सिटिईभिटीको सिकाइ : सर्टिफिकेटसँगै सीप

प्रकाश ढकाल
मंसिर ८, २०७७
ctevt

पोखरा । एसएलसीसम्म सँगै पढेका साथीहरु अझै बेरोजगार छन् । कतिपयले उच्च शिक्षा लिएका छन् । तैपनि जागिर पाएका छैनन् । ‘पढेरमात्रै जागिर कता पाउनु ? हातमा सीप चाहिने रहेछ,’ २१ वर्षीय प्रवीण पैकरा भन्छन्, ‘जीवन चलाउन झोलामा सर्टिफिकेट र हातमा सीप नभई हुँदैन ।’

सप्तरीको सप्तकोशी नगरपालिका भग्नीमलेट घर भएका उनी पोखरा टेक्निकल कलेजबाट होटल म्यानेजमेन्ट पास गर्ने पहिलो व्याचका विद्यार्थी हुन् । किसानी काम गरेर जसोतसो विद्यालय तहको पढाइ अभिभावकले गराइदिए । उनी एसएलसीको सर्टिफिकेट लिएर सीधैँ पोखरा हानिए । होटल व्यवस्थापनको ३ वर्षे डिप्लोमा कोर्स सके । अहिले पोखराकै प्रतिष्ठित होटल टेम्पल ट्री रिसोर्टमा उनी जागिरे छन् ।

‘प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) को प्रमाणपत्र देखाएपछि जता पनि जागिर पाइन्छ । ठूला होटलहरुले सजिलै पत्याउँछन्,’ उनले भने, ‘बाहिर जानेलाई सीप सिकेर जान साह्रै सजिलो हुने रहेछ । मैसँग पढेका धेरै साथीहरु त्यही सर्टिफिकेट देखाएर अस्ट्रेलिया पुगेका छन् ।’ उनले मासिक २५ हजारभन्दा बढी कमाइ गर्छन् । पैकरा मकाउ जाने तयारीमा छन् । ‘२ वर्षदेखि सिनियर वेटरको रुपमा काम गरें । त्यो अनुभव देखाएपछि मकाउमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सुनेको छु,’ उनी भन्छन्, ‘पैसा भए त म पनि अस्ट्रेलिया जान्थें । पैसा छैन, मकाउ जान लागेको छु ।’ बजारमा बिक्ने सर्टिफिकेटका लागि सिटिईभिटीको पढाइ निकै राम्रो हुने उनले बुझेका छन् ।

पोखरा मासबारकी सविना बराल सिटिईभिटीअन्तर्गतकै अप्थाल्मिक साइन्स पढेर बेनीस्थित रेडक्रस आई केयर सेन्टरमा काम गर्छिन् । उनी पहिलो व्याचकी विद्यार्थी हुन् । हिमालयन आँखा अस्पतालसँगको साझेदारीमा २०७३ देखि अप्थाल्मिक साइन्सको पढाइ थालिएको थियो । हालसम्म ३ वटा व्याचका विद्यार्थी पास भैसकेका छन् । ‘पहिलो वर्ष भएर होला, हामीलाई जागिर पाउन खासै गाह्रो भएन । युनिभर्सिटिमा पढेका भन्दा हाम्रो माग बढी छ,’ बरालले भनिन् । अप्थाल्मिकतर्फ ४० जनाले पास गरिसकेका छन् ।

उता, होटल म्यानेजमेन्टमा ७३ जना पास भए । अधिकांश पोखरा र काठमाडौंका ठूला होटलहरुमा जागिर गर्छन् । कतिपय विश्वबजारमा समेत छरिएका छन् । २०५८ मा खुलेको पोखरा टेक्निकल स्कुलबाट मात्रै हालसम्म ८ हजार ७ सय जनाले तालिम लिएका प्रिन्सिपल हर्कलाल श्रेष्ठले जानकारी दिए ।

स्याङ्जा सिरुवारीका सन्ध्या र समीक्षा चापागाईं लेखनाथमा पोखरा महानगरपालिकाले सञ्चालन गर्न लागेको बहुप्राविधिक शिक्षालयमा भर्ना भएका छन् । सिभिल इन्जिनियरिङ पढाइका लागि शतप्रतिशत छात्रवृत्तिमा दुवैजनाले नाम निकाले । घरको आर्थिक र पारिवारिक समस्याले थिचिएका उनीहरुलाई उच्च शिक्षा लिन मुश्किल थियो । जम्ल्याहा ती दिदीबहिनीलाई सिटिईभिटीले निःशुल्क पढाउन लागेको हो । समीक्षाले ३.९५ र सन्ध्याले ३.८५ जीपीए ल्याएर एसइई पास गरेका छन् ।

