काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन्। भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो पोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन्।
सो अवसरमा राष्ट्रपति भण्डारीले ले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले ‘भूकम्पबाट घरबारविहीन सबैलाई घरबासको व्यवस्थासहित पुनःस्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा सांस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनःर्निर्माण गर्नेछौँ’ भन्ने अठोट र प्रण पूरा हुन लागेकामा खुशी व्यक्त गर्दै बाँकी संरचना चाँडै बन्ने अपेक्षा व्यक्त गरिन्।
कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरीको आफ्नै ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनःनिर्माण भएको छ ।
उनले प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र मन्दिरले हाम्रा पुरातात्विक सम्पदाको संरक्षण र पुनर्निर्माणका क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी बृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुशी लागेको बताइन्। उनले सबै सरोकार पक्षसँग समन्वय गरी उक्त गुरुयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति शुभकामना दिइन्।
“पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउनेछ । यसबाट सांस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ”, राष्ट्रपतिले भनिन्।
रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनःनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय भएको बताउँदै विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पुर्याएको र विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति आभार व्यक्त गरिन्। सो विद्यालय शैक्षिक गुणस्तरको मानक हुने विश्वास उनले व्यक्त गरिन्।
पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन भएकामा खुशी व्यक्त गर्दै उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगत्का निम्ति प्रेरक बन्न सक्ने विश्वास व्यक्त गरिन्।
उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण एवं विशिष्ट श्रेणीका कर्मचारीको उपस्थिति थियो । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार वर्ष नौ महिना तीन दिनमा रानीपोखरी वरिपरिको संरचनासहितबीचको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिए।
आगामी मङ्सिरसम्म सिंहदरबारको पूर्वी भागको प्रबलीकरण सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सर्ने पनि उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा रहेका सात वटै विश्वसम्पदास्थलको गुरुयोजना तयार भएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्यहाँ भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माणमा पनि तीव्रता दिइएको बताए ।
बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठामा सहभागी भई राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलगायत मन्त्रिगणले मन्दिर परिक्रमा गरेका थिए। कार्यक्रममा विभिन्न तीर्थस्थलबाट ल्याइएको जल रानीपोखरीमा मिसाइएको थियो । तीन सय ५२ वर्षअघि हुँपोखरी निर्माण हुँदा देशविदेशका १०८ कुण्ड, ताल, पोखरी आदिबाट पानी ल्याइएको इतिहासमा उल्लेख छ ।
भूकम्पले भत्किएको भानु मावि र चीन सरकारको रु ८५ करोड अनुदान सहयोगमा पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले जानकारी दिए । नवनिर्मित विद्यालयको साँचो आयोजना निर्देशक सापकोटाले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरे। कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले नवनिर्मित विद्यालयलाई शैक्षिक गुणस्तरका हिसाबले समेत नमूनाका रुपमा स्थापित गरिने प्रतिबद्धता जनाए।
चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय र प्रयोगशालाको व्यवस्थासमेत भवनमा छ । विसं १९१० मा थापाथली दरबारमा दरबारियालाई पढाउन स्थापना गरिएको विद्यालय पछि भवन बनाएर रानीपोखरीमा सारिएको थियो । विसं १९४८ देखि यहाँ संस्कृत माध्यमिक विद्यालय पनि सञ्चालनमा आएको हो । विद्यालयमा तीनधारा संस्कृत पाठशालामा बस्ने विद्यार्थी अध्ययन गर्दै आएका छन् । दरबार हाइस्कूललाई विसं २०२४ देखि भानु मावि नामकरण गरिएको हो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१