पोखरा पर्यटन परिषद्मा गोपीबहादुर भट्टराई

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७७
gopi

पोखरा, १२ मंसिर ।  पोखरा पर्यटन परिषद् अध्यक्षमा पर्यटन व्यवसायी गोपीबहादुर भट्टराई चयन भएका छन्। परिषद्को शुक्रबार भएको साधारणसभा तथा ११ औं अधिवेशनबाट भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

सो कार्यसमिति उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भए । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल छन् । बाँकी २ सदस्य पछि चयन हुने छन् ।
एक समारोहबीच अधिवेशनको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका बीच स्वास्थ्य सतर्कता अपनाएर पर्यटनलाई चलायमान बनाउनुपर्ने बताए । गुरुङले कोरोनाको त्रासले बाँधिएर नभइ अब स्वास्थ्य सतर्कतामा ध्यान दिएर पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताए ।

उनले भने, “अब कोभिडसँग सधैँ त्रसित भएर बाँच्न सकिँदैन, सतर्कता अपनाएर पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्छ, पोखरामा पर्यटक आकर्षकका विविध पक्ष भएकाले यसलाई व्यवसायीले प्याकेज बनाएर बेच्न सक्नुपर्छ ।” उनले पोखराको सौन्दर्यकरण लागि पनि प्रदेश सरकारले महानगरसँग समन्वय गरेर वातावरण मैत्रीपूर्वाधार विकासको लागि पहल गरेको बताए ।

पर्यटन शहरका रूपमा विकास गर्न व्यवस्थित बसपार्क, शिक्षा, खेलकूद, अत्याधुनिक अस्पताललगायत पूर्वाधारमा जोड दिएर पोखरालाई उत्कृष्ट गन्तब्यका रूपमा अन्तरराष्ट्रिय जगतमा चिनाउन प्रदेश सरकारले योजना ल्याएको उनले बताए ।

मुख्यमन्त्री गुरुङले कोरोनाको मारमा परेका व्यवसायीलाई प्रदेश सरकारबाट विनियोजित एक अर्बको व्यावसायिक जीवन रक्षा कोष कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताए ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड–१९ का कारण मूर्छित् अवस्थामा रहेका पर्यटन व्यवसायीलाई बौराउन मौद्रिक नीतिको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले फेवातालको सिमाङ्कनको विषय छिटोभन्दा छिटो टुङ्गाएर अनिर्णय बन्दिजस्तै बनेका व्यसायीलाई मुुक्त गराउनुपर्ने बताए ।

परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखेले पर्यटन विकासका लागि दीर्घकालीन सोचसहित समयसापेक्ष विकासमा जोड दिनुपर्ने बताए ।

परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले कोभिड–१९ असहज परिस्थितीबाट गुज्रेको पर्यटन क्षेत्रलाई धरासायी हुन नदिन सरकारले अघि सारेका राहत कार्यक्रमको कार्यान्वयनलाई जोड दिन आग्रह गरे ।

संस्थाका उपाध्यक्ष गोपी भट्टराईले कोभिड–१९ को कारण पर्यटन व्यवसायी पलायन हुने अवस्थामा रहेको जनाउँदै सरकारले अभिभावकको भूमिका पूरा गर्न नसकेको बताए ।
सो अवसरमा नागरिक दैनिकका सन्तोष पोखरेललाई पर्यटन प्रवद्र्धन योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width