गण्डकी बहुप्राविधिक शिक्षालयमा इन्जिनियरिङको पढाइ

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७७
automobile-engineering-in-ponjesly1545888816977

गण्डकी बहुप्राविधिक शिक्षालयमा इन्जिनियरिङको पढाइ हुने भएको छ ।

पोखरा महानगरपालिकाद्वारा सञ्चालित शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको हो । तीन वर्षे कोर्षका लागि शिक्षालयले आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ ।

एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।  दुई विषयमा ४८–४८ कोटा निर्धारण गरिएकोमा विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको आचार्य बताउँछन् । जसअन्तर्गत १० पूर्ण छात्रवृत्ति र ६ सहुलियत र ३२ कोटा खुला रहेको जनाइएको छ ।

अटोमोबाइल इन्जिनियरिङ सम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार अटोमोवाइल इन्जिनियरिङको अध्यापन सुरु गरेको हो ।

पछिल्ला वर्षहरुमा तीव्र विकास भएको क्षेत्रमा अटोमोबाइल पर्दछ । स्वदेशभित्रै गाडीका पार्टपुर्जा तथा उपकरणहरुको उत्पादन नभए पनि छिमेकी मुलुकबाट आयात हुन्छ । गाडी तथा यसका पार्टपुर्जाको आयातसँगै यसको मर्मत सम्भारको काम गर्ने अधिकांश जनशक्ति समेत विदेशी नै छन् ।
उच्च रोजगारी प्राप्तिको क्षेत्र भएपनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ । सिभिल इन्जिीनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरुमा पढाइ हुने भएपनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पसहरु नगन्य छन् ।

यस वर्ष पहिलोपटक दुई विषयमा प्राविधिक विषय अध्यापन गरिए पनि शिक्षालयको पूर्वाधार निर्माणपछि प्राविधिक धारका कक्षासमेत थप गरिने जनाइएको छ ।

सिभिल इन्जिनियरिङका लागि तीन वर्षको १ लाख ९५ हजार शुल्क छ भने अटोमोबाइलको एक लाख ७५ हजार तोकिएको छ । आफ्नै पूर्वाधार नबन्दासम्म शुरुआतमा महानगरले जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।
पोखरा महानगरपालिकाका केही वडा कार्यालयहरुले आफ्नो वडामा बसोबास गर्ने विद्यार्थीमध्येबाट एक जनालाई वडा कार्यालयकै खर्चमा पढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width