प्रदेश सरकार र स्वास्थ्य विभागको बेवास्ता

साधन राम्जाली
कार्तिक २६, २०७७
IMG_1455

म्याग्दी । बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) लामो समयदेखि प्रयोगमा नआउँदा अलपत्र छ । म्याग्दीमा गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आइसियु जनशक्ति अभावले लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत अस्पतालमा २ भेन्टिलेटरसहित ५ शैयाको आइसियु कक्ष स्थापना गरिएको हो । अस्पतालमा भेन्टिलेटर सहित ५ शैयाको आइसियु स्थापना भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाउने प्रदेश सरकारको निर्णयबमोजिम म्याग्दीमा गत असारभित्रै २ भेन्टिलेटर र ५ शैयाको आइसियु मेसिन तथा उपकरण र सामग्रीको खरिद गरी जडानसमेत भएको थियो । प्रदेश सरकारमार्फत १ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत १ करोड २५ लाख रुपैयाँमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको थियो ।

आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्न कम्तीमा १÷१ जना इन्टरनल मेडिसिन र डाक्टर आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका नि. मेडिकल सुपरीटेन्डेन्ट डा. अमृत अधिकारीले बताए ।

अस्पतालमा अहिले आकस्मिकरुपमा छोटो समयको लागि मात्रै भेन्टिलेटरसहितको आइसियु कक्षमा बिरामीको उपचार गर्न सम्भव छ । अस्पतालमा पछिल्लो समय मिर्गौला पीडितको लागि डायलासिस सेवासमेत सुचारु गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरसहितको आइसियु कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र स्वास्थ्य विभागमा कर्मचारी पठाउन पटकपटक माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको अस्पताल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालको गुनासो छ ।

‘प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट बेनी अस्पतालमा स्थापना भएको आइसियु र भेन्टीलेटर संचालनका लागि स्वास्थ्य विभाग र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई पटकपटक आग्रह गरेपनि लामो समयसम्म कुनै सुनुवाई भएको छैन्,’अध्यक्ष कटुवालले भने ,‘स्थापना भएको लामो समयसम्म आइसियु र भेन्टिलेटर संचालनमा नआउँदा गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्याउनुपर्ने बाध्यता सिर्जना भएको छ ।’

बेनी अस्पतालमा म्याग्दीका साथै छिमेकी जिल्ला मुस्ताङ, पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयले समेत सेवा लिँदै आएका छन् । जिल्लामा कोरोना सङ्क्रमितको ह्वात्तै बढ्दै जाँदा भेन्टिलेटरसहितको आइसियुको आवश्यकता थप बढेको छ ।

अहिले अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्‍याउनुपर्ने बाध्यता सिर्जना भएको अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालमा ६९ जनाको दरबन्दी रहेपनि अहिलेसम्म २६ जना मात्र कर्मचारी कार्यरत छन् ।

दरबन्दी अनुसारको अस्पतालमा पर्याप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको अध्यक्ष कटुवालले बताए । ‘बेनी अस्पतालमा ६९ जनाको दरबन्दी रहेपनि अहिले अस्पतालमा २६ जना कर्मचारी मात्र कार्यरत छन् ,’ अध्यक्ष कटुवालले थपे,‘कार्यालय सहयोगी, प्रशासनदेखि मेडिकल सुपरिटेन्डेण्ट समेत गरी ४३ जना कर्मचारीको पदपूर्ति गर्न बाँकी छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width