उद्योग बाणिज्य महासंघमा गिरि र अधिकारी निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७७
pcc

पोखरा, १३ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघको शनिबार भएको चुनावमा गण्डकी प्रदेशबाट बाबुराम गिरि र दामु अधिकारी केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् । गिरि गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य निर्वाचित हुँदा अधिकारीले संस्थापक संघतर्फबाट चुनाव जितेका हुन् ।

निर्वाचन समितिका अनुसार गिरिले प्रतिद्वन्द्वी बागलुङका निर्माण श्रेष्ठलाई पराजित गरेका हुन् । कुल १५ मतदातामध्ये विजयी गिरिले ९ मत प्राप्त गर्दा श्रेष्ठले ६ मत ल्याए ।

महासंघको गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा १५ वटा जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुले भोट गर्न पाउने व्यवस्था थियो । गिरि लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

यसैगरी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संस्थापक संघतर्फबाट चुनाव जितेका छन् । अधिकारीले चितवनका उत्तमलाल चुकेलाई २ मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । अधिकारीले ७ मत ल्याउँदा चुकेले ५ मतमात्र ल्याएका हुन् ।

महासंघको ५४ औं साधारणसभा तथा अधिवेशनअन्तर्गत शनिबार काठमाडौंमा भएको मतदानमा साँझदेखि मतगणना सुरु भएको हो । चुनावमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका छन् ।

जिल्ला–नगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

मतपरिणामअनुसार महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्ष पदमा किशोर प्रधान प्यानलका दिनेशलाल श्रेष्ठ निर्वाचित भए । उनले चन्द्र ढकाल प्यानलका गुणनिधि तिवारीलाई मात्र ११ भोटले हराए । विजयी दिनेशले ५८ र गुणनिधिले ४७ मत ल्याएका छन् ।

यसैगरी, वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठले बाजी मारे । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतले हराए । विजयी अञ्जन किशोर प्रधान समूहका हुन् । अञ्जनले ६२ मत ल्याएका हुन् ।

वस्तुगतमा दुवै प्यानलका ७/७ जनाले जित हासिल गरेका छन् । जसमा प्रकाशमानसिंह कार्की, सुमित केडिया, अनरनीको राजभण्डारी, नरेशलाल श्रेष्ठ, भक्त बहादुर हमाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, हेमराज ढकाल, आकाश अधिकारी, गोविन्द ढुंगेल, विष्णु गैरे, शकुन्तला हिराचन, सुवोध गुप्ता र सन्दीप कुमार अग्रवाल छन् ।

प्रदेशअन्तर्गत प्रदेश २ बाट विजयकुमार साह, लुम्बिनीबाट जममेर मियाँ, कर्णालीबाट लालीमान बूढा र सुदूरपश्चिम प्रदेश पुष्पराज कुमार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । प्रदेश १ बाट यसअघि राजेन्द्र राउत निर्वारोध भएका हुन् ।

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घमा विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन ।

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि भएको मतदानमा शतप्रतिशत नै मत खसेको छ । महासङ्घमा वस्तुगततर्फ १ सय १, जिल्ला/नगरमा १ सय ५ र एशोसिएटतर्फ ९ सय ३ मतदाता सबैले भोट हालेका थिए ।

महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ उम्मेदवार छन् । कार्यकारिणी सदस्यतर्फ राउतसहित सन्दीप अग्रवाल निर्विरोध भएका हुन् ।

उता, एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिष्पर्धी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width