आन्तरिक उडानले पोखराका पर्यटन व्यवसायी खुसी

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७७
biddha air

पोखरा, ६ असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिमका कारण रोकिएको आन्तरिक उडान ६ महिनापछि सोमबारदेखि सुरु भएको छ । उडान खुलेसँगै पोखरा विमानस्थलमा चहलपहल सुरु भयो ।

पहिलो दिन बुद्ध एयर र यति एयरले काठमाडौंबाट पोखराको लागि २–२ उडान भरेका छन् । बुद्ध एयरको जहाज ६ महिनापछि ५ बच्चासहित ५६ यात्रु बोकेर पोखरा विमानस्थलमा बिहान ८ बजेर ४५ मिनेटमा पहिलो पटक उत्रिएको हो । आन्तरिक उडान सुरुसँगै लामो समयसम्म रोकिएका यात्रुहरु पनि खुसी भएका छन् भने पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

बुद्ध एयरका पोखरास्थित स्टेशन इञ्चार्ज गौतम बरालले कुल ७२ सिटे जहाजमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पहिलो जहाज ५६ यात्रु लिएर पोखरा आएको बताए । सोही जहाज पुनः काठमाडौंका लागि ९ बजेर ४५ मिनेटमा ५८ यात्रु बोकेर उडेको हो । यात्रुको चाप हेरेर आगामी दिनमा विस्तारै उडान संख्या बढाउँदै जाने गौतमले बताए । त्यस्तै, बुद्धपछि काडमाडौंबाट पोखराका लागि यति एयरलाइन्सले उडान भर्‍यो । ३० सिट क्षमतामा सबै सिट भरिएको थियो।

यता, पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीका अनुसार प्राधिकरणको अनुमतिसँगै कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उडान थालिएको हो । उनका अनुसार विगतमा हवाइजहाज, हेलिकोप्टर र अल्ट्रालाइट गरी एक सय वटासम्म उडान हुने गरेकोमा हाल २५ प्रतिशतमात्र उडान हुने बताए । विगतमा पोखरा विमानस्थलबाट काठमाडौं, भैरहवा, भरतपुर, विराटनगर, जोमसोमका लागि हवाइजहाजमात्रै सरदर ४० उडान हुन्थ्यो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्न एयरलाइन्सहरुलाई अनुमति दिएसँगै करिब २५ प्रतिशत संख्यामा उडान भर्न थालिएको हो ।

यसैबीच, वायु सेवा संचालक संघ, नेपालका अध्यक्ष क्या.रामेश्वर थापाले वायु सेवाहरुले ६ महिनायता १० अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोरेको बताए । उनले नेपालको पर्यटन क्षेत्र ९० प्रतिशत विदेशी पर्यटकहरुमा आश्रित रहेको भन्दै वायुसेवाहरु पनि विदेशी पर्यटककै भर रहेकोले आन्तरिकसहित विस्तारै विदेशी पर्यटकको लागि पनि उडान खुला गर्नुपर्ने बताए ।

विमानस्थलको भीड व्यवस्थापन तथा माग आधारमा उडानको कोटा निर्धारण गरिएको छ । उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने छ । विमानस्थलभित्र वास प्वाइन्ट राख्नुपर्ने छ भने फेसशिल्ड समेत विमान कम्पनीले यात्रुलाई उपलब्ध गराउनुपर्नेछ । जसको लागत यात्रुको टिकटमै जोडिएको हुन्छ।

सरकारले सार्वजनिक तथा पर्यटकीय सवारी र आन्तरिक उडान खोल्ने निर्णयको स्वागत गर्दै पोखरा पर्यटन परिषद्ले खुसी व्यक्त गरेको छ

कोरोना भाइरसको संक्रमणसँगै सुरु भएको लकडाउनले बन्द रहेको आन्तरिकतर्फको नियमित उडान खुले पनि अवस्था हेरी हाललाई न्यूनतम संख्यामा मात्रै उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीहरूले जनाएका छन् ।

भदौ १ देखि नै आन्तरिकतर्फका उडान खोल्ने तयारी भए पनि विमान कम्पनीहरूले क्षमताअनुसार यात्रु बोक्न नपाउने सरकारी सर्तका कारण उडान रोकेका थिए । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजेन्द्रकुमार क्षत्रीका अनुसार यात्रु चाप भएको क्षेत्रमा उडान भर्ने गरी विमान कम्पनीहरूले अनुमति पाएका छन् ।

यसैबीच, यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले स्थापनाको २२ औँ वार्षिकोत्सवका अवसरमा सरकारले घोषणा गरेको देश दर्शन कार्यक्रमलाईसमेत मध्यनजर गर्दै आन्तरिक पर्यटनका प्याकेज बनाएको हो । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकत (सिइओ) अनोज रिमालले नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले आकर्षक प्याकेज ल्याएको बताए । उनले लामो प्रतिवन्धपछि खुला भएको हवाई तथा पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्ने विश्वास व्यक्त गरे । आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधि सूचारु गर्ने लक्ष्यसहित अक्टोवर २०२० बाट लागू हुने गरी प्याकेज बिक्री थालिएको छ । हाल यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको जनाएको छ ।

सरकारले सार्वजनिक तथा पर्यटकीय सवारी र आन्तरिक उडान खोल्ने निर्णयको स्वागत गर्दै पोखरा पर्यटन परिषद्ले खुसी व्यक्त गरेको छ । परिषद्ले सोमबार विज्ञप्ति जारी गरी असोज २ देखि नै पोखराका होटल, रेष्टुरेन्ट, ट्राभल, ट्रेकिङ लगायत अन्य पर्यटकीय गतिविधिहरु सुचारु भएको जनाएको हो । सरकारले तोकेका स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी यहाँका पर्यटकीय गतिविधि सुचारु गरिएको जनाइएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width