घाँस बेचेरै करोडपति

ramkumarshrestha रामकुमार श्रेष्ठ
असाेज ११, २०७७

नवलपरासी, ११ असोज । नवलपरासीका दुई जना व्यवसायिक घाँस उत्पादक किसानले उन्नतजातको घाँस बेचेरै बार्षिक ५० लाख नाफा गरेका छन् । १६ विगाहामा व्यवसायिक रुपमा घाँस खेती गरेका उनीहरुले बार्षिक ५० लाख आम्दानी गर्न सफल भएपछि हौसिएर यस बर्ष थप ४९ विगाहामा घाँस लगाउने तयारी गरेका छन् ।

नवलपरासीको गैडाकोट नगरपालिका भित्रको हर्कपुर, मुकुन्दपुर क्षेत्र दुध उत्पादकका लागि नेपालकै पकेट क्षेत्र मानिन्छ । यहाँका किसानहरुले अहिले दुध मात्र नभई घाँस पनि बेच्न शुरु गरेका छन् । यहाँका किसानहरुले उन्नत जातको घाँसको पनि व्यवसायिक रुपमा खेती गर्न शुरु गरेका हुन् । यहाँ पुग्दा खेती योग्य जमिनमा धान भन्दा घाँसहरु बढी देखिने गर्दछ ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ११ हर्कपुरमा स्थानीय मानबहादुर थारु र गोपालप्रसाद दुलालले १६ विगाहामा अहिले व्यवसायिक रुपमा घाँस खेती गर्दै आएका हुन् ।

उनीहरु व्यवसायिक रुपमा दुध उत्पादकका लागि गाई भैसी तथा मासुका लागि पाडा, राँगा र बाख्रा पाल्ने किसानहरुलाई घाँस बेच्दै आएका छन् । उनीहरुले गोरस घाँस विकास स्रोत केन्द्र नाम दिएर फर्म नै दर्ता गरेर व्यवसायिक रुपमा घाँस खेती गरेका हुन् ।

घाँसखेतीबाट गत बर्ष मात्रै ७५ लाखको घाँस विक्री गरेको र अहिले लकडाउनको बेलामा पनि दैनिक ५५ हजारको दरले घाँस विक्री भएको गोरस घाँस विकास स्रोत केन्द्रका सञ्चालक तथा व्यवस्थापक मानबहादुर थारुले बताए ।

एक सय ४५ थरिका घाँस

गोरस घाँस विकास स्रोत केन्द्र स्थानीय र उन्नत थातका गरी १४५ जातका घाँस र घाँसका विउ पाइन्छ ।

यहाँ उन्नत जातका नेफियर, मोल्याटो, पासपालम, सेटेरिया, स्टाइलो, गुर्जु, भल्बेटिन, डाले घाँसमा राई खनियो, निमारो, बडहर, टाँकी, कोइरालो, घटमासे, इन्दु लगायतका स्थानीय र उन्नत जातका गरी १४५ जातका घाँसहरुको खेती तथा नर्सरी गरिएको थारुले बताए ।

भुईघाँस, डालेघाँस गरी विभिन्न प्रकारका घाँसहरु अहिले यहाँ पाइन्छ । त्यो पनि मौसम अनुसारको समेत पाइने गर्दछ ।

 

राम्रो बजार र प्रशस्त सम्भावना

नेपालमा बढ्दो पशुपालनका बीच घाँसको बजार राम्रो देखिन्छ । धेरै किसानहरुले परम्परागत रुपमा पशुपालन गर्ने र गाउँघर तथा जंगलमा पाइने घाँसको अभावमा पराल, चापट, धुटो मात्र खुवाउने गरेका कारण नेपालमा उन्नत जातका घाँसको बजार विस्तार सहज हुने देखिन्छ ।

यसको माग स्थानीय बजारमा मात्रै नभएर पोखरा, काठमाडौं, बुटवल, काभ्रे देखि चिनको सिक्किमसम्म घाँसको माग भएको व्यवस्थापक मानबहादुर थारुले बताए ।

पराल भन्दा सस्तो र प्रयाप्त पौष्टिक

पराल सरदर २० रुपैयाँप्रतिकिलो पर्दछ भने यहाँ घाँस प्रतिकिलो ५ रुपैयाँमा मात्र विक्री गरिएको छ । पराल साह्रो हुने, सुक्का हुने साथै गाउँघर तथा जंगलमा पाइने घाँसको तुलनामा यसमा पौष्टिक तत्व बढी हुन्छ ।

