लटरम्म सुन्तला, बजार खोज्दै किसान

आदर्श समाज सम्वाददाता
पौष ४, २०७७
Orange

पोखरा । हेमजाको आलु, स्याङ्जाको सुन्तला, मुस्ताङको स्याउ, बागलुङको भाँगो निकै प्रचलित छन् । फसल कहाँको हो थाहा छैन । तर पसले ढुक्कसँग भन्छन्–सुन्तला स्याङ्जाको हो हजुर, ढुक्कसँग लगे हुन्छ । रसिलो छ, नपत्याए चाखेर लैजानुस् ।

हो, कुनै उत्पादनले ठाउँ विशेषलाई चिनाएको हुन्छ । यस्तै ब्रान्ड बनेको छ स्याङ्जाको सुन्तला । सुन्तला बिक्रीबाट स्याङ्जामा बर्सेनि ६० करोड रुपैयाँ भित्रिन्छ । पोहोर सुन्तलाको उत्पादन ठिकै थियो र पनि जिल्लाभरका किसानका हातमा ६० करोड रुपैयाँ परेको थियो । यो वर्ष पोहोरभन्दा राम्रो फलेको छ । बोटका सुन्तला पाकेर पहेंलपुर भइसक्दा पनि किसान भने ढुक्क छैनन् । कारण सुन्तलाको बिक्री बढेको छैन ।

कोरोना त्रास कायमै छ । गाडी कम चलेका छन् । आउजाउ पनि उतिसारो छैन । त्यसैको असर परेको छ, सुन्तलाको बजारमा । ८० रोपनीमा सुन्तला खेती गर्दै आएका अर्जुन चौपारीका फणिनारायण अर्याल भन्छन्, ‘बोटभरि पहेंला सुन्तला छन्, कोरोनाले बिक्री घटाएको छ, भाउ पनि सस्तिएको छ । अघिल्लो वर्ष किसानका हातमा सरदर ४८ रुपैयाँ प्रतिकिलो परेको थियो । अहिलेसम्मको अवस्था हेर्दा ४३ रुपैयाँमात्र परेको छ । यो भाउ अझै घट्छ कि भन्ने चिन्तामा किसान छन् ।’

यो वर्ष पानी धेरै पर्‍यो । जसले सुन्तला उत्पादन बढायो । तर दाना भने ठूला हुन सकेनन् । पानीकै कारण सुन्तला पाक्न अलि बढी समय लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ स्याङ्जाका प्रमुख माधव लम्साल बताउँछन् । परियोजनाअन्तर्गत जिल्लामा सुन्तला सुपर जोन सञ्चालित छ ।

ढिलोसम्म सुन्तला बोटमै रहँदा बगैंचा सरसफाइदेखि औषधीमूलोको काम पनि धकेलिन्छ । बगैंचामा मलजल र सिँचाइ गर्ने, हाँगाबिँगा काँटछाट गर्ने र नीलोतुथो लगाउने काम फल टिपेपछि गरिन्छ । यो वर्ष यी काम ढिलो हुने निश्चितै रहेको सुपर जोन सञ्चालक समिति अध्यक्ष वोधराज अर्याल बताउँछन् ।

जिल्लाको सबैजसो पालिकामा सुन्तला खेती छ । तर सुपर जोनले पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुन चौपारी गाउँपालिकका वडालाई समेटेको छ । यी पालिकामा अन्तभन्दा सुन्तला बढी फल्ने भएकाले पहिलादेखि नै पकेट क्षेत्रका घोषणा गरिएको थियो । त्यसैका आधारमा सुपर जोनले काम गर्दै आएको छ ।

जिल्लाभर २ हजार हेक्टरभन्दा जमिनमा सुन्तला खेती हुँदै आएको छ । जसमध्ये सुपर जोनअन्तर्गत १ हजार ३ सय हेक्टर पर्छ । योमध्ये ८ सय हेक्टरमा सुन्तला फलिरहेको छ भने बाँकी ५ सय हेक्टरमा बिरुवा लगाइएको छ । सुपर जोनमा ३ हजार ५ सय हाराहारीमा किसान आबद्ध छन् । स्याङ्जामा प्रतिहेक्टर साढे १२ टन सुन्तला फल्छ । पोहोर सुपर जोनभित्र मात्रै करिब १० हजार टन सुन्तला फलेको कार्यालय प्रमुख लम्सालले बताए । जिल्लामा फलेकोमध्ये २० प्रतिशत सुन्तला आन्तरिक रुपमै खपत हुन्छ । बाँकी बुटवल, पोखरा, नारायणगढ र काठमाडौंमा खपत हुन्छ ।

भारतीय सुन्तलाको मार

असोज सुरुदेखि नै नेपाली बजारमा भारतीय सुन्तला छ्यापछ्यापती हुन्छ । मंसिरको दोस्रो सातासम्म नेपाली बजारमा पाइने सुन्तला यो वर्ष भने पुस लाग्दा पनि उस्तै देखिएको छ । नेपाली सुन्तला भारत लैजान कानुनी अड्चन देखाइए पनि भारतीय सुुन्तला भने निर्वाध यता आउँछन् । स्याङ्जा अर्जुन चौपारीका अगुवा किसान फणिनारायण अर्याल सरकारी तवरबाट यस्ता विषयमा ध्यान नदिँदा किसान मारमा परेको गुनासो गर्छन् । उनले भने, ‘यताबाट लैजान प्लान्ट क्वारेन्टाइनको कुरा गरिन्छ, उताबाट आउन रोकिँदैन, खै कसले हो, यो हेर्ने ?’

