आज संविधान दिवस मनाइँदै, प्रमले देशवासीका नाममा विशेष सम्बोधन गर्ने

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७७
KP Oli

फाइल फाेटाे

पोखरा, ३ असोज । आज संविधान दिवस । मुलुकमा कोरोना भाइरसका कारण विषम् परिस्थितिबीच पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छन् ।

उनले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।

संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न राष्ट्रपतिले सबैलाई आह्वान गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहनाका साथ त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा गरेकी छन् ।

यस्तै, दिवस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

उनले संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

नेपालमा २०७२ साल असोज ३ मा नेपालको संविधान जारी भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width