बैतडीका दुर्गम बस्तीमा पोल गाडेको ७ वर्षपछि बिजुली

रासस
कार्तिक १२, २०७७
light

बैतडी, कात्तिक १२: जिल्लाका ग्रामिण क्षेत्रमा विद्युत बिस्तार भइरहेको छ । पाटन नगरपालिका ९ भट्याडी गाउँमा पोल गाडेको सात वर्षपछि बिजुली बलेको छ ।

गाउँमा बिजुलीबत्ती बलेपछि स्थानीयबासी खुसी भएका छन् । विद्युत विस्तारका लागि पोल गाडिएका भएपनि विद्युत विस्तार नहुँदा स्थानीयहरु अन्धकारमा बस्न बाध्य रहेका थिए ।

गाउँमा विद्युतीकरणका लागि आफूहरुले पहल गरेर विद्युत वितरण केन्द्र पाटन शाखाको सहयोगमा गाउँमा बिजुलीबत्ती बलेको स्थानीय कर्णबहादुर बिष्टले बताए।

उनले भने “गाउँमा पोल गाडिएको धेरै वर्ष सम्म विद्युत नपुग्दा हामीले गाउँलेहरुसित सल्लाह गरेर श्रमदानमा विद्युत विस्तार गरेका छौँ । तार तान्ने, पोल गाड्ने लगायतका काममा स्थानीयले श्रमदान गरेपछि गाउँमा बिजुली बलेको हो ।”

स्थानीयको ५० हजार बढीको श्रमदान र विद्युतका कर्मचारीको सहयोगमा विद्युत विस्तार भएपछि गाउँलेहरु खुसी भएका स्थानीय डम्मरसिंह भाटले बताए।

अहिले गाउँका २८ घरधुरीमा बिजुली बलेको छ । उनले भने , “गाउँमा बिजुली बलेपछि स्थानीयबासी निकै खुसी भएका छन् । करिब १२ घरमा विद्युत पुग्न बाँकी छ । त्यसका लागि पहल गरिरहेका छौँ ।”

सडक नजिकैको भट्याडीमा विद्युत सेवा विस्तारपछि स्थानीयलाई सजिलो भएको दीपकसिंह भाटले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणले गाउँमा विद्युत विस्तार गर्ने कार्यक्रम अन्तर्गत अध्याँरा गाउँहरुमा विद्युत विस्तार गरिरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए ।

बैतडीको मेलौली नगरपालिका २ रौतगाउँ र कपडतमा विद्युत विस्तार गरिएको छ ।

प्राधिकरणको विद्युत विस्तार गर्ने रणनीति अनुसार गाउँगाउँमा विद्युत विस्तार जारी रहेको हो । ट्रान्सफर्मर चार्ज गरेर दुवै गाउँमा विद्युत बालिसकेको नेपाल प्राधिकरण वितरण केन्द्र बैतडीका सुपरभाईजर माधवप्रसाद लेखकले जानकारी दिए । उनले भने “ अब ग्राहकले मिटर जडान गरेमा सबै घरमा विद्युत लाइन जडान गरिनेछ

। ” यो आर्थिक वर्षमा पनि ग्रामीण क्षेत्रमा विद्युत विस्तार कार्यक्रम रहेको र सोही अनुसार ग्रामीण क्षेत्रमा विद्युुत विस्तार भईरहेको प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिए ।

गत आर्थिक वर्षमा पनि १८ सय घरमा विद्युत विस्तार गरिएको थियो । गत आर्थिक वर्षमा जिल्लाका १२ ठाउँमा ट्रान्सफर्मर राखेर विद्युत सेवा विस्तार गरिएको हो । जिल्लाको सुर्नया गाउँपालिकाको शङ्करपुर, पाटनको किम्तोली, बाटुलासौं, मजेरा, भडाली, डुब्केकोइरालीमा नयाँ ट्रान्सफर्मर राखिएको छ ।

यस्तै पञ्चेश्वरको जेबलकटट्या, बिजुल र सेलीमा नयाँ ट्रान्सफर्मर राखिएको छ भने डिलाशैनीको सेरी र दोगडाकेदारको सित्तडमा नयाँ ट्रान्सफर्मर राखिएको प्रमुख जोशीले जानकारी दिए । पोल गाडेको ३ वर्षपछि दोगडाकेदार गाउँपालिका ५ को दुर्गमबस्ती जिमकोटमा पहिलोपटक बिजुली बलेको छ ।

स्थानीय युवाको सक्रियताले तीन वर्षपछि जिमकोट अध्यारोमुक्त हुन सफल भएको हो । जिमकोटका केही ठाउँमा पोल गाडेको र गाड्न बाँकी ठाउँमा युवाहरु आफैंले पोल गाडेर बिजुली बाल्न सफल भएको स्थानीय भिमसिंह भाटले जानकारी दिए ।

स्थानीय युवाले चन्दा सङ्कलन गरी प्राविधिकको पारिश्रमिक जुटाउनका साथै आफैले पोल गाड्ने र तार तान्ने काम गरेको भाटको भनाइ छ । उनले भने, “ कोरोना कहरले घरमै रहेका युवाले श्रमदान र चन्दा सङ्कलन गरी गाउँमा बिजुली बाल्न सफल भएका छौं । ”

जिमकोटबासीको बिजुली बलेको हेर्ने धोको तीन वर्षपछि पुरा भएको स्थानीय युवा हरिसिंह भाटले बताए । उनले भने, “ गाउँमा पहिलोपटक बिजुली बल्दा खुसीयाली छाएको छ, सबैजना खुसी भएका छन् । ”

कृषिमा आत्मनिर्भर बन्दै गएको जिमकोटमा बिजुली पुग्दा कृषि क्षेत्रमा थप सहयोग पुग्ने विश्वास गरिएको छ । रातियमा आउने जङ्गली जनावरले तरकारी तथा अन्नबाली नष्ट पार्ने हुँदा बिजुली पुगेपछि सहज भएको उनले बताए। जिमकोटमा ४० घर छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width