वृद्धाको हत्या, ८ घण्टा नबित्दै आरोपी पक्राउ

सविन लामिछाने
असाेज १०, २०७७
police

दमौली, १० असाेज । शुक्लागण्डकी–७, कुम्लेखोलामा शुक्रबार बिहान ६० वर्षीया तेजकुमारी ढकाल मृत फेला परिन् । उनको मृत्यु रहस्यमय थियो ।

स्थानीय दुध व्यवसायीले ती वृद्धाको हातखुट्टा समेत बाँधिएको अवस्थामा घरभित्रै झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पृथ्वीराजमार्गअन्तर्गत कुम्लेखोलामा एक्लै बस्ने ती वृद्धाको मृत्यु रहस्यमय देखिएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढायो ।

‘छातीमा हतियारको दाग र घाँटीमा सल बाँधेको ढकालको शवमा हातखुट्टा समेत बाँधिएको भेटियो,’ तनहँु प्रहरी प्रमुख एसपी अरुण पौडेलले भने, ‘शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भएकाले घटना शंकास्पद ठानेर अनुसन्धान गरेका थियौं ।’

नभन्दै घटना सार्वजनिक भएको ७ घण्टाभित्रै हत्या आरोपीलाई प्रहरीले पक्राउ गर्न सफल भयो । गण्डकी प्रदेश प्रहरी कार्यालयबाट ल्याइएको ‘कुशल’ नाम गरेको कुकुरकोे सहायतामा हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

हत्याका आरोपी गोरखा भीमसेन थापा गाउँपालिका–१, बसेनी निवासी ४६ वर्षीय शिव गौतमलाई शुक्रबार दिउँसो ३ बजे व्यास–२ स्थित शहीदगेटबाट प्रहरीले पक्राउ गरेको हो ।

उनी घटनास्थल नजिकैको झँैसी फार्ममा काम गर्थे । उनले बिहीबारबाट फार्मको जागिर पनि छाडेको स्थानीयले बताएका छन् ।

आरोपीले हुलिया परिर्वतन गरेर दमौली बजारबाट अन्त कतै जान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width