पहिरोमा पुरिएर स्याङ्जामा दशको मृत्यु

तोलाकान्त बगाले
असाेज ८, २०७७
Pahiro 14

वालिङ, ८ असोज । पहिरोमा पुरिएर बिहीबार स्याङ्जामा दश जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका १४ को तमादी र कालीगण्डकी गाउँपालिका–४ को गौतमटोलमा गरी दश जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

बिहान ६ बजे वालिङ १४ तमादी बस्ने माया नेपालीको घरमाथिबाट पहिरो आई घर र गोठ पुरिँदा नौ जनाको मृत्यु भएको हो ।

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीय सानी नेपाली, ९ वर्षीय विवश नेपाली, १४ वर्षीय बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदीप नेपाली र ६/७ महिनाका एक बालक रहेका छन् ।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधिहरु, स्थानीयहरुले बिहानैदेखि उद्दार कार्य गरेका थिए ।

गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीनदिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

गौतम टोलका मानबहादुर दमाईको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका विष्णु दमाईको पुरिएर मृत्यु भएको हो । स्थानीयबासी, विर्घा प्रहरी चौकीका प्रहरी, समाजसेवीहरुको पहलमा पहिरोमा पुरिएका दमाईको शव बिहान साढे ५ बजे निकालेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width