले आक्रान्त छ । अभाव र गरिबी बढेको छ । यो आर्थिक स्थितिलाई चुनावले कति सहयोग पुग्ला ?,’ उनले भने, ‘अघिल्लो चुनावमा ४७ करोड अमेरिकी डलर खर्च भएको हो । यसको हिसावले कति अर्ब जाला ? यो पैसा कोरोना नियन्त्रण र बेरोजगारी अन्त्यका लागि खर्च गरेको भए कति ठूलो राहत दिन सक्थ्यो ।’

कांग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्माले कम्युनिजम नै देशबाट परास्त गर्न एकजुट रहन आह्वान गरे । ‘सबै कुराबाट मुक्ति दिलाउन कम्युनिस्टहरु बाधा बनेका छन् । हामी अगुवाई गर्छौं । तपाईंहरु साथ दिनुस्,’ उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो लहडबाजीबाट जुन काम गरेका छन्, यो संविधानमाथि खेलवाड भएको छ । यसको भत्र्सना मात्रै गरेर पुग्दैन । भोलि नदोहोरिने गरी अन्त्य गर्नुपर्छ ।’

कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सरकारले जनमतमाथि अपराध गरेको बताए । ‘मान्छे मार्नेहरु मात्रै अपराध हुन्छ भन्यौं । बलात्कार गर्ने मात्रै अपराधी हुन्छन् भन्यौं । तर नेपाली जनताको भावना र मत बीचैमा सदन विघटन गरेर राजनीतिक अस्थिरता सिर्जना गर्ने खड्ग ओली पनि अपराधी हुन्,’ उनले भने, ‘बलात्कार गर्नेले एउटामाथि गर्न सक्छ । भ्रष्टाचार एउटाले गर्न सक्छ । तर ओलीले ३ करोड नेपालीमाथि अपराध गरेका छन् । यो क्षमा दिने अपराध छैन ।’

नेविसंघ कास्कीका पूर्व सभापति विकास थापाले चुनावका लागि तयार रहन आह्वान गरे ।

कम्युनिस्ट पार्टीकै विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुतला दहन गरेकाे छ ।  अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बनाएर पुतलाको रुपमा दहन गरेका हुन् । यद्यपि प्रहरीले प्रधानमन्त्री विरुद्धको प्रदर्शनमा अवरोध गरेको थियो । प्रशर्दनकारीहरुले संसद विघटनको निर्णय विरुद्ध निरन्तर सडकमा प्रदर्शन जारी राख्ने बताए ।

विवेकशील साझा पार्टीले संसद विघटनको विरोधमा व्यानर र प्लेकार्डसहित विरोध दर्शायो । ‘राष्ट्रपतिले आफ्नो गरिमा समेत कायम नराखेर अधिनायकवादी व्यवस्था लाद्ने कदम भयो,’ नेता रजनी केसीले भनिन्, ‘संविधानले सदन विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैन । संसदबाटै बैकल्पिक सरकार गठन गर्न सकिन्छ । यसको विरोधमा हामी सडकमा उत्रिन वाध्य भएका छौं ।’ संविधानका प्रावधानलाई भाँडाकुटीको खेल बनाएको विवेकशील साझाको आरोप छ ।

उता, युवा संघले भने प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेकाे छ ।  गलत मान्छेको हातमा सत्ता सुम्पिनुभन्दा जनतालाई जिम्मा लगाउनु उपयुक्त कदम भएको भन्दै प्रधानमन्त्रीको समर्थन गरे । युवासंघका केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले प्रधानमन्त्री विरुद्ध आफ्नै पार्टीले गुटबन्दी गर्दा उनीहरु नै पाखा लागेको बताए ।

‘गलत मान्छेको हातमा सत्ता सुम्पेर मुलुकलाई बर्बाद गर्नुभन्दा प्रधानमन्त्रीले जनतालाई देश र अधिकार सुम्पिनु भएको हो,’ उनले भने, ‘अब हिम्मत भए जनमत लिएर सरकारमा जानुस् ।’

बास्तोलाले भ्रष्टाचारीलाई कारबाही हुने भन्दै प्रचण्ड र माधव पक्षलाई तर्साए । ‘भ्रष्टाचारीलाई कारबाही गर्नुस् । तपाईंलाई हामी समर्थन गरिरहेका छौं । तपाईंको कदमको समर्थन गरिरहेका छौं,’ ओलि इतर पक्षलाई ईंगित गर्दै ओलीलाई उनले भने, ‘कहिलेकाहीँ आफैले जन्माएको छोरो पनि अपराधी हुन सक्छ । त्यो अपराधीलाई कारबाही गर्नुपर्छ ।’ उनका अनुसार यही १० गते युवा संघले पोखरामा विचार गोष्ठी आयोजना गरेको छ ।

अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले युवा संघ सँधै ओलीको समर्थनमा रहेको प्रष्ट्याए । कोणसभा पछि पुर्व एमाले समर्थित गीतहरु घन्काएर नाचगान समेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width