महानगरले तोक्यो जेठोबुढोको मूल्य

प्रकाश ढकाल
कार्तिक २७, २०७७
IMG_0301

पोखरा, २७ कात्तिक । ठूला फाँटहरु छैनन् । तीव्र सहरीकरणले खेतीयोग्य जमिनहरुमा बिस्तारै प्लटिङ बढ्दो छ । किसानहरुमा किसानीप्रति आकर्षण पनि घटिरहेकै छ । खेतीभन्दा ब्यापारबाट धेरै आम्दानी हुने देखेपछि धानखेत मासेर घर ठडिएका हुन् । अहिले अधिकांश फाँटहरुमा बजार बनेको छ । जसका कारण अव्यवस्थित सहरीकरण मात्रै भएको छैन, पोखराको ब्राण्डमा समेत संकट थपेको छ । जेठोबुढो धान पोखराको पुख्र्यौली ब्राण्ड हो । बास्नादार र नरम भात पाक्ने भएकोले धेरै अघिदेखि पोखराको कोसेली हो, जेठोबुढो । खासगरी विदेश बस्ने नेपालीहरुमा यसको माग बढी छ । जेठोबुढो धानको माग बढेको र खेती प्रणाली व्यवस्थित नभएपछि पोखरा महानगरपालिकाले पहिलो पटक धानको मूल्य तोकेर किसानलाई प्रोत्साहन दिएको छ ।

‘चार वर्षअघिसम्म जेठोबुढोको बिक्री हुँदैनथ्यो । कोसेलीको रुपमा धान दिने चलन थियो । अहिले राम्रो मार्केट छ,’ महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया भन्छन्, ‘जति मार्केट बढेको छ, त्यति जेठोबुढोको ओरिजिनालिटी (मौलिकपना) हराएको छ । यसको संरक्षणको दायित्व सरकारले लिनुपर्छ ।’ उनका अनुसार व्यवसायीले गर्ने मिसावट, रासायनिक मल र सुधारिएका जातको कारण जेठोबुढोको पुरानोपन छैन । हाल पोखराको ११ हजार २ सय हेक्टर जमिनमा धानखेती हुने तथ्याङ्क छ । त्यसको ४५ प्रतिशत भूमिमा जेठोबुढोको खेती गर्छन्, किसानले ।

जेठोबुढो धानको मूल्य जति महँगो छ, त्योभन्दा महँगो पर्छ यसको उत्पादन लागत । ‘एक बाली धान तयार हुन ६ महिना लाग्छ । अरु धान ८ मुरी हुने ठाउँमा जेठोबुढो ४ मुरीमात्रै उत्पादन हुन्छ,’ कडरियाले भने, ‘पोखरामा जग्गाको मूल्य महँगो भएर पनि लागत बढेको हो । लागतलाई हेरेर नै महानगरले उत्पादित धानको बजार मूल्य कायम गरेको छ ।’ उनका अनुसार प्रतिरोपनी १२ देखि १६ हजारसम्म लागत लाग्छ । एक मुरि उत्पादन गर्दा ३ हजार ६ सय लाग्ने अनुमान छ भने त्यसको बजार मूल्य महानगरले ४ हजार ५ सय तोकेको छ । ‘२० प्रतिशत मुनाफा, १० प्रतिशत लगानीको ब्याज र १० प्रतिशत ढुवानी खर्च गरी यो रकम कायम भएको हो,’ उनले भने ।

पोखराले पहिलो पटक जेठोबुढोको मुल्य निर्धारण गरेको हो । सरोकारवालासहितको सुझावका आधारमा प्रतिक्वीन्टल ९ हजार रुपैयाँ मूल्य तोकिएको महानगरले जनाएको छ । ‘कसैले ६ हजारसम्म बेचेको पनि पाइयो । कोहीले ४ हजारमै बेचेका छन्,’ मेयर मानबहादुर जिसी भन्छन्, ‘एकद्वार प्रणालीबाट न्यूनतम मूल्य तोकिदिएका हौं ।’ बिक्री नभएको पनि छ । महानगरले जेठोबुढोको महत्व बुझेर नै धान उत्पादनका आधारमा किसानलाई अघिल्लो वर्ष ६ लाख सहयोग गरेको थियो । गुणस्तरीय बिउ नियमित वितरण गर्दै आएको छ । यो सिजनमा मात्रै ८ हजार किलो धानको बीउ वितरण गरिएको मेयर जिसीले बताए ।

पोखरा महानगरपालिकाले पहिलो पटक जेठोबुढो धानको मूल्य निर्धारण गरेको छ ।

उनका अनुसार यसलाई ब्राण्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने महानगरको योजना छ । ‘नाम पहिलेदेखि नै चलिआएको हो । यसलाई राम्रोसँग प्याकेजिङमात्रै गर्न सके अन्तर्राष्ट्रिय बजारमा पठाउदा राम्रो आम्दानी हुन्छ,’ जिसीले भने, ‘पूर्व योजना महानगरले बनाएको छ । अध्ययन पनि भएको छ ।’ यो वर्ष पोखरा र आसपासमा १३ हजार ४ सय टन जेठोबुढो धान उत्पादन हुने अनुमान छ । ६ सय देखि ९ सय मिटर उचाईमा यसको खेती बढी फस्टाउँछ ।

लेखनाथमा जैविक सूचना केन्द्र स्थापना गरेर स्थानीय जातको धानको संरक्षण र खरिद बिक्री हुँदै आएको छ । २०७३ असोजदेखि हालसम्म केन्द्रमा ५० हजारभन्दा बढीले अवलोकन गरेका छन् । तिमध्ये १३ हजार विदेशी छन् । कास्कीको पामे, लेखनाथ, कसेरी, ठूलाखेत लगायत ठाउँमा महानगरसहित विभिन्न संघ संस्थाको सहयोगमा यो धानको प्रबद्र्धन गरिएको छ । रैथाने जेठोबुढोको उत्पादन कम हुने र रोगकिराले सताउने भएपछि ली–वर्डले सुधारिएको जेठोबुढोको बिउ किसानलाई बाँडेको छ । ‘पुरानो बिउ कम फल्ने र बोट ढल्ने हुन्छ । नयाँमा रोग कीरा लाग्दैन । उत्पादन राम्रै हुन्छ,’ सूचना केन्द्र सदस्य तथा जानकार प्रतीक्षा थापा भन्छिन्, ‘बजार राम्रो भएपछि किसानहरुमा अहिले बल्ल खेतीप्रति आकर्षण बढेको छ ।’ उनका अनुसार विदेशी नागरिकले यहाँबाट धानको बिउ लैजान पाउँदैनन् । ‘धेरै माग्छन् । तर अवैधानिक हुने भएकोले हामीले विदेशीलाई बिउ दिएको छैन,’ उनले भनिन् । सूचना केन्द्रले ६३ प्रजातिका रैथाने धानको संरक्षणमा काम गरिरहेको छ । तीमध्ये ५ वटा धानको प्रजाति भर्खरै सूचिकृत गरेर प्रबद्र्धन थालिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width