मापदण्दविपरीत क्रसर उद्योग संचालन

रामकुमार श्रेष्ठ
मंसिर ६, २०७७
Crusher

नवलपरासी । पूर्वी नवलपरासीका सबै क्रसर उद्योगहरु मापदण्दविपरीत सञ्चालनमा रहेको पाइएको छ । जिल्लामा संचालित कुल १२ क्रसरहरु कोही खोला वा नदी किनारमा, कोही सडक किनारमा, कोही विद्यालय नजिक, कोही जंगल नजिक, कोही सुरक्षा निकायकै नजिकै सञ्चालनमा रहेका छन् ।

जिल्लाको दुम्किबासमा बाग्लुङ कालिका क्रसर उद्योग, महावीर एग्रिगेट इण्डष्ट्रिज प्रालि, त्रिवेणी क्रसर उद्योग रहेका छन् ।

त्यसैगरी, अरुखोलामा महाराजा क्रसर उद्योग, चोरमारामा न्यू मनकामना मिलर प्रोडक्ट प्रालि, मध्यविन्दु क्रसर उद्योग, कावासोतीको डण्डामा न्यू महालक्ष्मी रोडा एण्ड एग्रिगेट इण्डष्ट्रिज प्रालि, दलदलेमा नवलपुर क्रसर उद्योग, मनकामना क्रसर उद्योग रहेका छन् ।

उता, केउरेनीमा कालिका क्रसर उद्योग, झरही खोलामा त्रिशक्ति झरही क्रसर एण्ड स्क्रिन प्लाण्ट उद्योग, महालक्ष्मी क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आफूले पनि केही क्रसर उद्योगहरु अनुगमन गरेको ती क्रसर उद्योगहरु अधिकांश मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको बताइन् ।

जिल्लामा क्रसर उद्योग ता बालुवा प्रशोधन केन्द्रका अवस्थाहरु, दर्ता भए–नभएको, अन्य प्रक्रिया पूरा गरे–नगरेको, भ्याट बिल भए–नभएको, भ्याटविल काटे–नकाटेको, आइइई/इआइए, गरे–नगरेको लगायतका सबै विषय निरीक्षण गरिएको प्रजिअ पंगेनीले बताइन् । अनुगमनक्रममा कतिपयले दर्ता नै नगरेको, केहीले आइइई/इआइए नगरेको कतिपयले फर्जी बिल काट्ने गरेको पाइएको हो । नवलपुरका अन्य क्रसर उद्योग तथा प्रशोधन केन्द्रको अनुगमन गरेर जिल्लाको यथार्थ अवस्था आएपछि मात्रै सबैलाई एकै पटक कानूनी कारबाही अगाडि बढाउने उनको भनाइ छ ।

क्रसर उद्योगहरुको अवैध नदीजन्य वस्तु जफत गरेर त्यसको जरिवाना असुली गर्न खोज्दा नवलपरासीमा स्थानीय विकास अधिकारी नै सरुवा भएको घटना समेत घटेको छ । तत्कालीन स्थानीय विकास अधिकारी युवराज कट्टेल सरुवा भएका थिए । २०७४ सालमा उनको सरुवापछि कट्टेलले आफू सरुवा हुन दुःखद भएको तर राज्यले खटाएको ठाउँमा आफू जान तयार रहेको भन्दै सरुवा लिएर गएका थिए ।

त्यतिमात्र कहाँ हो र, नवलपुरका ६० बढी बालुवा प्रशोधन केन्द्र अवैध रुपमा सञ्चालनमा रहेका छन् । ती उद्योगमध्ये कतिपय दर्ता समेत नभएको, दर्ता गरे पनि आइइई/इआइए नगरेको, बालुवा प्रसोधन गर्ने भनी सञ्चालन गरे पनि क्रसर उद्योगले सरह गिट्टी कुट्ने, ढुंगा समेत बिक्री गर्ने गरेको पाइएको छ । प्रशोधन केन्द्रहरु पनि धेरैजसो खोला नजिक, जंगल छेउ, घनाबस्तीको बीचमा सञ्चालनमा रहेको फर्जी बिल काट्ने गरेको समेत पाइएको छ ।

राज्यले तोकेको ठाउँमा जान तयार : व्यवसाय

क्रसर व्यवसायीहरु आफ्ना क्रसर उद्योगहरु सञ्चालनका बखत मापदण्द अनुसार सञ्चालनमा रहेको तर अहिले नयाँ मापदण्ड आउँदा सोविपरीत हुने पुगेको स्वीकार गरेका छन् ।

नेपाल रोडा ढुंगा व्यवसायी संघ नवलपुरका अध्यक्ष भोजेन्द्रबहादुर राजमाझीले राज्यले निर्धारण गरिदिएको मापदण्ड अनुसारको स्थान राज्यले देखाइदिए आफूहरु उक्त स्थानमा गएर क्रसर उद्योग सञ्चालन गर्न तयार रहेको बताए ।

उनले भने, ‘ढुवानीको लागि बाटो, प्रसोधनका लागि पानी र उद्योग सञ्चालनका लागि विजुली उपलब्ध गराउने र राज्यले निर्धारण गरेको मापदण्द अनुसारको स्थान भए आफूहरु राज्यले तोकेको स्थानमा गएर उद्योग सञ्चालन गर्न तयार छौं ।’ रायमाझीले राज्यले ल्याएको नयाँ मापदण्द अनुसारको स्थान पाउन मुस्किल पर्ने समेत बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width