भारतमा सुन्तलासहित सबै खेती व्यावसायिक र बृहत्रुपमा हुने भएको त्यताका उत्पादन स्वभाविक रुपमा सस्तो हुन्छ । युरिया मलसमेत अभाव हुने नेपालमा उत्पादित सुन्तला स्वभाविक रुपमा अर्गानिक हुने भए पनि बजार पाउन अझै धौ छ ।

चीन निर्यात कथामात्रै

स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीन निर्यातका लागि नेपाल सरकार र त्यहाँका व्यापारीबीच सहमति भइसकेको छ तर यताको सरकारले आवश्यक प्रक्रिया पूरा नगर्दा काम अगाडि बढेको छैन । बाहिरी मुलुकमा फलफूल निर्यात गर्न लामो प्रक्रिया पार गर्न पर्छ । बगैँचा, किसान सूचीकरण, रोगकीरा व्यवस्थापन सुनिश्चित भएपछि मात्र चीनका व्यापारीले सुन्तला लैजान्छन् । यो वर्ष चीनबाट यसका लागि प्राविधिकसहितको टोली आउने भनिए पनि कोभिड बहाना बनेको छ । यसका लागि पहल गर्दै आएका किसान फणिनारायण अर्याले भने, ‘सुन्तला निर्यातका लागि सम्झौता भइसकेको हो, प्लान्ट क्वारेन्टाइनको काम भएको छैन, पहिला हाम्रो उत्पादन रोग कीरामुक्त छ भन्ने प्रमाणित हुनुपर्‍यो ।

सुन्तलाबाट जाम र जुस

चिस्यान केन्द्र बनाएर बेमौसममा पनि सुन्तला बजारमा पुर्‍याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले काम गर्दै आएको छ । पोहोरपरार संघ र प्रदेश सरकारले सञ्चालन गरेका थोरै क्षमताका चिस्यान केन्द्र बनाएका छन् । अहिले ठूलै क्षमताको चिस्यान केन्द्र पनि निर्माणाधीन छ । अहिले भण्डारण गरेर चैत वैशाखमा बजारमा सुन्तला पुर्‍याउन सके किसानले पनि राम्रो मूल्य पाउँछन् ।

यसबाहेक स्याङ्जामा सुन्तलाबाट जुस र जाम पनि बनाउन थालिएको अगुवा किसान वोधराज अर्यालले बताए । बजारमा खपत नभएको सुन्तलाबाट जाम र जुस बनाउने र सुपर जोनको लागो लगाएर जापानलगायत मुलुकमा निर्यात गर्न लागिएको उनको भनाइ छ । सुन्तलाको बोक्रासमेत चियाको रुपमा प्रयोग हुन्छ । अर्यालले भने, ‘सुन्तलाका बोक्रासमेत प्रशोधन गरी निर्यातका लागि पहल गरिरहेका छौं ।’ सुन्तलाबाटै वाइन र ब्रान्डी बनाउनसमेत प्रयास भइरहेको उनले बतए ।

१० र ५ किलोका प्याकेट

अर्जुन चौपारीका फणिनारायण अर्यालले यो वर्ष जिल्लामै पहिलोपटक ग्रेडिङ मेसिन भित्र्याएका छन् । जसबाट आकारअनुसारका सुन्तला छुट्टिन्छन् । यसरी छुट्टिएका सुन्तलालाई आकारअनुसार नै प्याकेजिङ गरेर बजारमा पठाउन थालिएको छ । पहिला पहिला डोकामा ढुवानी हुने सुन्तला अब चिटिक्क परेका कार्टुनमा बजार पुग्छन् । पहिलो चरणमा १० र ५ किलोका प्याकेट बनाउन लागिएको अर्यालले बताए । प्याकेजिङमा केही खर्च बढे पनि सुन्तला बिग्रने समस्या निकै कम हुन्छ ।

औंसा कीरा र बाँदरले समस्या

स्याङ्जा, कास्की, तनहुँ र आसपास जिल्लाका सुन्तलामा जरा कुहिने रोग पहिलेदेखि नै देखिएको हो । जराका कीरा लाग्ने, बोट पहेंलिँदै जाने र मने समस्या छ । त्यसको समाधानका लागि अनुसन्धान र अरु काम भइरहेको छ । यो वर्ष सुन्तलामा औंसा कीराको समस्या थपिएको छ । योसँगै बाँदरले समेत सताएको गुनासो किसानले गरेको सुपर जोन कार्यालय प्रमुख माधव लम्सालले बताए । सुपर जोनले ४ वटा पालिकामात्र समेटेकाले त्योभन्दा बाहिरका सुन्तला किसान असन्तुष्ट छन् । जिल्लाभरका किसानलाई सहयोग पुग्ने गरी काम गर्न आफूले पहल गर्ने प्रतिबद्धता लम्सालले जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width