होटल संघद्वारा २ दिन बिदा प्रस्ताव पारित माग

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७७
pokhara

पोखरा, २४ असोज । पश्चिमाञ्चल होटल संघ पोखराले सातामा २ दिन बिदा दिने सरकारी प्रस्ताव स्वागतयोग्य भएको भन्दै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ । संघले विज्ञप्ति जारी गरी हप्तामा २ दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यवहारिक र समय सान्दर्भिक रहेको जनाएको हो ।

‘संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट यस प्रस्तावलाई सर्वसम्मत पारित गर्न नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छौं,’ विज्ञप्तिमार्फत संघ अध्यक्ष विकल तुलाचनले भने ।

सो प्रस्ताव कार्यान्वयनमा आएमा पर्यटन क्षेत्र चलायमान भई व्यवसायीहरु पलायन हुन बाट रोकिने, यसमा निर्भर लाखौं प्रत्यक्ष तथा परोक्ष दक्ष श्रमिकहरु रोजगारका लागि विदेश जानु पर्ने बाध्यात्मक अवस्थामा न्यूनता आउने र स्वरोजगार बनेका अन्य ठूला तथा साना व्यवसायीहरुलाई समेत राहत पुग्ने अध्यक्ष तुलाचनले बताए ।

हप्तामा २ दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यवहारिक र समय सान्दर्भिक

‘कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुलाई लक्षित गरी पर्यटन मन्त्रालयबाट आएको यस प्रस्तावले पर्यटन तथा होटल उद्योगमा व्याप्त संकटलाई जोगाउन विशेष भूमिका रहने हुँदा हप्तामा २ दिन सार्वजनिक विदा घोषणा गर्न नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछौं । छिमेकी तथा तेस्रो मुलुकबाट आगमन हुने पर्यटकहरु र अन्य विविध समस्याहरुलाई मध्यनजर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट आन्तरिक पर्यटन प्रवद्र्धन गरी पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्धेश्य उल्लेखित प्रस्तावमा अन्तर्निहित हुनु सकारात्मक पक्ष हो’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, संघीय सरकारले विशेष गरी पर्यटन तथा होटल व्यवसायलाइ कोभिड–१९ को कारण अति प्रभावित उद्योग व्यवसायको रुपमा वर्गीकरण गरी व्यवसायलाई पनर्जागरण र पुनःउत्थान गर्न १ खर्ब रुपैयाँको पुनर्कर्जा प्रदान गर्ने व्यवस्थाप्रति पनि संघले सकारात्मक भनाइ राखेको छ । बन्दाबन्दीको अवस्थामा रहेका व्यवासायको आम्दानी शून्य रहेको र पर्यटकीय उद्योग प्रतिष्ठानका कामदारहरुको पारिश्रमिक प्रदान गर्न, घर भाडा र अन्य संचालन खर्चको लागि ५० अर्बको कोष, गण्डकी प्रदेश सरकारद्वारा घोषित व्यवसाय जीवनरक्षा कोष स्थापना गरी कर्जा उपलब्ध गराउने घोषणा गरेको भएता पनि झन्झटिलो प्रक्रिया कारण हालसम्म व्यवसायीहरुले उक्त पुनर्कर्जा तथा कामदारहरुको पारिश्रमिक भुक्तानीको सुविधा लिन नसकिरहेको पनि संघले स्मरण गराएको छ ।

साथै सरकारद्वारा चालू बजेट वक्तव्यमा कोभिड–१९ बाट अति प्रभावित पर्यटन व्यवसायलाई आन्तरिक पर्यटन प्रवद्र्धन गरी पुनर्जागृत गर्न राष्ट्रसेवक कर्मचारी तथा संगठित संस्था र निजी क्षेत्रका कर्मचारीहरुलाई देश दर्शनको व्यवस्था गर्ने भनिए पनि कार्यविधि आउन नसकेको पनि स्मरण गराइएको छ ।

कोभिड–१९ संक्रमणको कारण पर्यटन आगमन सुस्ताएसँगै उक्त संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारद्वारा भएको ४ महिने लकडाउन हाल अन्त्य पनि पर्यटन तथा होटल व्यवसाय हालसम्म पनि लकडाउन जस्तै अवस्थामा रहेको पनि संघले उल्लेख गरेको छ ।

हाल पर्यटन व्यवसायमध्य होटल उद्योगमा खर्बौ लगानी, होटल क्षेत्रमा आश्रित हजारौं श्रमिक र श्रमिकसँग निर्भर परिवार साथै पर्यटन तथा होटल उद्योगबाट निर्भर अन्य उद्योग व्यवसायहरुको भविष्य अनिश्चित बन्दै गएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post