दुर्गमको दैनिकी: नुन बेच्ने बजारमा नुनकै सकस

प्रकाश ढकाल
असाेज १६, २०७७
bhimtang

भीमथाङमा रहेको नुन भण्डारको भग्नावशेष । पछाडि नयाँ खुलेका होटलहरु ।

भीमथाङ (मनाङ) । मनाङ तिल्चेका कमल घले सानै उमेरका नुन व्यापारी हुन् । तिब्बतबाट आएको नुन लार्के भञ्ज्याङबाट झारेर भीमथाङमा भण्डार गर्थे । बाबुले लामो समयदेखि धान्दै आएको व्यवसाय पछिल्लो समय उनको काँधमा थियो । उनले झोपालाई बोकाएर तिल्चेसम्म ल्याएको नुन किन्न कास्की, तनहूँ, लमजुङदेखिका मान्छेहरु चामल लिएर तिल्चे पुग्थे । ‘बैशाखदेखि असारसम्म त खुट्टा टेक्ने ठाउँ हुन्थेन । थोरै–थोरै व्यापार बाह्रै महिना थियो,’ उनले विगत सम्झिए, ‘चीनले तिब्बत कब्जा गरेपछि भोटबाट हुने नुनको व्यापार सुक्यो । भारतबाट ल्याएको नुन खान थाले मान्छेले ।’ सन् १९५९ मा तिब्बती राजा दलाई लामा भागेर भारतको शरणमा पुगेपछि नेपालका उत्तरतिरका नुन झार्ने नाका पूरैजसो बन्द भए ।

हालको गण्डकीमा गोरखाको रुइला, मनाङको क्याङ छिमी र मुस्ताङको कोरला नाका नुन भित्रयाउने बाटो हुन् । ३१ वर्षदेखि मनाङको क्याङ छिमी नाका बन्द छ । कोरला नाका दुई देशको व्यापारिक मार्ग बन्दै छ भने रुइला भञ्ज्याङमा सडक बिस्तारको काम चलिरहेको छ । नुन व्यापारले कुनैबेला निकै चहलपहल हुने यी नाका छेउका बस्ती अहिले अति दुर्गम छन् । पछिल्लो ६० वर्षदेखि यी नाकाबाट नुन झर्दैन । नुन झर्न छोडेकै बेलादेखि यी नाका घुम्न पर्यटक उक्लिन थालेका छन् । ‘२० वर्षअघिसम्म क्याम्पिङको हिसाबले आउँथे । ९ वर्ष भयो पर्यटककै लागि भनेर होटल खोलेका छौं,’ भीमथाङमा होटल गरेका नाशों गाउँपालिका ७ का वडाध्यक्ष धनबहादुर गुरुङले भने, ‘त्यसअघि धर्मशाला थिए । पर्यटक उक्लिन थालेको धेरै भैसक्यो । सिजनमा चहलपहल चर्कै हुन्छ ।’

भीमथाङमा नुन व्यापार गर्ने समयका गोदाम राख्ने घरका अवशेषहरु अझै छन् । तर तिनीहरु घरका स्वरुपमा छैनन् । गोठालाहरुले त्यहीँ भग्नावशेषभित्र घोडा खच्चड हुलिदिन्छन् । तिब्बतबाट झरेको नुन र तल्लो क्षेत्रबाट उक्लिएको चामल साट्नका लागि भीमथाङ पुरानो र चर्चित ‘ट्रान्जिट’ हो । त्यसो त आज पनि उत्तरी गोरखाको अधिकांश भोक यहीँ बाटोले मेटाएको छ । हेलिकोप्टर चार्टर गर्न नसक्नेहरु बिरामीलाई स्ट्रेचरमा बोकेर यहीँ बाटो झर्छन् । उत्तरी गोरखाको लागि यो छोटो बाटो हो, सहर झर्ने । बाटोमा भेटिएका खच्चड लखेट्नेहरु भन्छन्–‘बेशीसहरबाट कस्सिएर निस्किए दोस्रो दिन साम्दो पुगिन्छ । गोरखा सदरमुकामबाट जाँदा थोरैमा ६ दिन बित्छ ।’

मनाङको भीमथाङ तिब्बतबाट झरेको नुन भण्डार गर्ने पुरानो बजार हो । यहीँ बजारमा नुनको मूल्य ९० रुपैयाँ पर्छ ।

