भुकम्पको इपिसेण्टरमा एडभेन्चर ट्रेल

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७७
anxhor

पोखरा । २०७२ सालको महाविनासकारी भुकम्पको केन्द्र विन्दु हो, चुंकङडाँडा । गोरखाको धार्चे गाउँपालिका ५ नम्बर वडालाई केन्द्र बनाएर गएको भुकम्पले देशै तहसनहस भयो । भुकम्प पछिको पुनः निर्माण सकिईसकेको छैन ।

भुकम्पको इपिसेण्टर (केन्द्र) मा गाउँपालिकाले पार्क र एडभेन्चर ट्रेल निर्माण गरेको छ । केन्द्रविन्दू आसपासका क्षेत्रलाई समेटेर लाप्राकदेखि गुम्दा हुँदै चुङकङडाँडासम्म इपिसेण्टर एड्भेञ्चर ट्रेल निर्माण गरिएको हो । ६२.२ किलोमिटर लामो ट्रेल पर्यटन विकासका लागि निर्माण गरिएको अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार चुङकङडाँडामा ‘इपिसेण्टर’ स्तम्भ निर्माण गरिएको छ ।

‘पर्यटनबाटै बाँचेको गाउँ हो । भुकम्पले ध्वंस बनायो,’ उनले भने, ‘अब यसको पुनरुत्थान गर्नुछ । पहिले झैं पर्यटक भित्र्याउनु छ । यसका लागि गाउँपालिकाले संरचना निर्माणको काम धमाधम गरिरहेको छ ।’ १७ लाख टुरिजम बोर्ड र युएनडीपीको १० लाख सहित २७ लाख लागतमा ट्रेल निर्माण गरिएको गुरुङले बताए । ट्रेलको गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले उद्घाटन गरे ।

स्कुलमा पर्वतारोहण पढाई

गाउँपालिकाले पर्वतारोहण र पर्यटन विषय पढाउन थालेको छ । पर्वतारोहण संघसँगको समन्वयमा ४ नम्बर वडाको लाप्राक स्थित मणिकामदेवी माविमा नयाँ बिषयको पढाई सुरु गरिएको हो । पर्वतारोहण विषय पढाउने प्रदेशमै पहिलो विद्यालय हो । यो बर्ष ११ र १२ कक्षामा पढाई सुरु भएको छ । ‘धार्चेले नौलो अभ्यास गरेको छ । यो नागरिकको दैनिक जनजीविकासँग जोडिने बिषय हो,’ पर्यटनमन्त्री लम्सालले उनले भने, ‘अरु पालिकाले पनि आफ्नो बिशिष्टतालाई हेरेर पाठ्यक्रम तयार गरोस् । त्यहाँ उत्पादन भएका जनशक्ति जागिर खोज्न विदेशिनु नपरोस् ।’

पहिलो बर्ष ४५ जना विद्यार्थीले पर्वतारोहण र पर्यटन बिषय पढ्न थालेका छन् । यसका लागि रक क्लाईम्बिङ, इन्डोर वाल, लगायत पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । ‘यो पढाई निकै महंगो रहेछ । पर्वतारोहण संघले सघाएर नयाँ पढाई गर्न सकेका हौं,’ उनले भने, ‘शिक्षक र अन्य खर्च संघले ब्यहोर्ने भनेको छ । हामीले समन्वय गरेका छौं ।’

गुरुङका अनुसार यही बर्षदेखि गाउँपालिकामा प्याराग्लाईडिङको ब्यवसायिक उडान हुने छ भने स्थानीयलाई पाईलट प्रशिक्षण समेत दिईने छ । धार्चे गोरखाको उत्तरी क्षेत्रमा पर्छ । पर्यटकीय गाउँ लाप्राक यही गाउँपालिकामा छ । २०७२ सालको महा विनासकारी भुकम्प समेत यही गाउँपालिका नजिक गएको हो । त्यसैलाई देखाएर पालिकाले इपिसेण्टर साइकल ट्रेल निर्माण गरेको छ । लाप्राकमा गैर आवासीय नेपाली संघले नमुना बस्ती निर्माणको काम गरिरहेको छ । गाउँलाई पूरै पर्यटकीय बनाउने गरी संरचना निर्माण भैरहेको गाउँपालिकाले जनाएको छ । शिक्षालाई दैनिकीसँग जोड्नका लागि प्राविधिक बिषयको पढाई थालेको उनको भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width