अम्बिका माविको भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७७
ambika ma ve progrem photo

अम्बिका माध्यमिक विद्यालयको शनिबार भवन शिलान्यास गरिँदै । तस्वीरः श्रीभद्र पौडेल ।

हेमजा । अम्बिका माध्यमिक विद्यालयको सातकोठे भवन शनिवार शिलान्यास गरिएको छ।

भवन शिलान्यास गर्दै पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले विद्यालयका विधि क्रियाकलाप अनुशरणयोग्य रहेको बताए। उनले सामुदायिक विद्यालयको शिक्षालाई स्थानीय अभिभावकले पनि विश्वास गर्नुपर्ने जनाउँदै साविकको धवलागिरि क्षेत्रबाट हेमजा बसाईसराई गरेर आएका अभिभावकका छोराछोरी मात्रै पठनपाठन हुने थलोका रुपमा अम्बिकालाई नचिनाउन आग्रह गरे ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख लालप्रसाद पोखरेलले प्राविधिक धारतर्फ विद्यार्थी बढाउन सुझाव दिए। इकाइबाट विद्यालयले उल्लेख्य सहयोग प्राप्त गरिरहेको तर्फ संकेत गर्दै प्रमुख पोखरेलले गुणस्तरीय कार्य गरी समयमै निर्माण सक्न निर्माण व्यवसायीलाई आग्रह पनि गरे।

कार्यक्रममा पोखरा महानगरपालिका शैक्षिक महाशाखाका अधिकृत वसन्तराज पौडेल, विद्यालयमा संचालित महायज्ञका अध्यक्ष केशवराज भण्डारी, विद्यालयका अध्यक्ष सुवाश भण्डारी, स्वर्ण महोत्सवका महासचिव मित्रलाल पौडेल, महायज्ञका महासचिव नेत्रपाणि भण्डारी, प्रअ ओमप्रसाद पौडेल, निवर्तमान अध्यक्ष खगेन्द्रराज पौडेल जग्गादाता कमल अधिकारी लगायतले सम्बोधन गरेका थिए । उनीहरुले विद्यालय महायज्ञको लक्ष्य प्राप्तिमा होमिरहेको र सबैको सद्भाव पाइरहेको जनाउँदै गुणस्तरीय प्राविधिक शिक्षा दिन पनि सबै सरोकारवाला सकारात्मक हुनुपर्ने औँल्याएका थिए।

विद्यालयमा जग्गा व्यवस्थापन तथा प्राविधिक शिक्षालय खोल्ने उद्देश्यले २०७४ मंसिर ५ देखि १३ सम्म स्वर्ण महोत्सवअन्तर्गत महायज्ञ गरिएको थियो।जसमा २ करोड १९ लाख संकलन भएको थियो । जसबाट करिब ४ रोपनी जग्गाको खोजी गरी भवन निर्माणको तयारी गरिएको हो ।

विद्यालयमा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङमा कक्षा ९ देखि १२ सम्म पठनपाठन सुरु भइसकेको छ।

शिलान्यास गरिएको उक्त भवन साउदी अरब सरकारको सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत २ करोड १२ लाखको लागतमा निर्माण गर्न लागिएको हो।

भवन निर्माणको जिम्मा मकवानपुरको बानियाँ कन्ट्रक्सनले पाएको छ ।जसको अनुगमनका लागि विद्यालयले ३ सदस्यीय समिति पनि गठन गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जग्गादाता कमल अधिकारीले स्वागत र प्रअ ओमप्रसाद पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width