विद्यार्थी जति सहरमा:स्कुल कुरेर तलब पकाउँछन् शिक्षक

प्रकाश ढकाल
असाेज २४, २०७७
narpabhumi school

मनाङ जिल्लाको फू गाउँको फू आधारभूत विद्यालय । तस्वीर: प्रकाश ढकाल

च्याखु (मनाङ) । फू गाउँका लाक्पा सोनाम लामाले आफ्नी छोरीलाई काठमाडौंको बोर्डिङ स्कुलमा पढाउँछन् । आर्थिक अवस्था मध्यम भएपनि गाउँमा स्कुल गतिलो नभएका कारण काठमाडौं पढाउनुपर्ने उनको बाध्यता हो । ‘आधारभूत स्कुल छ । दुई वटा कोठाभन्दा छैन । शिक्षक बस्ने कि विद्यार्थी पढ्ने ?,’ उनले भने, ‘पढाइ पनि राम्रो छैन । यहीँ पढाउने भने छोराछोरीको भविष्य अन्धकार हुन्छ । त्यसैले काठमाडौं पठाउनुपर्छ ।’

च्याखुका निमा ठेलेकी छोरी पोखरामा पढ्छिन् । उनको गाउँबाट नजिक स्कुल पुग्न दिनभरि हिड्नुपर्छ । ‘नजिकको स्कुल कि नार हो, कि फू हो । दुईवटै गाउँ पुग्न १ दिन लाग्छ,’ उनले भने, ‘पढाइ राम्रो हुने भए त्यतै पढाउन हुन्थ्यो । के गर्नु पढाइ नै छैन ।’ उनका छोरा काठमाडौं पढिरहेका छन् ।

जम्मा ५ सय ३८ जनसंख्या रहेको यो गाउँपालिकाबाट वर्षेनी दर्जनौं विद्यार्थी पढाइका लागि बाहिरिन्छन् । उनीहरुलाई गाउँमै रोक्न न त भौतिक संरचना राम्रो छ न गुणस्तरीय पढाइ नै । त्यसैले लाखौं खर्च गरेर काठमाडौं, पोखरा र लमजुङको बेशिसहर झर्छन् विद्यार्थीहरु । खर्च गर्न नसक्नेहरु सदरमुकाम चामेमा पढ्छन् ।

फू आधारभूत विद्यालयमा अहिले ५ जना विद्यार्थी बालकक्षामा पढ्छन् । अघिल्लो वर्ष यो स्कुलमा २ जना मात्रै विद्यार्थी थिए । कोरोना संक्रमणपछि सरकारले लकडाउन गरेका कारण सहरबाट गएका विद्यार्थी उतै अड्किएका कारण स्कुलमा पढ्ने संख्या बढेको हो ।

नार्पाभूमि गाउँपालिकाकै ठूलो गाउँको रुपमा लिइने नारस्थित नार आधारभूत विद्यालयमा १० जना विद्यार्थी छन् । अघिल्लो साल यहाँ ५ जनामात्रै विद्यार्थी थिए । फू गाउँको जस्तै यहाँ पनि लकडाउन कारण विद्यार्थी संख्या बढेको हो । बाहिर पढ्ने अधिकांश विद्यार्थीहरु गाउँमा थुनिएका छन् । फुर्सदको समयमा स्कुल जाँदा संख्या धेरै देखिए पनि नार र फूको स्कुलमा विद्यार्थी संख्या ज्यादै न्यून छ ।

फू आधारभूत विद्यालयको दुईकोठे भवन भत्किएपछि ८ कोठाको नयाँ भवन बन्दै छ । ४० लाख लागतमा गाउँपालिकाले भवन बनाउन लागेको हो । नार गाउँमा प्रदेशको सामाजिक विकास मन्त्रालयले करिब १ करोड लागतमा भवन बनाउँदै छ । गाउँमा विद्यार्थी रोक्ने र गुणस्तरीय शिक्षा दिने बिषयमा कसैको चासो पुगेको छैन ।

‘कोभिडको बेलामा गाउँ गएका विद्यार्थीका कारण अलि संख्या बढेको हो । बजारका बोर्डिङ खुलेपछि सबै झर्छन्,’ गाउँपालिकाका शिक्षा अधिकृत यज्ञ लामिछाने भन्छन्, ‘त्यहाँ भएको बेला निःशुल्क किताब बाँडेर पढ्न बोलाएका छौं । जति प्रयास गरे पनि विद्यार्थी रोक्नै सकिएन ।’