सिटिईभिटीसँगको समन्वयमा पोखरा महानगरले पहिलो पटक अटो मोवाइल र सिभिल इन्जिनियरिङको ३ वर्षे कोर्स पढाउन लागेको छ । पहिलो वर्ष सिभिलतर्फ ४६ र अटोमोवाइलतर्फ ४६ जनालाई पढाउन लागिएको हो । ‘साधारण स्कुल वा कलेजमा हुने पढाइले सालको पात टिप्न सिकाउँछ । प्राविधिक शिक्षाले पातबाट टपरी गाँस्न र बेच्न सिकाउँछ,’ विद्यालयका प्रमुख लक्ष्मण तिमिल्सिनाले भने, ‘अहिलेको समयमा दैनिकी चलाउन नसक्ने पढाइको कुनै अर्थ छैन । पोखराले बाँच्ने सीप सिकाउन लागेको हो ।’

यहाँ विपन्न परिवारका विद्यार्थीहरुलाई कम शुल्क वा निःशुल्क पढाइने तिमिल्सिनाले बताए । पछिल्लो समय अटोमोवाइलको क्षेत्रमा जनशक्ति अभाव हुँदै गएको र विदेशी जनशक्ति भित्र्याएर काम लगाउनुपर्ने बाध्यतालाई चिर्न पोखराले यसको पढाइ थालेको हो । ‘अटोमोवाइल क्षेत्रका ८० प्रतिशतभन्दा बढी कामदार विदेशी छन् । अर्बौ रकम त्यसै बाहिरिएको छ । हाम्रा युवायुवती चाहिँ काम नपाएर बेरोजगार छन्,’ उनले अघि भने, ‘श्रमबजार र श्रमशक्तिलाई जोड्न प्राविधिक शिक्षा पहिलो शर्त हो ।’ अवको ३ वर्षदेखि नै विदेशी कामदार विस्थापित गर्दै लैजाने उनको भनाइ छ ।

नेपालको शैक्षिक प्रणाली नै घोकन्ते खालको छ । अधिकांश पढेका विषय दैनिकीमा प्रयोग हुँदैनन् । सिटिईभिटीमा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशतमात्रै सैद्धान्तिक पढाइ हुन्छ । विभिन्न कलेजहरुसँग समन्वय गरेर टेक्निकल पढाइ गरिहेको छ भने आफैले छोटो अवधिको तालिम समेत दिने गण्डकीका निर्देशक रामहरि देवकोटाले बताए । उनका अनुसार खासगरी सिलाइकटाई, वायरिङ, प्लम्बिङ, व्युटीसियन, कृषि लगायत क्षेत्रको तालिम दिन्छ । तालिम लिएकामध्ये केहीले रोजगारी गरेका छन् । केहीले आफै व्यवसाय गरेका छन् । अहिले गण्डकी प्रदेशका ११ वटा जिल्लामा प्रदेश कार्यालयले तालिम दिन्छ । २०७५ मा खुलेको कार्यालयबाट हालसम्म ४ हजार ८ सय जना सीप परीक्षामा सहभागी भएका छन् । पछिल्लो वर्ष पनि थप ३ हजार ६ सय भन्दा बढीले तालिम लिएका छन् । तर सीप परीक्षा भैसकेको छैन । गण्डकीमा १२ वटा आंगीक शिक्षालय छन् भने, सामुदायिक ५३ विद्यालय, साझेदारीमा ४ वटा र निजीमा ३६ स्कुलबाट विभिन्न विधाका पढाइ र तालिम हुन्छन् ।

‘तालिम लिन धेरैले रुचि देखाउनुहुन्छ । निरन्तरता भने धेरै कम हुन्छ । मान्छेका रुचि अनुसारका तालिम ठाउँठाउँमा पु¥याउन सकेको नि छैन,’ उनी भन्छन्, ‘वेसिक तालिमले रोजगारी भन्दा ज्ञान बढी दिन्छ । अब एड्भान्स खालका तालिम आवश्यक छ ।’ सिटिईभिटीले क्षेत्र छुट्याएर आधारभूत तालिम लिएकाहरुलाई करिब १ हजार ७ सय घण्टाको थप तालिम दिन थालेको छ । मनाङ बाहेक सबै जिल्लामा आधारभूत तालिम सञ्चालन भैसकेको छ । कफी बनाउने वारिष्टा, बेकरी, कुक लगायत क्षेत्रमा बढी आकर्षण छ । सही मान्छे छनोट गर्न नसक्दा तालिमको प्रभावकारिता घटेको उनले बताए । ‘सहभागी खोज्न हामी गाउँगाउँ जान सक्दैनौं । स्थानीय तहलाई पठाइदिनुस् भन्दा नातागोता र आफन्त खोजेर पठाइदिनुहुन्छ,’ देवकोटाले भने, ‘वास्तवमा तालिम चाहिने व्यक्तिसम्म हाम्रो पहुँच पुग्नै सकेको छैन । त्यसैले तालिम लिएकाहरुले समेत काम गरेनन् ।’ छोटो अवधिका तालिम लिएकामध्ये १० प्रतिशतले मात्रै व्यावसायिक रुपमा काम गरेको उनको अनुभव छ । तीनवर्षे कोर्स पढेकाहरु चाहिँ अधिकांश रोजगारीमा जोडिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width