गण्डकीमा कोरोनाको डरलाग्दो ग्राफ

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७७
Gandaki-Map

पोखरा । कोरोना सँधै आफ्नै नियन्त्रणमा रहेको दावी गरिरहने गण्डकी सरकारलाई आइतबारको रिपोर्टले झस्काएको छ । आइतबार एकैदिन ४ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । क्षेत्रीय क्षयरोग केन्द्र, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र लाइफकेयर एण्ड डाईग्नोस्टिक प्रालिमा गरिएको परीक्षणमा प्रदेशमा हालसम्मकै सबैभन्दा उच्च संक्रमित फेला परेका हुन् । १ हजार २ सय ३० परीक्षण गरिएकोमा प्रदेशको राजधानी पोखरामा सबैभन्दा धेरै २ सय ८३ संक्रमित थपिए भने तनहुँमा ४१, नवलपुरमा ३१, लमजुङमा १८, गोरखामा १३ जना संक्रमित थप भएका छन् । यस्तै, पर्वतमा ११, स्याङजामा १०, बागलुङमा ९ र म्याग्दीमा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । हालसम्म ३ सय भन्दा कम संख्यामै सीमित संक्रमित एकैपटक सवा ४ सय पुगेको हो ।

आइतबार प्रदेशमा २ जनाको मृत्यु भएको छ । कास्की अन्नपूर्ण गाउँपालिका ३ का ४७ वर्षीय पुरुष र पोखरा १७ का ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । अन्नपूर्णका पुरुष कोरोना संक्रमण पुष्टी भएपछि कार्तिक ४ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत थिए । निमोनियाका समेत विरामी उनको आइतबार दिउँसो निधन भएको अस्पतालले विज्ञप्ती निकाल्दै जानकारी गराएको हो । यस्तै, पोखरा १७ का पुरुष कार्तिक ११ गते अस्पताल भर्ना भएका थिए । उनलाई मधुमेहको समस्या रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा ७ हजार ७ सय ४० संक्रमित पुगेका छन् भने ८० जनाको मृत्यु भएको छ । हालसम्म ४ हजार ३ सय ३५ जना निको भएर घर फर्किएका छन् । संक्रमितको संख्याका आधारमा १ प्रतिशत भन्दा बढी मृत्युदर छ । तिमध्ये पनि अधिकांश ५० बर्षभन्दा कम उमेरका छन् । संक्रमित समेत ८० प्रतिशतभन्दा बढी ५० बर्षभन्दा कम उमेरका छन् । ३ हजार ३ सय २५ जना सक्रिय संक्रमित उपचारमै छन् ।

कास्कीमा अहिले पनि १ हजार ८ सय ५१ संक्रमित आइसोलेसनमा छन् । ७ सय ७२ जना निको भएका छन् । दोश्रो धेरै संक्रमित रहेका नवलपुरमा ५ सय ७५ उपचाररत छन् भने १ हजार १ सय २ जना निको भएका छन् । प्रदेशभर सबैभन्दा धेरै कास्कीमा मृत्यु भएको छ । २९ जनाले कोभिडकै कारण ज्यान गुमाएका छन् । नवलपुरमा १७, तनहुँमा ११, गोरखामा ८, स्याङजामा ६ र बागलुङमा ५ जनाको मृत्यु भैसकेको छ ।

पोखरामा कोरोना नियन्त्रण बाहिर पुगिसकेको मेयर मानबहादुर जिसीले बताए । ‘अब हाम्रो नियन्त्रणमा छैन । तरपनि अन्तिम अवस्थासम्म प्रयास गरिरहनुपर्छ,’ उनले भने, ‘पश्चिमाञ्चल अस्पताल र संक्रामक रोग अस्पतालमा अक्सिजन लाइन जोड्न थालेका छौं । अन्तिमसम्म भिड्ने हो ।’ उनका अनुसार दुवै अस्पतालमा ५/५ लाख अक्सिजन लाइन जोड्न र थप ९ लाख प्राविधिक कर्मचारीको ब्यवस्थापन गर्न महानगरले रकम निकासा दिएको छ । अहिले पोखरामा मात्रै ७ सय भन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । ‘कुन संक्रमितको अवस्था के छ हामीलाई थाहा छैन । नेगेटिभ रिपोर्ट आएर घर गएकाहरुलाई दोहो¥याएर स्वास्थ्य अवस्था बुझ्न सकिएको छैन,’ मेयर जिसीले भने, ‘सल्लाह गरेर निषेधाज्ञा गर्नुपर्ने हुन सक्छ ।’ उनले अवस्था हेरी १५ दिनसम्म निषेधाज्ञा गर्नुपर्ने अवस्था आउन सक्ने बताए । पोखराको २, १३ र २७ नम्बर वडाको काम अहिले बन्द छ । महानगरको सेवा समेत १५ दिन बन्द भएर विहिबारदेखि सुरु भएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले संक्रमितको संख्या बढ्दै गएकोले थप ४० बेड विस्तार गर्न लागेको बताए । ‘प्रदेशलाई धेरै पटक भन्यौं । मानेन । नागरिकलाई उपचार नगराउने कुरा त भएन,’ उनले भने, ‘प्रतिष्ठानले नै ४० बेड कोभिडको लागि छुट्याएर पूर्वाधार जोड्न लागेको छ ।’ उनले पनि सरकारले भनेझैं कोरोना नियन्त्रणमा नरहेको बताए । ‘संख्याको बृद्धीदर हेर्दा कहालीलाग्दो छ,’ उनी भन्छन्, ‘अब फरक रणनीति अपनाउनुपर्छ ।’ प्रदेशमा हाल विभिन्न अस्पतालमा १ सय ८६ वटा आइसीयू र ५४ वटा भेन्टिलेटर रहेको स्वास्थ्य निर्देशनालयको दावी छ । तिमध्ये ६४ वटा आइसीयू र ८ वटा भेन्टिलेटरमा विरामी छन् । अरु खाली रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width