भारतमा एकै दिनमा अहिलेसम्मकै बढी संक्रमित, थपिए करिब ९६ हजार

रासस
भाद्र २५, २०७७
Coronavirus_world_2

नयाँदिल्ली, २५ भदौ ।  कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् ।

एकै दिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

पछिल्लो विवरण अनुसार गत २४ घण्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये नौ लाख १९ हजार १८ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् ।

मन्त्रालयका अनुसार अरु ३४ लाख ७१ हजार ७८४ जना भने कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतका प्रदेशहरू मध्ये सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा २३ हजार ८१६ जना सङ्क्रमित भएका छन् ।

महाराष्ट्रमा अहिलेसम्म कुल नौ लाख ६७ हजार ३४९ जना सङ्क्रमित भएका छन् भने ती मध्ये दुई लाख ५२ हजार ७३४ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् । त्यहाँ अहिलेसम्म २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य विभागले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width