उनीहरु सामान ढुवानी मात्र होइन, मनाङवासीसँग अ‍ैँचोपैँचो नै चलाउँछन् । ’केही सामान सकियो भने यताबाट लैजान्छन् । अलि होलो (सहज) भएपछि लगेको सामान फर्काउँछन्,’ अर्का व्यवसायी योज गुरुङले भने, ‘हामीले पनि उताबाट अ‍ैँचोपैँचो गरिरहन्छौं । हाम्रा लागि नजिकका छिमेकी उनीहरु नै हुन् ।’ सिजनका बेला लार्के पार गरेर गोरखा निस्किने पर्यटकहरु खचाखच हुन्छन् भीमथाङमा । पर्यटनको सिजनमा पर्यटकले खाने खाद्यान्न बोक्ने खच्चड र पर्यटक बोक्ने घोडा पनि ठेलमठेल हिडिरहेका हुन्छन् । हिजो नेपालका अधिकांश गाउँलाई नुन बेच्ने यही बजारमा आज नुनको भाउ बेस्सरी महँगो छ । बेशीसहरमा २५ रुपैयाँमा किनेको नुनको मूल्य भीमथाङ पुग्दा ९० नाघिसक्छ ।’ ढुवानी साह्रै महँगो छ । धारापानीबाट कि मान्छेले बोक्नुपर्छ नभए खच्चड नै हो सवारीसाधन,’ गुरुङले थपे, ‘बजार महँगिएर किनिनसक्नु छ । राज्यले त्यतातिर ध्यान दिओस् ।’

भीमथाङभन्दा चर्काे मूल्य फूमा पर्छ । एकपोको नुन किन्न १ सय १० रुपैयाँ तिर्नुपर्छ । चामल १० हजारभन्दा बढी पर्छ । मान्छेलाई बोकाउँदा सदरमुकाम चामेबाट साढे ८ हजारसम्म ढुवानी खर्च जान्छ । ‘आजभोलि मिलेसम्मका सामान खच्चडलाई बोकाउँछौं । खच्चडले बोक्न नमिल्ने भारी मात्र मान्छेले बोक्छन्,’ फूका स्थानीय कर्म दोर्जेले भने, ‘गाडी आउँला र सस्तो सामान किनौंला भन्ने कल्पना मात्रै भयो ।’ फुट्ने र खच्चडको काँधमा अड्याउन नसक्ने सामान मान्छेले बोकेर लैजानुपर्छ । नेपालका हिमाली क्षेत्रमा आलु, गहुँ प्रजातिका अन्न र फापर बाहेक अरु उब्जनी हुन्न । दाल, चामल, मैदा, तेल लगायत सबैजसो सामान तलैबाट लैजानुपर्छ । त्यसैले उत्तरी क्षेत्रको दैनिकी निकै महँगो छ ।

संस्थानका सामान किन्दैनन्
दुर्गममा ठाउँमा सस्तो सामान बेच्न सरकारले खाद्य संस्थान गठन गरेको छ । संस्थानले बेच्ने सामानको गुणस्तर नहुने भन्दै मनाङवासीले उसको सामान किन्दैनन् । त्यसमाथि बजार मूल्य र संस्थानको मूल्य बराबर पर्न जान्छ । ‘चामल रक्सी पार्न ल्याएमात्र हो । क्वालिटीको सामान दिँदैन । अहिलेका पाहुना महँगो र गुणस्तरीय सामान खोज्छन् । त्यो बिग्रेको सामान ल्याएर के काम ?,’ स्थानीयहरु भन्छन्, ‘मूल्य पनि उस्तै हो । नुन बाहेक अरु सामान खासै किनेको छैन ।’ संस्थानको सामान किन्न पहिले नै अर्डर गर्नुपर्छ । संस्थानले गुणस्तरहीन सामान बेचेको उनीहरको आरोप छ ।

भीमथाङमा बाक्लिँदै बजार
भीमथाङमा बजार बढ्दो छ । ‘हरेक वर्ष नयाँ होटल थपिन्छन् । कोही घर बनाएर बस्छन् मात्रै,’ पदमजंग गुरुङले भने, ‘यो ठाउँमा पर्यटकको चहलपहल निकै बढेको छ । व्यापार व्यवसाय गर्नेहरु ढुक्कसँग लगानी गर्छन् ।’ मालपोत कार्यालयले २०५५ तिर तिल्चे गाउँका सबै परिवारलाई भीमथाङमा बराबर जमिन पर्ने गरि घडेरी बाँडीदिएको छ । यसको पहल हालका सांसद चिन्ता घलेले गरेका थिए । अरु ठाउँका नागरिकले यहाँ जग्गा किन्न पाउँदैनन् । जग्गाको मूल्य पनि वर्षेनी बढ्दो छ । ‘पास भएकै वर्ष सिङ्गै घडेरी १५ सयमा आउँथ्यो । १० वर्षअघि त्यसको मूल्य ३ लाख परेको छ,’ त्यहाँका व्यापारीहरु भन्छन्, ‘अहिले त हातकै लाख पर्छ होला । किनबेच भएको छैन ।’