अभिभावकमा सरकारी स्कुलप्रति विश्वास नभएका कारण गाउँका स्कुलमा विद्यार्थी नभएको उनको बुझाइ छ । ‘विद्यार्थी भर्ना अभियान चलाउन खोज्यौं । सफल भएन । अभिभावकलाई सम्झाउन सकस छ,’ उनले थपे, ‘अब नयाँ मोडल प्रयोग गर्न खोजिरहेका छौं । अहिले मन्टेसरी चलाउने । नर्सरी, एलकेजी, युकेजी पढाउने र विस्तारै तह थप गर्दै लैजाने ।’ दुईवटै विद्यालयमा बालकक्षा (ईसिडी) भन्दा माथील्लो कक्षा पढ्ने विद्यार्थी छैनन् ।

७ कक्षासम्म पढाइ हुने विद्यालयमा १ कक्षामाथि पढ्ने १ जना पनि विद्यार्थी छैनन् ।

हिमाली क्षेत्रमा हिउँदका ५ महिना विद्यालय पूरै बन्द हुन्छ । कात्तिक वा मंसिरमै अधिकांशले परीक्षा सकेर झर्छन् । त्यतिबेला झरेका विद्यार्थी माथि जाँदैनन् । सहरकै बोर्डिङमा भर्ना भएर पढ्न थाल्छन् । यहाँका दुईवटा विद्यालयमा सरकारले ९ जना स्थायी शिक्षक दिएको छ । नार स्कुलमा १ जना निमावि, ३ जना आधारभूत, १ बाल शिक्षिका छन् । फू मा २ जना प्राविका शिक्षक स्थायी दरबन्दीका छन् भने १ जना करारमा नियुक्त गरिएको छ । करारकै शिक्षक प्रधानाध्यापक छन् ।

‘विद्यार्थी नभएपछि शिक्षकहरु दिनहुँ स्कुल खोल्नुहुन्छ । बालबालिकासँगै खेल्ने र केही सिकाएर फर्कनुहुन्छ,’ शिक्षा अधिकृत लामिछानेले भने, ‘यहाँको पढाइ भनेकै यही हो ।’ गाउँपालिकाका स्कुलमा विद्यार्थी नभएको कारण अघिल्लो वर्ष शिक्षा क्षेत्रका लागि सरकारले पठाएको १४ लाख रुपैयाँ फ्रिज भयो । पाठ्यपुस्तक, सेनेटरी प्याड, बालमैत्री विद्यालयको सामग्री खरिद लगायत शीर्षकमा पठाइएको पैसा खर्च हुन नसकेको हो ।

नार्पाभूमि गाउँपालिकाका योजना अधिकृत दीपेन्द्र पण्डित पूर्वाधारबिना विद्यार्थीलाई रोक्न नसकिएको बताउँछन् । ‘शून्य पूर्वाधारबाट गुणस्तर सुधार्न सकिँदैन । सबै सुविधा भएपछि अभिभावकलाई आग्रह गरौंला,’ उनले भने, ‘बोर्डिङ पढ्ने मात्र झर्दैनन् । स्कुल नभएर नै कतिपय अभिभावकले चामेको सरकारी स्कुलमा पढाएका छन् । सबैभन्दा पहिले स्कुल बनाउनुपर्छ ।’ आधारभूत तहबाटै गुणस्तरीय शिक्षा दिन सके अभिभावकमा सकारात्मक सन्देश जाने हुने उनको विश्वास छ ।

जनप्रतिनिधिहरु चाहिँ बोर्डिङ स्कुल खोल्ने पक्षमा छन् । तत्कालै १२ कक्षासम्मको स्कुल चलाउन तयारी थालेको उपाध्यक्ष कोन्जो तेञ्जिङ लामाले बताए । ‘५ कक्षासम्मको पढाइ नार र फू गाउँमै सक्छन् । त्यसपछिको पढाइ पूरा गर्न च्याखुमा मावि स्कुल बनाउने पहल सुरु भएको छ,’ उनले भने, ‘मावि पढाइ पनि दिन नसके संघीयताको कुनै अर्थ छैन ।’ उनले गाउँपालिकाको कार्यालय रहेको ठाउँमा आवासीय विद्यालय स्थापना गरिने बताए । त्यसबाहेक बोर्डिङ स्कुलको परिकल्पना पनि थालिएको लामाको भनाइ छ । गाउँपालिकाले मन्टेसरी पढाउने तीन शिक्षिकालाई तालिम दिएको छ । मन्टेसरीमा राम्रो शिक्षा दिएर त्यहीँबाट स्तर बढाउँदै लैजाने योजनामा गाउँपालिका छ ।

Related News

सम्बन्धित समाचार

hero news full width