अहिले पशुपालनको लागि आहारको राम्रो स्रोत मानिएको पराल घाँसको तुलनामा ३ गुनासम्म महंगो पर्ने, घाँसको तुलनामा पौष्टिक आहार कम हुने, परालबाट दुध धेरै नआउने भएका कारण पनि किसानहरुले परालको तुलनामा उन्नत जातको घाँस खरिद गर्न रुचाउने गरेका छन् ।

यस्ता घाँसले गाईवस्तुलाई दाना खुवाए बराबर काम गर्ने अनुभव छ सागर पशुपालन फर्मका सञ्चालक सागर पाठकको । पाठक भन्छन् – मैले केही दिन पानी पर्दा घाँस काट्न नपाएर पराल र चापट खुवाए जसले गर्दा दैनिक ४ सय लिटर दुधबाट घटेर २ सय ८० लिटरमा झर्यो । पानी विसाउन साथ उन्नत जातको यस्ता घाँस प्रशस्त खुवाउँना साथ पुन ४ सय लिटर नै पुग्यो ।

पाठकको अनुभवमा पराल घाँसको तुलनामा निक्कै महंगो पनि पर्छ र गाईभैसीले पराल खाँदा टुक्राटुक्री तथा धुलो पराल फाल्ने सम्भावना हुन्छ भने नेपियर जस्ता घाँसहरु खुवाउँदा गाईभैसीले सबै खाने गर्दछ ।

पराल निक्कै महंगो र प्रयाप्त पौष्टिक आहार नहुने भएका कारण किसानहरुको रोजाई उन्नत जातको घाँस हुने गरेको छ ।

 

१६ जनालाई रोजगारी

मानबहादुर थारु र गोपालप्रसाद दुलालको घाँस फर्मबाट ती दुई जनाले मात्र आम्दानी गरेका छैनन् थप १६ जनालाई प्रत्यक्ष रोजगारीको अवसर पनि सिर्जना गरेको छ ।

फर्ममा अहिले १६ जना कर्मचारीले नियमित काम पाईरहेका छन् भने घण्टे खेतालाको रुपमा यहाँ ५०÷६० जनासम्म गाउँले काम समेत पाउने गरेका छन् ।

जग्गा भाडामा

यति धेरै जग्गामा घाँस खेति गर्न जग्गाको कुरा पनि धेरैको मनमा उठ्न सक्छ । यी दुई जना किसानले सबै भाडाको जग्गामा खेती गरेका छन् । दुलाल भन्छन् – प्रतिगठ्ठा बार्षिक दुई देखि तीन हजार पैतिस सयसम्म भाडा तिरेर जग्गा सम्झौतामा लिएर घाँस लगाएका छौं ।

उनीहरुले थप ४९ विगाहामा जग्गा सम्झौता भईसकेको र उक्त क्षेत्रमा पनि घाँस लगाउने तयारी भईरहेको सुनाए ।

गाई पाल्दाको अनुभव

२०६३ सालदेखि व्यवसायिक रुपमा दुध उत्पादनका लागि १० जना मिलेर गाई र भैसी पाल्दा नोक्सान वेहोर्नु परेको नमिठो अनुभव संगालेका थारु र दुलालले गाई र भैसीबाट दुधमा कसरी घाटा भयो भनेर कमजोरी खोज्न थाले ।

गाईभैसी पालनको ४ बर्ष वित्दा नवित्दै सबै पार्टनरले छाडेपछि दुई जना मात्र मिलेर फर्म सम्हाले अनि उन्नत जाँतको घाँस नखुवाएकै कारण घाटा बेहोर्नु परेको निष्कर्ष निकालेर उन्नत जातको घाँस पनि लगाउन थाले ।

थारु भन्छन् – उन्नत जातको घाँस लगाएर घाँस र दुई बेच्न थालेको दुई बर्षमै ४ बर्षको घाटा समेत उपर भएपछि घाँस पालनतर्फ व्यवसायिक बन्ने निष्कर्षमा पुगियो ।

थारुका अनुसार ठूलो मात्रामा गाईभैसी र घाँस पालन दुवै गर्दा दुवै तर्फ सफलता पाउने सम्भावना कम हुने भएकोले घाँस पालनमा जोड दिए । उनी भन्छन् – धेरै मात्रामा गाई, भैसी, बाख्रा पाल्ने किसानहरुलाई घाँसको अभाव देखियो । त्यसैले व्यवसायिक रुपमा दुध तथा मासु उत्पादनका लागि पशुपालक किसानहरुका लागि पनि सफल गराउन हामी घाँस उत्पादनमा लाग्यौं ।