‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देशसहित सडक महोत्सव हुने   

रासस, आदर्श समाज संवाददाता
पौष १, २०७७
JBS-Pokhara-Tourism

पोखरा, १ पुस ।अंग्रेजी नयाँ वर्षको छेको पारेर बर्सेनि हुने सडक महोत्सवले यसपालि पनि निरन्तरता पाउने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले अंग्रेजी नयाँ वर्षमा ५ दिन गर्दै आएकोे महोत्सव यस वर्ष ३ दिन मात्र हुनेछ ।

पोखराको पर्यटनमा ब्रान्ड सावित सडक महोत्सव पुस १५, १६, १७ गते गर्न लागिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराइयो । सडक महोत्सवको यो २२ औं संस्करण हो ।

रेबान पोखरा अध्यक्ष लक्ष्मण बरालले कोरोना महामारीबीच ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश दिन ३ दिनमात्र तामझामबिना स्वास्थ्य सतर्कता अवलम्बन गरी महोत्सव गर्न लागिएको जानकारी दिए । ‘हामीले पर्यटन सम्बद्ध संघसंस्थासँग व्यापक छलफल ग¥र्यौं, सबै संस्था तयार हुनुभयो । प्रशासनबाट पनि अनुमति लिएर स्वास्थ्य सतर्कतासहित तामझामबिना महोत्सवलाई निरन्तरता दिन लागेको हो,’ बरालले भने ।

कार्यक्रम संयोजक वसन्त गौतममले कोरोना महामारीबीच पर्यटन गतिविधिलाई चलायमान बनाउन सडक महोत्सवले भूमिका खेल्ने बताए । उनले भने, ‘अहिले पर्यटन ठप्प छ, अघिल्ला महोत्सवमा आन्तरिक तथा वाह्य पर्यटक रमाउने महोत्सव अहिले आन्तरिक पर्यटकमाझ केही सीमित कार्यक्रम गरेर मनाउन लागेका छौं ।’

उनले पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचनासहित अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्न उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । उनका अनुसार पोखराको हल्लन चोकदेखि ३ किलोमिटर क्षेत्रमा ३ वटा कक्षमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषासहितको सांस्कृतिक कार्यक्रम गरिनेछ ।

कार्यक्रम सहसंयोजक एवं स्वास्थ्य संयोजक भीष्मराज पौडेलले प्रवेशद्वारबाट स्वास्थ्य सकर्तकतमा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइने बताए । उनका अनुसार महोत्सवस्थलमा स्वास्थ्य सचेतनासम्बन्धी गतिविधिलाई पनि जोड दिइनेछ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराका विभिन्न संघसंस्था आन्तरिक पर्यटन प्रवद्र्धनको अभियानमा जुटेको उल्लेख गर्दै अब पोखराको पर्यटन उकास्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । उनले पोखराका धार्मिक तथा पर्यटकीय गतिविधि केही दिनभित्रै खुल्ने पनि जानकारी दिए । उनले भने, ‘हामीले यस क्षेत्रमा बन्द रहेका पर्यटकीय र धार्मिकस्थल खुला गर्न संघीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छौं, उहाँहरुले लिखित निर्णय नआए पनि मौखिक अनुमति दिनुभएको छ । अब विस्तारै आसपासका पर्यटकीय गन्तब्य खुल्नेछन् ।’

उनले सरोकारवालासँग पनि छलफल भएकाले अब बाराही मन्दिर, स्तूप, डेभिजफल्सलगायतका गन्तव्य खुला हुने बताए ।

भट्टराईले व्यवसायीका लागि ल्याएको पुनर्कर्जा कोषलाई कार्यान्वयन गर्न नसक्दा व्यवसायी थप पीडित भएको जनाउँदै सरकारलाई ध्यानाकर्षण गराएको बताए । पत्रकार सम्मेलनमा पश्चिमाञ्चल होटल संघ (हान) ले महोत्सवमा आउने पाहुनालाई लक्षित गरी ५० प्रतिशत छुटको व्यवस्था गरेको हानका उपाध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post