यो बाटोमा घोडा खच्चड मात्रै ६ सय हाराहारी छन् । एउटा खच्चडको मूल्य १ लाखदेखि डेढ लाख रुपैयाँसम्म पर्छ । ती खच्चडले भारी बोक्दा धारापानीदेखि प्रतिकिलो ३५ रुपैयाँ तिर्नुपर्छ । तिल्चे गाउँसम्म सडक पुगेको छ । थोंचे नजिक दूधखोलामा पुल नहुँदा गाडी आउजाउ गर्न सक्दैनन् । ‘धारापानीबाट भीमथाङ हुँदै रुइला निस्किने नाका सबैभन्दा छोटो छ । यसको सर्भे पनि भैसक्यो । तर सरकारको नजरमा परेको छैन,’ सांसद चिन्ता घलेले भने, ‘यो बाटो प्रदेशकै गौरवको योजना बन्छ । चीन र नेपालको व्यापारीक मार्ग बन्छ ।’ धारापानीदेखि रुइलासम्मको दूरी ६५ किलोमिटर मात्रै छ । केही होटल व्यवसायीले भने अहिले नै त्यो ठाउँमा सडक लैजान नहुने तर्क गरेका छन् । ठाउँठाउँमा झोलुङ्गे पुल बन्दै छ । घोडेटो बाटो स्तरोन्नति भैरहेको छ ।

सबै मान्छे व्यापार र व्यवसायका लागि सहर झर्छन् । तिल्चेबासी एक दिनको बाटो उक्लिएर हिमालको फेदीमा पुगेका छन् । भीमथाङका सबै होटल महिलाले चलाएका छन् । अहिले यहाँ ११ वटा होटल सञ्चालित छन् । अरु बन्ने क्रममा छन् । हिउँद लागेपछि एकाध बाहेक सबैजना ढोकामा ताल्चा ठोकेर तिल्चे झर्छन् । यो बेला बढी हिउँ पर्ने भएकोले पर्यटक जाँदैनन् । ३७ सय मिटर उचाईमा रहेको यो बजार पुसपछि हिउँमा पुरिन्छ । ३ महिना सुनसान हुन्छ । त्यसो त उत्तरका सबै बस्ती हिउँदमा हिउँभित्र हुन्छ । मान्छेहरु बेंशी झर्छन्, हिउँ छल्न ।

न बत्ती, न सम्पर्क
भीमथाङमा बजार वर्षेनी बाक्लिए पनि अत्यावश्यक पूर्वाधार पुगेको छैन । सडक धारापानीमै छ । बिजुली नभएर होटलवालाले सोलार बालेका छन् । फोन गर्नुप¥यो भने एकदिनको बाटो हिडेर सुर्की खोला झर्नुपर्छ । ‘तत्काल सडक चाहिएको छैन । तर फोनसम्म त गर्न पाउनुप¥यो नि ! केही घटना भयो भने खबर पु¥याउनै पाइँदैन,’ भीमथाङमा व्यवसाय गरिबस्ने सुस्मा गुरुङले भनिन्, ‘बत्ती छैन । भएको सोलार नि घाम नलागे बल्दैन । सरकारको नजर दुर्गममा कहिले आइपुग्छ ?’ नजिकैको दूधखोलाबाट बिजुली निकाल्न स्थानीयले नै सर्भे गरिसकेका छन् । २ करोड लागत लाग्ने अनुमान छ । सांसद घलेले प्रदेश सरकारसँग विद्युत् उत्पादनका लागि समन्वय भैरहेको बताए । टेलिकमको टावर राख्न स्थानीयको बढी माग छ । बिजुली र सञ्चारको माध्यम नहुँदा त्यहाँ पुग्ने पर्यटकले सास्ती खेप्न बाध्य छन् ।
नुनको व्यापार रोकिएको वर्षौं बिते पनि तिब्बत र नेपालको अरु व्यापार कायम छ । नेपालबाट यार्चागुम्बा, वन लसुन लगायत जडिबुटी भीमथाङकै बाटोबाट तिब्बत पठाइन्छ भने तिब्बतबाट कहिलेकाहीँ दैनिक उपभोग्य वस्तु आयात हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width