चितुवा खोज्न वनैभरि क्यामेरा

प्रकाश ढकाल
मंसिर ७, २०७७
lepord

पोखरा, ७ मंसिर । साढे २ वर्षदेखि निरन्तर मान्छेमाथि आक्रमण । छोटो अवधिमै जिल्लामा १० बालबालिका चितुवा आक्रमणको शिकार बने । एकै पालिकाका ६ जनासम्म परे । त्यसपछि बन्दीपुर, आँवुखैरेनी, ब्यास र शुक्लागण्डकीमा पनि असर गर्‍याे।

चितुवा आक्रमणबाट लगातार बालबालिकाको मृत्यु भएपछि तनहुँको भानुमा चितुवा र तिनको आहारा प्रजातिका जनावरको संख्या गन्न थालिएको छ । तत्कालीन समयमा ठाउँठाउँमा पासो थापेर ९ वटा चितुवा समातिएको थियो । सबैलाई राष्ट्रिय निकुञ्जमा छोडिएको छ । ११ वटा चितुवा मरेको अवस्थामा फेला परेका थिए । तैपनि चितुवाको आक्रमण रोकिएन । चितुवा आक्रमण निरन्तर बढेपछि भानु क्षेत्रमा चितुवाको संख्या र त्यसको आहारा प्रजातिको जनावरको अध्ययन सुरु गरिएको हो।

जिल्ला वन कार्यालय कास्कीका प्रमुख (तत्कालीन तनहूँका प्रमुख) केदार बरालको टोलीले गणना थालेका हुन् । भानुका १ देखि ६ नम्बर वडासम्म २२ वटा सामुदायिक वनका ४२ सय हेक्टर वन क्षेत्रमा चितुवाको गणना गर्न लागिएको उनले बताए । क्यामेरा ट्रयापिङ विधिबाट चितुवा र तिनका आहारा प्रजातिका जनावरको खोजी गरिनेछ । चितुवा गन्नका लागि मात्रै ७२ वटा क्यामेरा जंगलमा जडान गरिएको बरालले बताए।

खासगरी चितुवा मान्छेकै बस्ती वरपर वस्ने प्राणी हो । त्यसैले मान्छेसँगको जम्काभेटमा मान्छेमाथि बढी आक्रमण हुने गर्छ । ‘जंगलमा चितुवाको आहारा घट्न थालेपछि बस्तीमा छिर्छ । घरपालुवा जनावर खोज्दै आउँदा मान्छेसँग जम्काभेट भए मान्छेलाई नै आक्रमण गर्छ,’ अध्ययनमा लागेका कास्कीका डिभिजन वन अधिकृत केदार बराल भन्छन्, ‘चितुवाको वास्तविक बासस्थान मान्छे र जंगलबीचको झाडी हो । घाम तापेर सुत्ने, पानी प्रशस्त भएको ठाउँमा चितुवा बस्छ । भानु क्षेत्रमा यस्ता ठाउँ धेरै छन् ।’

४ हजार २ सय हेक्टर वन क्षेत्रमा ७२ वटा क्यामेरा जोडिएको छ ।

तनहुँमा चितुवाले आक्रमण गरेको सबैजसो घर एक्लो छ । साँझको समयमा बत्ती नबलेको घर र छेउमा बाख्राको खोर ढुकिरहेको बेला बच्चा भेटेपछि उसैलाई आक्रमण गरेको बरालले बताए । चितुवाको मुख्य आहारा हरिण प्रजातिका जनावर हुन् । बादर र दुम्सी लगायत जनावर पनि चितुवाले रुचाउँछ । ‘मान्छे उसको आहारा होइन । रोगी र भोको हुँदा मान्छेमा आक्रमण गर्ने हो,’ उनले भने, ‘खानेकुरा रुखको हाँगामा लगेर खाने भएकोले सानो आकारको जनावर वा मान्छेलाई आक्रमण गर्छ । त्यसैले उसको निशानामा साना बालबच्चा परेका हुन् ।’ खासगरी पोथी चितुवाले बच्चा जन्माएपछि भालेले मारिदिन्छ ।

भाले र अरु जनावरबाट पनि बचाउन पोथीले बच्चालाई सुरक्षित ठाउँमा राख्नुपर्छ । यस्तो बेला सजिलै आक्रमण गरेर आहारा खोज्दा बाख्रा वा घरपालुवा जनावर सुत्केरी चितुवाको सबैभन्दा पहिलो निशाना हो । पछिल्लो समय खेतीपाती कम हुँदै गएकोले जंगल बढेर मानव बस्ती नजिकै आइपुगेका छन् । ‘पहिले मान्छेले खेतीपाती गर्थे । मान्छेको बस्ती र चितुवाको बासस्थान बीचमा दूरी थियो,’ उनले भने, ‘अहिले त्यो दूरी छैन । जंगल घरसम्मै बढेपछि चितुवाको डाइरेक्ट एक्सेस बस्तीमा पुगेको छ ।’ चितुवाको संख्या र आहाराको अनुपात पत्ता लगाउन गणनाको काम थालिएको उनले सुनाए । ‘चितुवाले मान्छेमाथि किन आक्रमण गरेको हो भनेर यकिन गर्न उसका आहारा प्रजातिका जनावर पनि खोज्नुपर्ने हुन्छ । क्यामेराले दुवैको फोटो खिचेपछि संख्या पत्ता लाग्छ,’ बराल भन्छन्, ‘त्यसपछि चितुवा र आहाराको अनुपात मिलाउन सजिलो हुन्छ । आवश्यक नीति नियम बनाउन सघाउँछ ।’ अबको केही दिनभित्रै भानु क्षेत्रमा भएका चितुवा र तिनका आहारा प्रजातिका जनावरको संख्या पत्ता लाग्नेछ । ‘क्यामेराको अगाडि चितुवा परेपछि आफै फोटो खिच्छ । त्यसलाई संकलन गरेर डाटा तयार गर्छौं । प्रत्येक १ किलोमिटरमा ग्रिड बनाइएको छ । सबै ग्रिडमा २ वटा क्यामेरा जोडिएको छ,’ बरालले भने । उनका अनुसार चितुवाको दिसा समेत ल्याबमा परीक्षण गरेर चितुवाका आहाराबारे अध्ययन गरिनेछ ।

चितुवा पहाडी पारिस्थितिकीय प्रणालीको सबैभन्दा माथिल्लो प्राणी हो । चितुवा आक्रमणबाट भएको क्षतिपूर्तिबापत सरकारले १ करोड १५ लाख रुपैयाँ सम्बन्धित पक्षलाई राहत दिइसकेको छ । मान्छे बाहेक १ सय ७६ वटा पशुबस्तुको क्षति भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । चितुवाको बासस्थान र आहारा प्रजातिको जनावरको चोरी शिकारका कारण चितुवाले मान्छेमाथि आक्रमण गरेको निष्कर्ष पहिले नै निकालिएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले अहिलेको चितुवा र आहारा प्रजातिका जनावरका गणनापछि आगामी योजना बनाउन सहयोग पुग्ने बताए । ‘दुवैको संख्या निस्किएपछि कसरी मानव आक्रमण रोक्ने भन्ने योजना बन्छ,’ उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width